ज्ञानेन्द्र सेक्युरिटीको अवैध वैदेशिक रोजगारी धन्दा, बुबाको शव लिएर फर्किइन् छोरी – Nepal Press

ज्ञानेन्द्र सेक्युरिटीको अवैध वैदेशिक रोजगारी धन्दा, बुबाको शव लिएर फर्किइन् छोरी

बिर्तामोड । झापाको बिर्तामोड– १ मा रहेको ज्ञानेन्द्र सेक्युरिटी सर्भिसले आफ्नो क्षेत्राधिकार बाहिर गएर अवैध रूपमा वैदेशिक रोजगारीको काम गरिरहेको पाइएको छ ।

सेक्युरिटी गार्डको तालिमहरू सञ्चालन गर्ने कम्पनीले अवैध रूपमा वैदेशिक रोजगारीको काम गरेका कारण एउटा विपन्न परिवारले मानवीय र आर्थिक रूपमा ठुलो क्षति व्यहोर्नु परेको छ ।

गत माघ महिनामा नातामा सानिमा सासू पर्ने साधना सुब्बाले अर्जुनधारा- ४ कि २१ वर्षीया बन्दना दर्जीलाई सो सेक्युरिटी सर्भिसमा सम्पर्क गराएकी थिइन् । सुब्बा सोही कार्यालयको कर्मचारी समेत हुन् ।

सेक्युरिटी गार्डको तालिम सञ्चालन गर्ने भन्दै इजाजत लिएको ज्ञानेन्द्र सेक्युरिटी सर्भिसले दर्जीलाई दुई लाखमा दुबई पठाइदिने बताएपछि उनले प्रक्रिया अघि बढाएकी थिइन् । सानिमा सासूको विश्वासले प्रक्रिया अघि बढाएको बताउने दर्जीले काठमाडौंबाट बुबा टंक बहादुर लावरको शव लिएर फर्किनु पर्यो ।

ज्ञानेन्द्रका सञ्चालक ज्ञानी बोहराले दुबईका लागि जेठ ३१ गते मंगलवारको टिकट भएको बताएपछि दर्जी र उनको बुबा २८ गते शनिवार नै काठमाडौं गएका थिए ।

२ लाखमा क्यारिफोर कम्पनीमा काम लगाइदिने, झापाबाट काठमाडौं भाडा, खान बस्नको सुविधा दिने भनेका सञ्चालक बोहरा नै ३१ गते काठमाडौं पुगेका थिए । उनले दर्जी बाबु छोरीलाई २९ गते अन्य महिलाहरूलाई लिएर आउने भनेका थिए ।

काठमाडौं पुगेपछि बोहराले भनेको कावेली म्यानपावरमा पुग्दा बन्दना दर्जीका बारेमा सो म्यानपावरले कुनै पनि जानकारी नभएको बताएपछि उनीहरू निराश भएका थिए । तीन दिनसम्म काठमाडौं भौँतारिएका बाबु छोरी म्यानपावर नभेटिएपछि आफूहरू दलालीको फन्दामा परेको थाहा पाए ।

३१ गते बिहान सुतेकै ठाउँमा वन्दनाले बुबाको शव भेटिन् । उनले बुबालाई तनाव कै कारण घटना भएको दाबी गरेकी छन् ।

वन्दनाले भनिन्, ‘हामीले २ लाख ऋण लिएका थियौँ । म्यानपावर पनि नभेटिएपछि ठगीमा परियो भन्दै बुबा चिन्तित हुनु भएको थियो । हाम्रो लागि २ लाख धेरै नै ठुलो पैसा हो । बुबा त्यो रात धेरै रोएर सुत्नु भएको थियो ।’

बुबाको मृत्यु भएको दिन नै ज्ञानेन्द्र सेक्युरिटी सर्भिसका सञ्चालक बोहराले आफूले काठमाडौं जान नभनेको भन्दै जिद्दी गरेका थिए । जब, वन्दनाको बुबा गुमेको खबर बोहराको कानमा पर्‍यो तब उनले सोही दिन उडाउने टिकट तयारी गरेको सुनाए । घटना भएपछि वन्दनाले बुबाको शव काठमाडौंबाट घर ल्याई परिवारले काजक्रिया गरिसकेका छन् ।

बिर्तामोडमा हुँदै सेक्युरिटी सर्भिसका सञ्चालक बोहराले वन्दनाको बुबाबाट ८० हजार लिएको प्रमाण फेला परेको छ । उनले आफ्नै कम्पनीको भरपाई मार्फत रकम बुझिलिएका छन् ।

अवैध रूपमा वैदेशिक रोजगारीको काम भित्रभित्रै गरिरहेका उनले वन्दनालाई सहयोग मात्रै गरेको दाबी गर्दै आएका छन् । उनले भने, उनको सानिमाले विदेश पठाइदिनु भनेपछि मैले सहयोग मात्रै गरेको हो । तर, बोहरा आफैले आफ्नै कम्पनीको भरपाईमा रकम बुझ्नुले उनको अवैध काम प्रस्ट भएको छ ।

वन्दनाका आफन्तको पहलमा बोहराले असार २८ गते ७५ हजार रकम फिर्ता गरेका छन् । पीडित परिवारले काठमाडौंबाट बुबाको शव ल्याउन लागेको खर्च सहित १ लाख ५० हजार खर्च भइसकेको बताएका छन् ।

पीडित परिवारले अवैध काम गर्ने ठाउँमा सम्पर्क गराउने सानिमा सासू साधना सुब्बाले बाँकी रकम व्यहोर्नु पर्ने माग गरेका छन् । ७५ हजार फिर्ता लिएपछि सानिमा सासू सुब्बाले विभिन्न धम्की दिदैं जातीय विभेदपूर्ण व्यवहार गरिरहेको वन्दनाको परिवारले जनाएको छ ।

दर्जी परिवारले छोरीलाई रोजगारीमा पठाएर आर्थिक सहायता खोजी रहेको बेला घर मूलीकै ज्यान गएको छ । यही बेलामा अवैध काम गर्ने ठाउँमा सम्पर्क गराउने सानिमाले मानसिक रूपमा यातना दिइरहेको परिवारको दाबी छ ।

सामाजिक सञ्जालमा लेखिएका विभेदपूर्ण अभिव्यक्ति र ठगी बारे परिवार न्यायका लागि प्रहरी समक्ष पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर