हिजो ओली-बालेन्द्र भेटमा यमबुद्धको शालिकबारे चर्चा, आज पौडेलको ट्वीट – Nepal Press

हिजो ओली-बालेन्द्र भेटमा यमबुद्धको शालिकबारे चर्चा, आज पौडेलको ट्वीट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफ्नो टिमसहित बुधबार एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे । ओली निवासमा उनी दोस्रो पटक प्रवेश गरेका हुन् ।

बालेन्द्र यसअघि काठमाडौं महानगरको मतगणना जारी रहँदा ओलीलाई भेट्न गएका थियो । तर, उक्त भेटको समाचार र तस्वीर साह मेयर भइसकेपछि मात्र सार्वजनिक भएको थियो । दोस्रो भेटको समाचार भने तत्काल बाहिर आएको छ, जसमा ओलीले बालेन्द्रलाई तबला उपहार दिएका छन् ।

करिब आधा घण्टा ओली र बालेन्द्रबीच रोचक संवाद भएको थियो । ओलीले र्‍याप संगीतका विषयमा पनि चासो राखेर कुराकानी गरेको भेटमा संलग्न बालेन्द्रका सहयोगी कुमार बेनले बताए ।

‘र्‍याप संगीतका विषयमा उहाँमा सकारात्मक धारणा रहेछ । मेयरज्यूले थप केही जानकारी गराउनुभयो,’ बेनले भने ।

ओलीले भेटमा आफूले बालेनको र्‍यापहरू पनि सुनेको बताए । बालेनको र्‍यापमा सबै नेता चोर हुन् भन्ने भाव अभिव्यक्त भएकोप्रति ओलीले असन्तुष्टि जनाएका थिए ।

यस्तै, भेटमा नेपाली र्‍याप संगीतका हस्ति स्वर्गीय अनिल अधिकारी उर्फ यमबुद्धको पनि प्रसंग आएको थियो । काठमाडौंमा यमबुद्धको शालिक बनाउने महानगरपालिकाको विवादित निर्णयबारे बालेन्द्रले प्रष्टीकरण दिएका थिए ।

‘हरेक विधाका व्यक्तिहरूले आ-आफ्नो क्षेत्रबाट समाजलाई योगदान दिएका हुन्छन्, उनीहरू सबैको यथोचित सम्मान हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो,’ बालेन्द्रले भने ।

र्‍याप संगीतको आफ्नै महत्व र विशिष्टता भएकाले यसमा योगदान दिएका कारण यमबुद्धको शालिक निर्माण गर्ने निर्णय लिएको उनले बताए ।
एमाले अध्यक्ष ओली यमबुद्धका विषयमा पनि जानकार देखिए । उनको शालिक बनाउने विषयमा उनले कुनै नकारात्मक प्रतिक्रिया नदिएको बेनले बताए ।

हिजो भएको भेटमा एमालेका उपमहासचिव विष्णु पौडेल सहभागी थिए भने बालेन्द्रसँग बेनसहित रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल पनि थिए । एमाले उपमहासचिव पौडेलले आज यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य भन्दै ट्वीट गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने प्रणाली भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर