इन्स्पेक्टर र डीएसपी बढुवामा वरियता मिचेको भन्दै सशस्त्रका आईजीपी अर्याल विवादमा – Nepal Press

इन्स्पेक्टर र डीएसपी बढुवामा वरियता मिचेको भन्दै सशस्त्रका आईजीपी अर्याल विवादमा

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)मा वरियता कायम गर्दै सरकारले आईजीपी बनाएका राजु अर्याल आफू भने विभिन्न दर्जाको बढुवामा भएको ‘मिच्याइ’का कारण विवादमा तानिएका छन् ।

खासगरी नायब उपरीक्षक (डीएसपी) र इन्स्पेक्टरको बढुवामा वरियता मिचिएको भन्दै अधिकृतहरुमा असन्तुष्टि देखिएको छ ।
सोमबारमात्र डीएसपीको फुली लगाएका ५६ जना अधिकृतहरुको बढुवा गर्दा वरियतामा व्यापक हेरफेर भएको थियो । २०६४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका १२१ जनामध्येबाट उनीहरुको बढुवा भएको हो ।

योग्यता वरियताक्रममा सयभन्दा माथि रहेका अधिकृतहरु पनि डीएसपी बनेका छन् । योग्यताक्रममा शीर्ष ५६ भन्दा बाहिर रहेका १७ जनाले डीएसपी बढुवामा बाजी मारेका छन् ।

एक नम्बरमा रहेका धनबहादुर राना डीएसपी बन्दा चौथो नम्बरमा पुगेका छन् । दोस्रो नम्बरमा रहेका रामेश्वर श्रेष्ठ पहिलो नम्बरमा पुगेका छन् । २५ औं नम्बरका राजनविक्रम कार्की तेस्रो नम्बरमा उक्लिएका छन् ।

आईजीपी अर्यालका नातेदार भनिएका राजेश फुयाँल ५५ बाट उक्लिएर १२ औं नम्बरमा पुगेका छन् । सशस्त्र हेडक्वार्टरका अधिकारी भने एउटै मितिमा भर्ना भएकाले कार्य सम्पादनका आधारमा बढुवा भएको र वरियता तलमाथि हुने दावी गर्छन् । तर, असन्तुष्ट अधिकृतहरु भने शक्तिकेन्द्र र आर्थिक चलखेलका कारण बढुवा प्रभावित हुने गरेको गुनासो गर्छन् ।

‘जसले राम्रो गर्छ, वरियतामा ऊ अगाडि आउँछ वा बढुवा हुन्छ भन्ने भएन । जसको पहुँच पुग्यो बढुवामा ऊ नछुट्ने वा वरियतामा अगाडि आउने स्थिति देखिरहेको छ’, सशस्त्र प्रहरीका एक अधिकृत भन्छन् । आईजीपी यसअघि एसपीको बढुवामा पनि विवादमा तानिएका थिए ।

असारको पहिलो साता एसपीका लागि सिफारिस भएका ३७ जनामध्ये पहिलो नम्बरमा रहेका टोपबहादुर डाँगीलाई ज्येष्ठतासमेत मिचेर वरियताको शीर्ष स्थानमा ल्याइएको थियो ।

दोस्रो नम्बरमा रहेका हस्तबहादुर गुरुङभन्दा साढे तीन वर्षपछि डीएसपी बनेका डाँगी एसपीमा पहिलो नम्बरमा पुगेका हुन् । संगठनको नेतृत्व सम्हालेलगत्तै आईजीपी अर्यालल‍े बढुवाका लागि आवश्यक मापदण्ड बनाइने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर