काठमाडौं उपत्यकामा भोलिदेखि अनलाइनबाट पनि मतदाता नामावली दर्ता गर्न पाइने – Nepal Press

काठमाडौं उपत्यकामा भोलिदेखि अनलाइनबाट पनि मतदाता नामावली दर्ता गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाका ३ जिल्लाको हकमा भोलिदेखि फोटोसहितको मतदाता नामावली अनलाइन प्रणालीबाट नै दर्ता गर्ने व्यवस्था गरेको छ ।

फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले वेब बेस भोटर लिस्ट प्रि–रजिस्ट्रेसन प्रणाली तयार गरेको हो ।

तर परीक्षणकालको  रूपमा काठमाडाैं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) बाट भोलिदेखि सुरु गर्ने गरी आयोगको मङ्गलवार बसेको बैठकले निर्णय गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा व्यक्तिगत विवरण भर्नुपर्ने छ ।

अनलाइन फारममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नुपर्ने प्रवक्ता शर्माले बताए ।

मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

यसका लागि छुट्टै कानुनी व्यवस्था नभएकाले निर्वाचनमा सूचना प्रविधिको प्रयोग गर्न सक्ने व्यवस्थामा टेकेर यो निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताए ।

उनले भने, ‘अहिले कानुनी रूपमा त्यस्तो छुट्टै व्यवस्था छैन । निर्वाचनमा सूचना प्रविधिको प्रयोग गर्न सकिने भन्ने व्यवस्था छ । त्यसैमा टेकेर हामीले परीक्षणका रूपमा काठमाडौं उपत्यकामा लागू गरेको हो ।’

सरकारलाई निर्वाचनको मिति घोषणा गर्नका लागि निर्वाचन आयोगले सिफारिस गरिसकेको निर्वाचनको मिति घोषणा नहुँदासम्म मात्र यो अनलाइन तथा म्यानुअल रूपमा मतदाता नामावली दर्ता गर्न पाइने थपलियाको भनाई छ ।

उनले भने, ‘मेरो बिचारमा अब केहि दिनमा नै सरकारले संघीय र प्रादेशिक निर्वाचनको मिति घोषणा गर्छ होला । त्यसैले साउन ३ देखि ५ गतेसम्म मतदाता नामावली दर्ताको सबै काम नै बन्द हुन्छ । त्यसैले केहि दिन परीक्षणका रूपमा चल्छ ।’

काठमाडौं उपत्यका बाहेक अन्य जिल्लाको हकमा किन निर्णय नगर्नुभएको हो भन्ने प्रश्नमा भने थपलियाले संघीय र प्रादेशिक निर्वाचनपछि ७७ वटै जिल्लामा यो व्यवस्था लागू गर्ने गरी आयोग जान खोजेको बताए ।

उनले भने, ‘अहिले काठमाडौं उपत्यकाका लागि मात्र भए पनि उपत्यकामा बस्ने ७७ वटै जिल्लाका नागरिकले मतदाता नामावलीमा अनलाइनबाट दर्ता गर्न पाइहाल्छन् । अरू जिल्लामा मतदाता नामावली दर्ता गर्नकै लागि त्यस्तो भिड पनि छैन । दोस्रो कुरा अनलाइन प्रणालीलाई चलाउन सक्ने अहिले ७७ जिल्लामा जनशक्ति पनि छैन । त्यसैले अहिले अरू जिल्लामा पनि सञ्चालन नगरिएको हो ।’

काठमाडाैं उपत्यकाका ३ जिल्लाको हकमा भने निर्वाचन आयोगले नै १० देखि १२ जनालाई तालीम दिएर ३ वटै जिल्ला निर्वाचन कार्यालयमा परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । यसबाट काठमाडौं उपत्यकामा बसेर मतदाता नामावलीमा दर्ता गराउन नपाएका नागरिक लाभान्वित हुने उनको भनाई छ ।

अहिले निर्वाचन आयोगले जो जहाँ छ त्यसै जिल्लाको निर्वाचन कार्यालयमा गएर म्यानुअल रूपमा मतदाता नामावली दर्ता गराउने व्यवस्था गरेको छ । तर, काठमाडौं उपत्यकाको हकमा त्यस्ता व्यक्तिको भिडभाड बढिरहेकाले अनलाइन प्रणालीबाट प्रि–रजिस्ट्रेसनको व्यवस्थाले थोरै मात्रामा भए पनि नागरिकलाई मतदाता नामावली दर्ता गराउन सहज हुने निर्वाचन आयोगले अपेक्षा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर