बुटवलमा बढ्दो बाल विवाह, कम उमेरमै बन्छन् तीन बच्चाको आमा – Nepal Press

बुटवलमा बढ्दो बाल विवाह, कम उमेरमै बन्छन् तीन बच्चाको आमा

रुपन्देही । लुम्बिनी प्रदेशको मुकाम रहेको बुटवल उपमहानगरपालिकाका केही वडामा गरिएको सर्वेक्षणमा बालविवाहको आंकडा भयावह देखिएको छ । बालविवाह गर्नेहरुको उमेर १२ देखि १८ वर्षको छ । विवाह भएका किशोरीहरु कम उमेरमै ३ जनासम्मको बच्चाको आमा बनेको अवस्था अझै डरलाग्दो छ । उनीहरुका अधिकांश बच्चा विभिन्न रोगले ग्रसितसमेत भेटिएका छन् ।

बाल अधिकारको क्षेत्रमा काम गर्दै आएको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीले बुटवल उपमहानगरपालिकाका ५ वटा वडाका केही क्षेत्रमा सर्वेक्षण गरेको थियो । सर्वेक्षणअनुसार २७५ जना किशोरीको बाल विवाह भएको छ । गरिबी र अशिक्षाकै कारण शहरमै बाल विवाहको डरलाग्दो तथ्यांक बाहिर आएको छ । यो संस्थाको सर्वेक्षणमा भेटिएका यी किशोरीमध्ये एकले केही दिनअघि आत्महत्या गरिन् । अहिले २७४ जना बाल विवाह गरेका किशोरीलाई संरक्षणमा राखिएको सेतो गुराँसले जनाएको छ ।

बुटवल वडा नं २, ५, ६, ११ र १७ वडाका केही क्षेत्रमा गरिएको सर्वेक्षणमा मात्र २७५ जना बाल विवाह गरेका किशोरी फेला परेको सेतो गुराँसका कार्यक्रम संयोजक अर्जुन तामाङले बताए ।

यसअघि गरिएको सर्वेक्षणमा ११ र १२ वर्षका २-२ जनाले विवाह गरेका छन् । १३ वर्षमा १४ जना, १४ वर्षमा ४१ जना, १५ वर्षमा ६१ जना, १६ वर्षमा ५७ जना र १७ वर्षमा १६ जना गरी १९३ जना बालविवाह भएका किशोरी भेटिएका थिए । अहिले थप २ वडामा सर्वेक्षण गर्दा २७५ जना पुगेका हुन् ।

यसरी भेटिएका अधिकांश किशोरी आमा बनिसकेका छन् । ती किशोरीले एउटादेखि ३ वटासम्म बच्चा जन्माएको भेटिएको छ । १२ वर्षमा एउटा सन्तान हुने १ जना, १६ वर्षमा एउटा सन्तान हुने २ जना, १७ वर्षमा एउटा सन्तान हुने ११ जना र २ वटा सन्तान हुने १ जना रहेका छन् । त्यस्तै १८ वर्षमा एक सन्तान हुने ९१ जना, दुई वटा हुने ३८ जना र ३ वटा हुने २ जना किशोरीहरु रहेका छन् ।

यसरी बालविवाह हुनेमा बुटवलका मैनाबगर, मजुवा, बुद्धनगर, दुर्गानगर, हात्तीसुढ, रानीगञ्ज, प्रगतिनगर, सुन्दरनगर, टप मजुवा, सत्यवती विनापाते, नियमचोक, हाटबजारलगायतका स्थानका किशोरीहरु रहेका छन् । यी वस्ती बुटवलका सुकुम्बासी बाहुल्य र मधेसी समुदायको बस्ती रहेका क्षेत्र पर्दछन् ।

सेतो गुराँसका कार्यक्रम संयोजक तामाङका अनुसार कम उमेरमा आमा बनेका किशोरीहरुले जन्माएका बच्चाको जन्म दर्ता हुन सकेको छैन । जसले गर्दा उनीहरुले स्थानीय सरकारबाट पाउने पोषणभत्तालगायतका सुविधाहरु पाउन सकेका छैनन् । त्यस्तै स्वास्थ्य संस्थामा परीक्षणका लागि जान नसकेको र सरकारी अभिलेखमा उल्लेखसमेत हुन सकेको छैन् ।

यसअघि जीवनका लागि सिकाइ परियोजनाले सन् २०२० को जनवरीमा १४५ र सन् २०२१ को जनवरीमा १५४ गरी कुल २५६ जना किशोरीहरु विद्यालय बाहिर रहेको भेट्टाएको थियो । तीमध्ये १९३ जना किशोरी बाल विवाह भएकै कारण विद्यालय बाहिर भएको पुष्टि भएको थियो ।

त्यसपछि बुटवलभित्र पनि बाल विवाहको अवस्था नाजुक देखिएको सेतो गुराँसका कार्यकारी निर्देशक सुमित्रा शर्माले बताइन् । पढ्न नपाएका किशोरीहरुसँग संवादको क्रममा उनीहरुले छिटो विवाह गर्दा पढ्न नपाएको बताएपछि सबैको अवस्था बुझ्दा बाल विवाहको आश्चर्यजनक आँकडा भेटिएको शर्माको भनाइ छ ।

बढ्दो गरिबी, बसाइसराइ, विवाह भएपछि जीवन सुरक्षित मान्ने कारणले पनि बालविवाह धेरै हुने गरेको शर्माको भनाइ छ । त्यो समयमा यो संस्थाले तयार गरेका सबै प्रतिवेदन स्थानीय सरकारलाई तीनपुस्ते नामावलीसहित बुझाएको थियो । तर, अहिले जनप्रतिनिधि फेरिएका छन् ।

सेतो गुराँसले बाल विवाह गरेका सबै किशोरीलाई राखेर विशेष कक्षा सञ्चालन गर्दै आएको छ । यो कक्षामा बाल विवाह गर्दा आउने समस्या, यसले स्वास्थ्यमा पार्ने प्रभाव, कम उमेरमा जन्मने बच्चामा लाग्ने रोगका विषयमा सचेतना दिइने गरिन्छ । उनीहरुलाई सरोकारवाला निकाय वडा कार्यालय, इलाका प्रहरी कार्यालय, शहरी स्वास्थ्य कार्यालयका प्रतिनिधि राखेर प्रशिक्षण गराइएको सेतो गुराँसले जनाएको छ ।

एड्भोकेसी फोरमका लुम्बिनी संयोजक अधिवक्ता इन्दिरा आचार्यले छोरी शिक्षाको कमीका कारण किशोरीको बालविवाह नरोकिएको बताउँदै भनिन्–‘पैतृक सम्पतिमाथि छोरीको अधिकार नहुँदा यस्तो भएको हो । अभिभावक पनि छोरीलाई छिटो विवाह गरिदिएर उम्कने चिन्तनबाट ग्रसित छन् ।’

आचार्यले शहरबजारमा कुरीति हुँदैन भनेरमात्रै नहुने भन्दै गाउँबाट बसाइ सरेर बजारमा बसे पनि छोरी शिक्षा अभाव भएका परिवारमा बाल विवाह हुने गरेको बताइन् । ‘स्थानीय सरकार र सरोकारवाला निकायले बढी चासो राख्नुपर्दछ र सबैको समन्वयमा यसलाई रोक्ने योजना बनाउनुपर्दछ’, उनले भनिन् ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले यो तथ्यांकले उपमहानगरको ध्यान तानेको बताइन् । ‘गम्भीर विषय बाहिर आएको छ, उपमहानगरले यसका सरोकारवाला पक्षलाई राखेर तत्काल छलफल चलाउँछ र न्यूनीकरणका हरेक विधि अवलम्बन गर्न अभियान चलाउँछ’, उपप्रमुख अर्यालले भनिन् ।

बाल विवाह रोक्नु सबैको दायित्व रहेको भन्दै उनले त्यस्तो सूचना भेटिए सबै बुटवलवासीले सरोकारवालालाई तत्काल खबर गर्न आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *