सरिता तिवारीको पक्षमा चितवनमा प्रदर्शन – Nepal Press

सरिता तिवारीको पक्षमा चितवनमा प्रदर्शन

काठमाडौं । सात वर्षअघि आफूमाथि सहकर्मीबाटै यौन दुर्व्यवहार भएको दाबी गरेकी लेखिका सरिता तिवारीको पक्षमा चितवनमा प्रदर्शन भएको छ ।

प्रदर्शनका क्रममा अभियन्ताहरूले ‘सर्भाइभर’ लाई सबैले विश्वास गर्नुपर्ने बताए ।

प्रदर्शनमा सहभागीहरूले ‘सर्भाइभरलाई विश्वास गरौँ’, ‘यौन हिंसा आरोपीलाई बहिस्कार गरौँ’, ‘महिला हिंसाका घटना बाहिर ल्याउन साहस गर्नुहुने प्रत्येक महिलाहरूलाई सलाम’ लगायतका नारा लेखिएका पम्पलेट प्रदर्शन गरेका थिए ।

कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता डा. सुवास बस्नेतले यौन दुर्व्यवहार घटना बाहिर ल्याउन अझै पनि कठिन रहेको उल्लेख गरे ।

समाजमा यौन दुर्व्यवहार घटना धेरै नै फैलिएको भन्दै उनले यस्ता घटना बाहिर ल्याउनु आवश्यकतामा जोड दिए ।

महिलाअधिकारकर्मी सावित्री गौतमले महिला कहीँ पनि सुरक्षित छैनन् भन्ने कुराको भोगाइलाई तिवारीमाथि घटेको घटनाले थप पुष्टि गरेको बताइन् । यौन हिंसाका घटना बाहिरिएपछि सबैभन्दा पहिला पीडित माथि विश्वास गर्नुपर्ने उनको भनाइ थियो ।

महिला अधिकारकर्मी मिना खरेलले अहिले बाहिरिएको घटना एउटा प्रतिनिधि घटना मात्रै भएको बताउँदै महिलाहरू घरदेखि कार्यस्थलसम्म कहीँ पनि सुरक्षित नभएको दाबी गरिन् ।

‘उहाँ एक प्रतिनिधि महिला हो । आरोपीलाई कुनै वाद, विचार भनेर जोगाइयो भने तमाम महिला असुरक्षित हुनेछन्,’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर