छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै प्रदर्शन – Nepal Press

छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसका शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । विज्ञान विषय पढाउने शिक्षक केशव ढुंगानामाथि क्याम्पसका छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको हो ।

ढंगानालाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । घटना सार्वजनिक भएसँगै सम्बन्धित शिक्षकलाई निलम्बन गरी छानबिनको प्रक्रिया अगाडि बढाइएको क्याम्पसका प्रिन्सिपल तारा पराजुलीले जानकारी दिए ।

उनले छानबिनपछि मात्रै सबै कुरा बाहिर ल्याइने बताए । पेटको समस्या भएपछि सोमबार छात्रालाई डेरामा छाड्न गएका ढुंगानाले आफूलाई उचालेर चुम्बन गरेको पीडित छात्राले आफ्ना साथीहरुलाई बताएपछि यो विषय बाहिर आएको हो ।

विद्यार्थीहरुले घटनाबारे प्रिन्सिपल पराजुलीलाई जानकारी गराए पनि गुपचुप राख्न खोजिएको आरोप लगाएका छन् । प्रिन्सिपल पराजुलीले सो घटना प्रहरीमा नलैजान भन्दै छात्राका अभिभावकलाई रोक्न खोजेको बताइएको छ ।

सोमबार दिउँसो २ बजेको सो घटनाबारे हालसम्म कुनै उजुरी तथा सूचना प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

आरोपित शिक्षक ढुंगानाले भने आफू नै पीडित बनेको बताउँदै आफूमाथि आरोपमात्रै लगाएको बताएका छन् । उनले भने, ‘आफ्नो विद्यार्थीलाई सहयोग गर्दा उल्टै आरोप लाग्यो, मेरो आचरणबारे अन्य विद्यार्थीसँग पनि बुझ्न सक्नुहुन्छ । ममाथि षड्यन्त्र गरिँदैछ । विद्यार्थीले लगाएको आरोपलाई अतिरञ्जित गरिँदैछ ।’

आरोपित शिक्षकलाई कारबाही माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई क्याम्पस प्रमुख पराजुलीले मंगलबार साँझसम्म विषयवस्तुबारे प्रस्ट पार्ने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर