रवि लामिछानेको घोषणा: अबदेखि नेपालमा बनेका लुगामात्रै लगाउँछु, स्टेजमा बस्दिनँ – Nepal Press

रवि लामिछानेको घोषणा: अबदेखि नेपालमा बनेका लुगामात्रै लगाउँछु, स्टेजमा बस्दिनँ

काठमाडौं । पूर्वसञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अबदेखि नेपालमा बनेका पोशाकमात्रै लगाउने घोषणा गरेका छन् । झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले सो घोषणा गरेका हुन् ।

लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

उनले भने, ‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ । हालै मैले चितवनको कार्यक्रममा आफ्नो राजनीतिक जीवनमा नेपालमा बनेका नेपाली फेब्रिक्समात्रै लगाउँछु भनेको थिएँ । मैले अहिले लगाएको पहिरन नेपालमा बनेको हो । म नेपालमा बनेका सामानहरु प्रयोग गर्नेछु ।’

स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने लामिछानेको प्रतिवद्धता थियो ।

उनले थपे, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ । मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो । म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु ।’

लामिछानेले आफू पार्टीको कुनै पनि कार्यक्रममा स्टेजमा नबस्ने अर्को घोषणा पनि गरेका छन् । जहाँ कार्यक्रम हुन्छ त्यहीका स्थानीयलाई स्टेजमा राखेर आफू तल बसी उनीहरुको कुरा सुन्ने लामिछानेको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर