इ–स्पोर्ट्सका नाममा महानगरले ‘रुटिने’ लाई १ करोड दिन लागेकाे हाे ? यस्तो छ वास्तविकता – Nepal Press

इ–स्पोर्ट्सका नाममा महानगरले ‘रुटिने’ लाई १ करोड दिन लागेकाे हाे ? यस्तो छ वास्तविकता

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा इ–स्पोर्ट्सका लागि १ करोड रुपैयाँ छुट्यायो । केही सञ्चारमाध्यममा उक्त रकम ‘रुटिन अफ नेपाल बन्द’ दिन लागिएको समाचार प्रकाशन-प्रसारण गरेपछि विवाद झांगिएको छ ।

‘रुटिन अफ नेपाल बन्द’ एउटा पपुलर फेसबुक पेज हो, जसलाई ३१ लाखभन्दा बढीले फलो गरिरहेका छन् । स्थापित सञ्चारमाध्यमहरुलाई खासै फलो नगर्ने टिन एजरहरुको लागि मुख्य समाचारस्रोत नै यही पेज हो भन्दा हुन्छ । भिक्टर पौडेल नामका युवाले सञ्चालनमा ल्याएको यो पेजले काठमाडौंको स्थानीय चुनावमा बालेन्द्र साहलाई खुलेर समर्थन गरेको थियो । अहिले त्यसैको पैंचो तिर्न बालेनले रुटिनलाई इ–स्पोर्ट्सका नाममा १ करोड दिन लागेको आलोचकहरुले दावी गरेका छन् । तर, यो दावी सत्यताभन्दा टाढा छ ।

हो, बालेन्द्रको पक्षमा चुनावी माहोल बनाउन ‘रुटिन’ ले महत्वपूर्ण भूमिका खेलेको थियो । यसले दिनहुँ बालेका प्रचारात्मक पोष्टहरू गरिरहन्थ्यो । ती पोस्टहरु ‘पेड’ थिए वा मित्रवत मात्रै भन्ने स्पष्ट छैन । रुटिनमा आउने अरु पोस्टहरू पनि प्रायोजित (शुल्क तिरेर गराइएका) हुन् कि स्वतस्फूर्त लेखिएका हुन् भन्ने खुलाइएको हुँदैन । केही दिनअघि प्रधानमन्त्री पत्नी आरजु देउवाले बालेनमाथि रुटिन अफ नेपाल बन्दलाई बालेनले कति पैसा तिरेर हायर गरेका थिए ? भन्ने प्रश्न गरेकी थिइन् ।

निकटस्थहरुका अनुसार बालेन्द्र र भिक्टरबीच गहिरो मित्रता छ । रुटिनले मेयरको चुनावमा बालेनलाई प्रोजेक्ट गरेको मात्र नभएर भिक्टरले उनको कोर टिममा रहेरै सघाएका थिए । बालेनको समूहको रणनीतिक छलफलहरुमा उनी सहभागी हुने गरेका थिए । सञ्चारमाध्यमकै रुपमा दर्ता भएको कम्पनीका सञ्चालक यसरी खुलेर अमूक उम्मेदवारको लविङ गरेकोमा नैतिक प्रश्नहरु नउठेका भने होइनन् । यद्यपि, यो उनको व्यक्तिगत स्वतन्त्रताको कुरा थियो ।

चुनावपछि पनि रुटिन अफ नेपाल बन्दले बालेनलाई उसरी नै साथ दिइरहेको छ । कमेन्ट बक्समा कसै–कसैले ‘रुटिन अफ बालेन’ नामाकरण गर्न व्यंग्यात्मक सुझाव दिने गरेको पनि पाइन्छ । बालेनले अहिले पनि विभिन्न नेताहरुसँग भेटघाट गर्न जाँदा भिक्टरलाई पनि समावेश गर्ने गरेका छन् । पछिल्ला दिनमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गर्न जाँदा बालेनको टिममा भिक्टर पनि देखिएका थिए ।

यो एउटा पाटो भयो । अहिले आएको विवाद चाहिँ योभन्दा गम्भीर प्रकृतिको छ । के बालेनले भिक्टरको गुन तिर्नका लागि १ करोड रुपैयाँ महानगरको ढुकुटीबाट खर्चन खोजेका हुन् ? यसको गहिराइमा पुग्नका लागि इ–स्पोट्र्स के हो भन्ने बुझ्नु वाञ्छनीय हुन्छ ।

सामान्यतया ‘ई–स्पोर्ट्स’ भन्नाले विद्युतीय माध्यमबाट खेलिने खेल भनेर बुझ्न सकिन्छ । यो कुनै विशिष्ट प्रकारको खेल भने होइन यसभित्र ‘पब्जी’, ‘क्ल्यास अफ क्ल्यान’ डोटा, ‘सिएस गो’, ‘एमएलबिबी’, ‘टेकेन ७’ लगायतका धेरै खेलहरु पर्न सक्छन् । विज्ञान र प्रविधीको विकाससँगै इस्पोर्ट्स विश्वव्यापीरुपमा मौलाइरहेको छ । विशेष गरेर युवा जमातहरुमा प्रख्यात हुँदै आएको यो विधा हाल धेरै व्यवसायीकरण पनि भइसकेको छ । अमेरिका जापान, कोरिया, चीन भारतजस्ता देशहरुमा व्यवसायीक इस्पोट्र्स सबैभन्दा बढी झांगिएको छ । नेपालमै कतिपय युवाहरुले यसलाई आम्दानीको स्रोत बनाउन थालेका छन् ।

यसको ज्वलन्त उदाहरण हुन् नेपाली गेमर ‘सिआरसेभेन होर’ ‘मिस्टर जुनियर’ ‘फोके गेमिङ्ग’ ‘मिस्टर हेजु’ आदि । अन्य खेलहरु जस्तै यस खेलका पनि विभिन्न किसिमका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुँदै आएका छन् । नेपालको सन्दर्भमा कुरा गर्दा ‘इ–स्पोट्र्स’ को आयोजना तथा प्रवद्र्धन गर्ने निकायको रुपमा रहेको छ– नेपाल ई–स्पोर्टस एसोसिएसन ।

नेपाल ई–स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज डंगोलका अनुसार हाल नेपालका ४० देखी ५० वटा ई–स्पोर्ट्स टिम एसोसिएसनमा दर्ता भएका छन् । नेपाल ई–स्पोर्ट्स एसोसिएसनले डोटा २, सिएस गो, एमएलबिबी, टेकेन ७ लगायत ई–स्पोर्ट्स टुर्नामेन्टहरु आयोजना गर्दै आएको छ ।

किन भयो विवाद ?

काठमाडौं महानगरपालिकाले २०७९-८० को बजेटमा ‘ई–स्पोर्ट्स’ को विकासका निमित्त भनेर एक करोड बजेट बिनियोजन गरेको छ । उक्त बजेट रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा पुर्याउनको निमित्त ल्याइएको आशंका शुरुबाटै व्यक्त गरिएका थिए । हिमालयन टिभी लगायत केही सञ्चारमाध्यमले यो रकम रुटिन अफ नेपाल बन्दलाई नै दिइने ठोकुवा गरेर समाचार प्रशारण गरेपछि भिक्टरले सामाजिक सञ्जालबाट प्रतिवाद गरे । उनी आज सो टिभी विरुद्ध अदालत र प्रेस काउन्सील जाने तयारीमा समेत थिए, तर रोकिए ।

इ–स्पोट्र्स अन्तरगको एउटा खेल पब्जी पनि हो । नेपालमा पब्जी खेल्नका लागि ‘डीआरएस’ नामक एउटा कम्पनी छ, जसका सहसंस्थापक हुन् भिक्टर । उनको भनाइअनसार ‘डीआरएस’ मा २० प्रतिशत सेयर रहेको छ । तर डिआरएसले कुनै पनि खेलको आयोजना भने नगर्ने उनले बताए ।

आफूमाथि उठेको प्रश्नबारे भिक्टरको भनाइ यस्तो छः

‘म डिआरएसको सह–स्थापक हुँ, तर डिआरएसले कुनै खेलको आयोजना गर्दैन । हाम्रो टिमले कम्पिटेटिभ पब्जी मात्र खेल्छ । महानगरले छुट्याएको बजेट ई–स्पोर्टको लागि हो, पब्जीको लागि मात्र होइन । न डिआरएसका लागि न रुटिन अफ नेपाल बन्दको लागि हो । पत्रकारहरुले न्युनतम विवेक पनि प्रयोग नगर्नाले यो विवाद उत्पन्न भएको छ ।

उनले भ्रामक समाचार प्रशारण गर्ने संस्थाले सार्वजनिकरूपमा माफी माग्नुपर्ने बताए । अन्यथा कानुनी प्रकृया जाने चेतावनी पनि दिए ।

यता काठमाडौं महानगरपालिका मेयर साहले पनि विज्ञप्ती जारी गर्दै विनियोजित रकम कुनै अमूक खेल वा संस्थाका लागि नभएको प्रष्टीकरण दिएका छन् । ‘ई–स्पोर्ट’ विधालाई व्यवस्थित र सिर्जनसिल बनाउनका लागि महानगरले यो बजेट छुट्टाएको उनको भनाई छ ।

एउटा ‘कमनसेन्स’ को कुरा पनि हो कि सिंगो एउटा विधा वा क्षेत्रलाई छुट्याइएको बजेट त्यो विधाभित्रको एउटा सानो इकाइले खर्चप्पै पाउन सक्ने कुनै सम्भावना हुँदैन । इ–स्पोट्र्स एउटा विधा हो । भिक्टरको डीआरएस भनेको इ–स्पोर्ट्स अन्तरगत पर्ने ‘पब्जी’ खेल्ने क्लवजस्तो हो । अब महानगरले इ स्पोर्ट्सका लागि भनेर छुट्याएको १ करोड भिक्टरको कम्पनीलाई मात्रै दिन के आधारमा मिल्ला ?

बालेन्द्र निकट स्रोत भन्छ, ‘हिमालय टिभी र मेयर बालेन्द्र साहबीच केही दिनअघि तनाव भएको थियो । उक्त टिभीले आफ्ना एक रिपोर्टरलाई बालेनले दुव्र्यवहार गरेको आरोप लगायो । तर, सामाजिक सञ्जालमा भने टिभी रिपोर्टरले कुनै सहानुभूति पाउन सकेनन् । त्यसैको रिसमा उक्त टिभीले पूर्वाग्रही र भ्रामक समाचार प्रशारण गरेको हो ।’

महानगरले छुट्याइएको रकमबाट बरु इ–स्पोट्र्स प्रतियोगिताहरु आयोजना गर्नका लागि एसोसिएसनलाई केही सहयोग गर्न सक्ने स्रोतको भनाइ छ ।

‘सिंगो ई–स्पोर्ट्स विधालाई महानगरले सहयोग गर्दा भिक्टरको कम्पनी पनि अप्रत्यक्ष लाभान्वित हुनु छुट्टै कुरा हो । तर, उनलार्ई नै एक करोड दिने प्रचार गर्नु बदनियत मात्रै हो,’ स्रोतले भन्यो ।

ई–स्पोर्टस एसोसियसनका अधक्ष्य सुरज डंगोलले भने हालसम्मका कुनै पनि टुर्नामेन्टका लागि महानगरबाट बजेट नलिएको बताए । हालै मात्र सम्पन्न तेस्रो नेपाल ई–स्पोर्टस च्याम्पियनसिपको आयोजना नेपाल ई–स्पोर्टस एसोसियसनले आफ्नै खर्चमा गरेको उनको भनाइ छ ।

पछिल्लो समयमा पब्जी लगायतका मोबाइल तथा कम्प्युटरमा खेलिने खेलहरुले आफ्ना बालबालिकालाई बिगारेको भनेर अभिभावक चिन्तित छन् । एकपटक नेपालमा पब्जी खेलमाथि प्रतिवन्ध समेत गरिएको थियो । यस्ता खेलहरुलाई प्रवद्र्धन गर्ने महानगरको नीति ठीक हो वा होइन भन्ने चाहिँ बेग्लै प्रश्न हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर