यी हुन् सर्वाधिक ‘जिरो’मा आउट हुने नेपाली ब्याट्सम्यान – Nepal Press

यी हुन् सर्वाधिक ‘जिरो’मा आउट हुने नेपाली ब्याट्सम्यान

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यात्रा त्यति लामो छैन । सन् २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले २६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ ।

यी खेलमा नेपालले १२ जीत र १३ हारको नतिजा निकालेको छ भने एक खेल बराबरीमा सकिएको थियो । ब्याटिङमा सधैं समस्यामा देखिने गरेको नेपाली टोलीले पछिल्ला दिनहरुमा टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा भने त्यसलाई सुधार गरेको छ ।

थुप्रैपटक २ सयभन्दा बढी रन बनाएको छ । तर, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने नेपालले अपेक्षित सुधार गर्न सकेको छैन । कुनै पनि टोलीमा सुरुका ७/८ जना ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न सक्छन् भन्ने अपेक्षा गरिन्छ । ती सबै ब्याट्सम्यान एकै खेलमा नजम्न पनि सक्छन् । २/३ जना ब्याट्सम्यानले राम्रो खेल्दा पनि टोलीले जित्ने सम्भावना बलियो हुनसक्छ ।

हाल नेपाली टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, आरिफ शेख टीमलाई जिताउन सक्ने क्षमताका ब्याट्सम्यान छन् । दीपेन्द्र र आरिफ ब्याटिङ अलराउन्डर पनि हुन् । नयाँ ब्याट्सम्यानका रुपमा देव खनालको उचाइ दिनदिनै बढ्दो छ । करन केसी र सोमपाल कामी बलिङ अलराउन्डर हुन् ।

जतिसुकै ठूला ब्याट्सम्यान किन नहाेउन्, उनीहरु सुरुमा जिरोमा आउट हुने भयमा रहन्छन् । अर्धशतक र शतक पूरा गर्ने बेला निकै ठूलो सकसबाट गुज्रन्छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको छोटो यात्रामा नेपाली ब्याट्सम्यानहरु शून्यमा आउट हुने भयको पटक–पटक शिकार भएका छन् ।

२० खेलमा एक शतकसहित ३२१ रन बनाएका दीपेन्द्रसिंह ऐरी हालसम्म ५ पटक जिरोमा आउट भएका छन् । करन केसी ४ र सन्दीप लामिछानेले तीनपटक खाता खोल्न नसकेको इतिहास छ । २२ खेलका १९ पाली खेलेका आरिफ शेखले ३ अर्धशतकसहित ४३७ रन जोडेका छन् । उनी पनि दुईपटक शून्यमा आउट भएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आरिफ नेपालका लागि तेस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । शीर्ष स्थानमा रहेका रोहित पौड‍ेलले २१ खेलमा एक शतक र ५ अर्धशतकसहित ७४७ रन बनाएका छन् । उनी हालसम्म एकपटकमात्रै शून्यमा आउट भएका छन् । सोमपाल कामी र देव खनाल पनि एकएक पटक खाता खोल्नमै चुकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर