बेइजिङलाई दिल्लीको काउन्टर- गठबन्धनको निरन्तरता मुख्य सरोकार ! – Nepal Press

बेइजिङलाई दिल्लीको काउन्टर- गठबन्धनको निरन्तरता मुख्य सरोकार !

काठमाडौं । चीनियाँ नेताहरूसँग भेटेलगत्तै अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाँदैछन् भन्नेबारे शीर्षस्थ तहकै कतिपय माओवादी नेताहरू समेत जानकार थिएनन् । एक-दुईजना स्थायी कमिटी सदस्यले चिनियाँ स्रोतबाट यो कुरा जानकारी पाएपछि बुधबार रातिदेखि नै यसबारे जान्न खोजे ।

बिहीबार बिहानै प्रचण्डको शुक्रबारबाट हुने भारत भ्रमणबारे समाचार आए । प्रचण्डको आकस्मिक दिल्ली भ्रमणको समाचार बाहिरिएपछि उनको सचिवालयले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत भ्रमण हुन लागेको जानकारी दियो । जबकी यसबारे पार्टीका सीमित नेतामात्र जानकार थिए ।

चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल फर्किएलगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमणप्रति नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायका नेताहरूले असहज महसुस गरेका छन् । भ्रमणभन्दा पनि समय मिलेन कि भन्ने आशय ती नेताहरूको रहेको निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीपत्नी आरजु देउवा छोरा जयवीरसहित भारतमै रहेका बेला अध्यक्ष प्रचण्डको राजनीतिक भ्रमण हुन लागेपछि सत्ता गठबन्धनमा पनि स्वाभाविक चासो बढेको छ । आगामी चुनावपछि प्रचण्ड र आरजुलाई आधा-आधा कार्यकाल प्रधानमन्त्री बनाउँने गरी गठबन्धन कसिलो गर्न लागिएको चर्चा कांग्रेस वृत्तमै भइरहेका बेला यो भ्रमणले थप संशय पैदा गरेको छ ।

संयोग नै मान्नुपर्छ दिल्लीको सद्भाव अनुसार चल्ने राजनीतिक शक्ति लोसपाले बिहीबार अन्तिम समयमा उपसभामुखमा उम्मेदवारी नदिई सत्ता गठबन्धनलाई समर्थन जनायो । जबकी यसअघि चन्दा चौधरीलाई लोसपाले उठाउने र एमालेले समर्थन गर्ने तयारी थियो ।

कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘केही दिनअघि शेखर कोइरालालगायतका नेताहरूले चुनावपछि भाउजुलाई प्रधानमन्त्री बनाउन सभापतिज्यूले गठबन्धनमा प्रचण्डसामु हदै लचिलो बन्ने सम्भावना सुनाएका थिए । यस्तो बेला प्रचण्डको भारत भ्रमणलाई आकस्मिक मान्ने कि गोप्य राखिएको मान्ने ? अनौपचारिक रूपमा यी कुराहरू त भइरहेका छन् ।’

कांग्रेस नेता गुरुराज घिमिरेले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँगको अन्तर्वार्तामा चुनावपछि आरजुलाई प्रधानमन्त्री बनाउने गरी अहिलेको गठबन्धन गर्न लागिएको ब्रिफिङ नेताहरूले आफूहरूसँग गरेको बताएका थिए । देउवा प्रधामन्त्री भएपछि आरजुले दुईपटक भारत भ्रमण गरिसकेकी छन् । देउवाको भ्रमणको चाँजोपाँजो समेत उनले मिलाएकी थिइन् ।

कतै प्रचण्डको भ्रमण पनि आरजुले नै मिलाएको त होइन ? कांग्रेस र माओवादीका नेताहरूबीच यो प्रश्न पनि उठेको छ । संविधान जारी गर्नुअघि पनि भारतले देउवा र प्रचण्डलाई पालैपालो दिल्ली बोलाएको थियो । यसपटकको प्रचण्डको भ्रमणलाई सामान्य भ्रमणमात्र मान्न नसकिने नेताहरू बताउँछन् ।

चीनले नेपालका वामपन्थीहरू विशेषगरी एमाले र माओवादी सहकार्य गरुन् भन्ने चाहेको छ । दुई वर्षअघि नेकपा विभाजन हुन नदिन खुलेरै आएको चीन यसपटक भने त्यसरी प्रकट भएको छैन । तर, चिनियाँ नेता फर्केलगत्तै प्रचण्डलाई दिल्ली बोलाएर भारतीय संस्थापन पक्षले वामपन्थी मिल्न नदिन खोजेको सन्देश जाने माओवादीकै नेताहरू बताउँछन् ।

दिल्लीले स्वाभाविक रूपमा प्रचण्डलाई बोलाएर बेइजिङले के भन्यो भन्ने बुझ्न पनि खोजेको सहज अनुमान लगाउन सकिन्छ । तर, अहिले भारत भ्रमण गर्ने उपयुक्त समय यहीकारण नभएको माओवादी नेताहरू बताउँछन् । यसले गर्दा माओवादी नेतृत्वप्रति बेइजिङको संशय रहने उनीहरूको डर छ ।

दिल्लीले प्रचण्डबाट बेइजिङबारे बुझ्न खोजेको छ । उच्चस्तरीय राजनीतिक भेटवार्तामा पछिल्लो चिनिया उच्चस्तरीय टोलीको भ्रमणबारे जिज्ञासा आउने कुरा स्वाभाविक छ । र, अर्को कुरा- चीनले एमाले र माओवादी मिलाउन खोजेको आशंका दिल्लीलाई पहिलेदेखि नै छ ।

माओवादीमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुनलगायतका नेताहरू कांग्रेससँगको गठबन्धनबारे सोच्नुपर्ने पक्षमा छन् । उनीहरू चीनको सुझावप्रति लचक छन् । तर, प्रचण्ड स्वयं भने देउवासँग कम्तीमा पाँच वर्षको सत्ता साझेदारीको पक्षमा छन् ।

देउवा आफ्नै सभापतित्वकालमा आरजुलाई पार्टीमा स्थापित गर्न चाहन्छन् । प्रचण्डलाई पनि यही आउने संसदको कार्यकालमा प्रधामन्त्री बन्नुपर्ने बाध्यता छ । दुवै नेताको बाध्यता बुझेको दिल्लीले आरजु र प्रचण्डलाई पालैपालो आतिथ्य प्रदान गर्न लागेको त होइन ?

कांग्रेस नेता गुरुराज घिमिरेले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँगको अन्तर्वार्तामा चुनावपछि आरजुलाई प्रधानमन्त्री बनाउने गरी अहिलेको गठबन्धन गर्न लागिएको ब्रिफिङ नेताहरूले आफूहरूसँग गरेको बताएका थिए । देउवा प्रधामन्त्री भएपछि आरजुले दुईपटक भारत भ्रमण गरिसकेकी छन् । देउवाको भ्रमणको चाँजोपाँजो समेत उनले मिलाएकी थिइन् । कतै प्रचण्डको भ्रमण पनि आरजुले नै मिलाएको त होइन ?

विगतमा नेपालका सामान्य राजनीतिक मामिलामा चासो राख्ने गरेकाले यो प्रश्न स्वाभाविक रूपमा उठेको छ । प्रचण्डले पनि कांग्रेसको गठबन्धनमा भरपर्दो मध्यस्थकर्ता वा ग्यारेन्टी खोजिरहेका छन् । कांग्रेसले माओवादीको सहयोगमा धेरै सिट जितेर भोलि मधेसवादी दलसँग मात्र मिलेर सरकार बनाउने गणित संसदमा भयो भने के गर्ने ? आशंका यो पनि छ ।

संयोग नै मान्नुपर्छ दिल्लीको सद्भाव अनुसार चल्ने राजनीतिक शक्ति लोसपाले बिहीबार अन्तिम समयमा उपसभामुखमा उम्मेदवारी नदिई सत्ता गठबन्धनलाई समर्थन जनायो । जबकी यसअघि चन्दा चौधरीलाई लोसपाले उठाउने र एमालेले समर्थन गर्ने तयारी थियो ।

जसपा लगभग तीन समूहमा विभाजन भएको र उपेन्द्रप्रति दिल्ली अत्यन्तै नकारात्मक रहेकाले पनि प्रधानमन्त्री देउवाले लोसपालाई नजिक राख्न खोजेका छन् । लोसपा आफ्नो चाहनाले भन्दा पनि बाध्यताले सत्ता गठबन्धनको समर्थनमा पुगेको बुझ्नलाई यस्ता केही घटनाक्रमहरू काफी छन् ।


प्रतिक्रिया

2 thoughts on “बेइजिङलाई दिल्लीको काउन्टर- गठबन्धनको निरन्तरता मुख्य सरोकार !

  1. नमगरिकता विधेयकमा विदेशी वुहारीलाई विहे गरेकाे भाेलपल्ट नै नागरिकता दिने सम्बन्धमा पक्षमा भाेट हाल् भन्न प्रचण्डलाई किन्न बाेलाएकाे हाे ।

  2. भारतीय दलालहरू नेपाल विरूद्व षड्यन्त्र गर्दैछन् । हाेशियार ! प्रधानमन्त्री खान जे गर्न पनि पछि नपर्ने दलालहरूलाई निमिट्यान्न पाराैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर