नामिबियाविरुद्ध नेपालको कमजोर ब्याटिङ, ४० रनले पराजित – Nepal Press

नामिबियाविरुद्ध नेपालको कमजोर ब्याटिङ, ४० रनले पराजित

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग ४० रनको हार ब्यहोरेको छ।

२ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ८० रन जोड्यो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रन बनाए। देव खनालले ३४, कुशल भुर्तेलले २७, करन केसीले १९, आसिफ शेखले १७ तथा सोमपाल कामी र मोहम्मद आदिल खानले समान १० रन बनाए।

रोहित पौडेलले खाता खोल्न सकेनन् भने दीपेन्द्र सिंह ऐरी ४ रन जोडेर आउट भए। ३० रन जोड्दा पहिलो विकेट गुमाएको नेपाली टोली ५८-४ को स्थितीमा पुगेको थियो। त्यसपछि देव खनाल र आरिफ शेखले पाचौँ विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए।

नेपालले एक सय ३० रन जोड्दा छैटौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो। त्यसपछि आक्रामक ब्याट्सम्यानको छवी बनाएका आदिल र करन सम्हालिन सकेनन्। हारसँगै नेपाल सात टोली सहभागी प्रतियोगिताको अंक तालिकामा छैटौँ स्थानमा झरेको छ।

१६ खेलबाट १६ अंक भएको नामिबिया पाचौँ स्थानमा उक्लिएको छ। नेपालको १७ खेलबाट १५ अंक छ। नामिबियाले नेपाललाई पहिलोपटक हराएको हो। टस जितेर ब्याटिङ सुरु गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय २० रन जोडेको थियो।

नामिबियाका जान निकोल लफ्टी इटनले सर्वाधिक ६० रन जोडे।  प्रारम्भिक ब्याट्सम्यान डिभियान ला ककले पनि ४१ रन बनाए। ९८ रन जोड्दा ४ विकेट गुमाएको अवस्थामा मध्यक्रम ब्याट्सम्यानले नामिबियालाई संकटबाट उद्धार गरेका थिए।

नामिबियाले सातौँ विकेटका लागि ५० रनको साझेदारी गरेको थियो। नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। सोमपालले दुई तथा करन केसी, बासिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट हात पारे। सन्दीपले १० ओभरमा ५४ रन खर्चिएका थिए। नेपालले आफ्नो दोस्रो खेलमा बुधबार स्कटल्यान्डसँग खेल्ने छ। स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई हराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर