चुनावी प्रतिस्पर्धीहरुसँग मेयर बालेन्द्र, केशव स्थापितको घरमै पुगे – Nepal Press

चुनावी प्रतिस्पर्धीहरुसँग मेयर बालेन्द्र, केशव स्थापितको घरमै पुगे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आज बिहान चाबहिल-बौद्ध क्षेत्रमा सडक तथा ढलको अनुगमन गर्न पुगेका थिए । अचानक स्थानीय चुनावमा एमालेबाट मेयर उम्मेदवार बनेका केशव स्थापितसँग उनको जम्काभेट भयो ।

स्थापितको घर सोही स्थानमा छ । सायद मेयर आएको थाहा पाएर स्थापित घरबाहिर निस्केका थिए । भेटमा अभिवादन आदानप्रदानपछि स्थापितले साहलाई आफ्नो घरमा जान आग्रह गरे । साहले पनि सहर्ष स्वीकार गरे ।

स्थापितको घरमा पूर्वप्रतिस्पर्धीहरुबीच करिब १५ मिनेट भलाकुसारी भएको छ । भेटमा सहभागी मेयर साहका सहयोगी कुमार बेनका अनुसार स्थापितले काठमाडौं महानगरमा के के काम गर्न सकिन्छ भनेर आफ्नो आइडिया शेयर गरेका थिए ।

स्थापितले ‘काठमाडौं आफ्नो पनि घर भएकाले यहाँको विकासका लागि सबै सहयोगका लागि तयार रहेको बताए ।

साहले उनको कुरा ध्यानपूर्वक सुनेका थिए । उनी चिया पिएर स्थापितसँग बिदा भए ।

यसअघि मेयर साहले कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहसँग पनि भेट गरेका थिए । उक्त भेट पनि आकस्मिक थियो । काठमाडौं वडा नम्बर १० का वडाध्यक्षको छोराको विवाहमा उनीहरुको भेट भएको हो । उक्त भेटमा सिर्जनाले साहलाई छोरा भनेर सम्बोधन गरेकी थिइन् ।

उनले महानगरपालिकाको बजेट राम्रो भएको तर सार्वजनिक स्थानमा खानेपानीका लागि धाराको योजना राख्न बिर्सेको टिप्पणी गरिन् । बालेनले सिर्जनालाई उनका सुझावहरु मनन गर्ने आश्वासन दिएका थिए ।

चुनावअघि बालेनले मेयरका दुई प्रतिस्पर्धी स्थापित र सिंह आफ्नो बुवाआमाजस्तै भएको टिप्पणी गरेका थिए । मेयरको चुनावमा कांग्रेस उम्मेदवार सिंह निकटतम प्रतिस्पर्धी बनेकी थिइन् भने एमाले उम्मेदवार स्थापित तेस्रो भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर