तीन वर्षपछि गगनतिरै फर्किएको प्रश्न- देउवालाई ‘बा आराम गर्नुस्’ कहिले भन्ने ? – Nepal Press
नेपाल चिन्तन

तीन वर्षपछि गगनतिरै फर्किएको प्रश्न- देउवालाई ‘बा आराम गर्नुस्’ कहिले भन्ने ?

नेपाली कांग्रेसका युवा नेता, हाल महामन्त्री गगन थापाले २०७६ भाद्र १८ गते संसदमा बोल्दै नेकपाका सांसदहरूले प्रधानमन्त्री केपी ओलीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको भन्दै आफ्ना बालाई किन विश्राम दिन नचाहेको भन्दै प्रश्न गरेका थिए । प्रधानमन्त्री हाम्रा पनि बासरह हुनुहुन्छ । हामी हाम्रा बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? बा धपेडी नगर्नुस् । बा आराम गर्नुस् । बा विश्राम लिनुस् ।

तत्कालीन नेकपाका सांसदहरू हाल नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका सांसदहरूले बालाई गगनले बोलेको दुई वर्षपछि गगनहरूकै पार्टीको सहयोग र समर्थनमा जबरजस्ती रोके । शासकीय अभिभाराबाट मुक्त गराए । दुर्भाग्य एक वृद्धको काँधबाट अर्को बयोवृद्ध मान्छेको टाउकोमा देश चलाउने जिम्मेवारी सुम्पिए । बोल्न जान्ने र हँसाउन जान्नेको हातबाट बोल्न नजान्ने र रिसाउनमात्रै जान्नेको हातले मुलुकको तालाचाबी पायो । नयाँ पुस्ता र दस्ताले काँध फेर्न पाएन । केपी ओलीभन्दा ६ वर्ष जेठा मान्छेको बुढ्यौली हातमा देशको स्टेरिङ थमाइयो । बोल्न नजान्नाले त्यति धेरै बिग्रिँदैन धेरै बोल्नेले धेरै बिगारेका पनि छन् । तर, नबोली काममात्रै गरे हुन्थ्यो । काम नि नगर्नु गरेमा नि अनर्थ धेरै गर्नुले, ढङ्ग पुर्‍याउन नसक्नुले प्रधानमन्त्रीको बुढ्यौलीलाई प्रश्न गरिएको हो । बुढो हुनुभएको भन्नु अपमान गर्नु होइन । डोकोमा बोकेर भीरमा लगेर खसाल्नुपर्छ भनिएको पनि होइन ।

‘सबैभन्दा बढी नजिक बस्ने मान्छेले अन्याय गर्न मिल्दैन त्यो तपाईंहरू नगर्नुस् । दुःख नदिनु भनेको सम्मान पनि हो । शासकीय जिम्मेवारी चलाउन संस्कार र संस्कृति निर्माणसँग सम्बन्धित हुन्छ । अब रेस्ट गर्नुस् । बिरामी रोगी अशक्त बाको आरोग्यता नचाहने सन्तान कमै हुन्छन् । बा तपाईंले जे जति गर्नुभयो, त्यो देशले उच्च मूल्याङ्कन गरेको छ । तर, अब शरीरले साथ दिएको छैन छोडिदिनुस् काम ’। गगनका उपयुक्त भनाइ प्रधानमन्त्री ओलीलाई मात्र टार्गेट गरिएको नभएर समस्त बुढा र पाका रोगी वृद्ध नेताहरूको लागि प्रतीकात्मक प्रहार र व्यङ्ग्य पनि थियो ।

अब भने विम्बात्मक शैलीमा होइन गगनले सीधै आफ्ना बा समानका प्रधानमन्त्रीलाई ओली कमरेडका कमरेडहरूलाई प्रश्न सोधे झैँ सोध्न सक्छन् ? हिजो नेकपाका संसदहरूको निरीहतालाई व्यङ्ग्य गर्ने गगन सदनमा आफ्ना प्रधानमन्त्री र पार्टी सभापतिलाई भन्न सक्छन् ?

अशक्त वृद्ध कमजोर नेतृत्व क्षमता भएका तर सक्रिय राजनीतिमा निष्क्रिय भएर आजीवन बसिरहन चाहने नेताहरूप्रतिको घुमाउरो आक्रोश र असन्तुष्टि थियो । आफूले पनि आफ्ना पार्टीका बालाई विश्राम गराउन नसकेको सग्लो अभिव्यक्ति देखिन्थ्यो । काँध गलेको पुस्तालाई काँध फेरिदिने धोको भनेर बुझ्न सकिन्थ्यो । अब भने विम्बात्मक शैलीमा होइन गगनले सीधै आफ्ना बा समानका प्रधानमन्त्रीलाई ओली कमरेडका कमरेडहरूलाई प्रश्न सोधे झैँ सोध्न सक्छन् ? हिजो नेकपाका संसदहरूको निरीहतालाई व्यङ्ग्य गर्ने गगन सदनमा आफ्ना प्रधानमन्त्री र पार्टी सभापतिलाई भन्न सक्छन् ? ‘बा तपाईंको शरीरलाई अब आरामको जरूरत छ । आराम गर्नुस्, चिन्ता नलिनुस् । हामी देश र पार्टी चलाउँछौं, तपाईं सल्लाहकार र अभिभावक भएर बस्नुस् । धपेडी नगर्नुस् । अब तपाईं र तपाईं जस्ता बुढा पुरानाको नेतृत्वले देश बन्दैन र थेग्न सक्दैन । नेपाल श्रीलंका बन्ने स्थिति आउनुअघि नै छोड्नुस् ’। होइन भने तपाईं हामी सबैको हाल श्रीलंकन नेता जस्तै हुने सम्भावना प्रवल छ । गगनजी यसो भन्ने बुता छ तपाईंसँग ?

सरकारको रूपमा सबै जवाफ तपाईंसँग नहोला । तर, पार्टीले दिने सरकार सम्बद्ध जवाफ तपाईंसँग पक्कै हुनुपर्छ ? तपाईं पार्टीको महामन्त्री अझ देशले आश गरेको युवा नेता । त्यसैले तपाईंको मुखमा देउवा सरकारको अकर्मण्य स्थितिको विषयमा भोटे ताल्चा झुण्डिन किमार्थ सुहाउन्न । तपाईं कांग्रेसमा बोल्ने र तर्क गर्ने सामयिक विचार दिन सक्ने संसदमा आकर्षण बढाउन सक्ने नेतामा गनिनुहुन्छ । तसर्थ ओली सरकारको पालामा झैँ तपाईंको गगनभेदी स्वर र गर्जन राष्ट्रको विकराल समस्याउन्मुख हुँदा नसुनिनु विडम्बना हुनेछ । प्लिज बोल्नुस् । छाती पिटेर बोल्नुस् । बाली लगाउने बेला मल नआएकोमा बोल्नुस्, हाम्रो परराष्ट्र नीतिको गति र नियमबारे बोल्नुस् । महँगीले नेटो काटेकोमा बोल्नुस्, विश्वविद्यालयहरूमा सधैं तालाबन्दी हुँदा बोल्नुस् । ओलीलाई जे जे आरोप लगाउनुभएको थियो तत् तत् आरोप आफ्नै पार्टीको नेतृत्वमा भएको सरकारलाई लाग्दा बोली किन सुस्त ?

तपाईंहरूले ओली सरकारलाई गलहत्याउनुभएको उनले गरेको गल्तीको पनि भारी बोक्न र उनको सजाय आफ्नो भागमा राख्न हो ? स्वास्थ्य र शिक्षामा भएको चरम शोषण र मूल्यवृद्धिमा बोल्नुस् । नागरिकता केवल कागतको खोस्टोमात्र होइन भनेर नागरिकता विधेयकबारे मुख खोल्नुस् । राज्यको ढुकुटीबाट आफ्ना बाआमाको नाममा ट्रस्ट बनाउने गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको कुबुद्धिबारे किन चुप ? प्रथम लेडीको कांग्रेसले जितेको स्थानबाहेक अन्यत्र बजेट पठाउन सकिन्न भन्नेबारेमा किन मौन ? सरकारले गरेको अनेकौं मनपरी र बेथितिबारे बोल्नुस् ।

प्रधानमन्त्री देउवालाई विशिष्ट सल्लाहकार बन्ने अवसर रोजाउनुस् ।अब ज्योतिष विद्या फेल भए पनि राष्ट्र फेल हुनुभएन । एउटा ज्योतिष हार्दा व्यक्ति हार्छ । तर, उसको भनाइ पुगेर देउवालाई सात पटक प्रधानमन्त्री बनाएर रेकर्ड तोड्दै गर्दा कांग्रेस हार्छ । कांग्रेसको तन्नेरी पुस्ता पराजित बन्छ र समष्टिमा देश हार्छ । त्यसैले देउवाको बुढो शरीरलाई जोताउनु पाप हुन्छ ।

अझ अर्को र महत्वपूर्ण सवाल तपाईं र डाक्टर गोविन्द केसीको अभियानलाई मेडिकल माफिया करार गरेर समाचार आएको छ । तपाईंहरूकै कारण मेडिकल शिक्षा धराशायी भएको, ७८ नर्सिंङ कलेज बन्द भएको कारण चार हजार बढीको प्रत्यक्ष रोजगारी गुमेको, नर्सिंङ पढनसमेत विदेश जानुपरेको, मेडिकल शिक्षा पढ्न बाहिर जानुपर्ने बाध्यताको कारण अर्बौं रकम बाहिरिएको, नेपाललाई मेडिकल हब बनाउने सपनालाई घात गर्ने आरोप र अबका केही वर्षमा मेडिकल साइन्सको जनशक्ति अभाव हुने जस्ता विषय उठेका छन् । खै यस्ता विषयमा तपाईंको बुलन्द आवाज स्पष्टीकरण र तथ्यको हिसाब ? संवैधानिक परिषद्सम्बन्धी विधेयकमा राखिएको प्रावधान के न्यायसंगत छ ? डलर अभावबीच हतियार किन्न ८४ करोड रकमान्तर यतिबेला आवश्यक थियो ? ओली सरकारलाई थर्काए झैँ थर्काउन किन सक्नुहुन्न ? काम देखाउन नसक्ने सरकारलाई थर्काउन नसक्नु त भएन नि ?

कृपया गगन थापा ज्यू,
प्रधानमन्त्री देउवालाई विशिष्ट सल्लाहकार बन्ने अवसर रोजाउनुस् ।अब ज्योतिष विद्या फेल भए पनि राष्ट्र फेल हुनुभएन । एउटा ज्योतिष हार्दा व्यक्ति हार्छ । तर, उसको भनाइ पुगेर देउवालाई सात पटक प्रधानमन्त्री बनाएर रेकर्ड तोड्दै गर्दा कांग्रेस हार्छ । कांग्रेसको तन्नेरी पुस्ता पराजित बन्छ र समष्टिमा देश हार्छ । त्यसैले देउवाको बुढो शरीरलाई जोताउनु पाप हुन्छ । अधिक कार्यभार शरीर र दिमागको क्षमताभन्दा बढी बोझ बोकाइयो भने दुर्घटना निम्तिने खतरा सामान्यभन्दा धेरै रहन्छ । स्वास्थ्य संवेदनशीलता ख्याल गर्नु । बिरामी रोगी अशक्त वृद्ध गोरु, राँगा, पशु जोत्न गधा खच्चरलाई भारी बोकाउन पाप धर्मको ख्याल गरेर हामी काममा लगाउँदैनौं ।

वृद्ध प्रधानमन्त्रीलाई मानवीयता भुलेर काममा मरिमेटन लगाउँदा पाप धर्मको हेक्का राख्नुपर्छ । प्रधानमन्त्रीको शरीर मेसिन र कलपुर्जा होइन । मेसिन पनि बिग्रेको भयो भने त्यसको कार्यक्षमतामा कमी आउँछ । झन् मान्छेको बिग्रेको शरीरलाई कति दुःख र कष्ट दिने ? आराम गरेर स्वास्थ्यलाभ गर्ने बेलामा बारीमा वृद्ध बुबाआमा घाँस काट्न हिंड्नु भयो भने असल छोराछोरीले हँसिया नाम्लो खोसेर डोको तानेर थर्काएर, घुर्क्याएर, फकाएर, फुर्क्याएर जसरी हुन्छ बुबाआमालाई कष्ट दिनबाट रोक्छन् । उहाँलाई काम गर्न सक्छु जस्तो लाग्नु र साँच्चिकै काम गर्न सक्नु नितान्त फरक कुरा हुन् । काम गर्ने मनोबल उच्च रहनु एउटा पक्ष हो । तर, उहाँलाई जे लागेको छ त्यो यथार्थ होइन ।

वृद्ध प्रधानमन्त्रीलाई मानवीयता भुलेर काममा मरिमेटन लगाउँदा पाप धर्मको हेक्का राख्नुपर्छ । प्रधानमन्त्रीको शरीर मेसिन र कलपुर्जा होइन । मेसिन पनि बिग्रेको भयो भने त्यसको कार्यक्षमतामा कमी आउँछ । झन् मान्छेको बिग्रेको शरीरलाई कति दुःख र कष्ट दिने ?

जसको उदाहरण उहाँले छिमेकी प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणमा एकछिन् शान्त भएर बस्न नसक्नु भएर देखाइसक्नु भएको छ । राल सिंगान काडेर हरिबिजोग देखाउनुभयो जुन कुरा संसारभरका मिडियाले कभरेज गरे । त्यो बेइज्जत आम नेपालीको हो । यस्ता प्रधानमन्त्री भइरहेसम्म देशले चुकाउने मूल्य धेरै हुन्छ । देशको साख मेट्ने काम गराइराख्ने कि सम्मानपूर्वक विश्राम लिन आग्रह गर्ने ? अरु पार्टीका आम युवा नेतालाई यो चुनौती रहेको छ । अब वृद्धले देशको बोझ उठाउन सक्दैन । विगतमा गरेको आन्दोलन योगदान जेलनेल सबैको ब्याज प्रायः सबै पार्टीका ठूल्ठूला नेताहरूले पाइसक्नुभएको छ ।

अब तपाईं र तपाईं जस्ता नेताले आआफ्नो नेतागणलाई भन्नुपर्छ । कृपया अवकाश लिनुस् । तपाईंहरूका प्रेरणा र आशीर्वाद अनुभव हौसला र सपना तपाईंको पार्टीलाई मात्र होइन नयाँ पुस्ता र देशलाई छ । तसर्थ तपाईंहरू धेरैवर्ष बाँच्नुपर्छ । पार्टीको मात्र होइन सिङ्गो देशको अभिभावक बन्नुपर्छ । तपाईंहरूलाई दुःख दिएर तपाईंहरूको आयु छोट्याउने हाम्रो रहर छैन । तपाईंको शतक आयु होस् । हामी यही चाहन्छौं । बरू फुर्सदमा आत्मकथा लेख्नुस्, शासन व्यवस्था सञ्चालन गर्दाको कमिकमजोरीको समीक्षा गर्नुस् ताकि त्यो पढेर भावी पुस्ताले तपाईंहरूले गरेको गल्ती नदोहोर्‍याउन र सकारात्मक पक्ष सधैं दोहोर्‍याउन सकून् ।

चर्चा हुँदैछ, तपाई प्रधानमन्त्री बन्न वार्मअप गर्दै हुनुहुन्छ । कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन गर्ने कुरा बाहिरिएको छ । यो अत्यन्त सुखद पक्ष हो । तर तपाईंलाई थाहा होला तपाईंलाई यसपटक संसद छिर्नबाट रोक्न नै ठूलो प्रयत्न गरिन्छ । जसको नेतृत्व तपाईंकै पार्टीका नेताहरूले समेत गर्नेछन् । विपक्षीको रणनीति तपाईंको विरुद्ध हुने नै भयो । आफ्नै पार्टीबाट कृष्णप्रसाद भट्टराईलाई झैँ अन्तर्घात हुने सम्भावना बलियो छ । तपाईंको कतिपय अविश्वस्नीय बोली र व्यवहारले पनि तपाईंको लोकप्रियतामा आँच आएको महुसस गर्नुभएकै होला । तपाईंलाई अरुको नक्कल सुहाउन्न । तर, तपाईं कहिलेकाही ओली जस्तो बन्न खोज्नु भयो, कहिले बीपी जस्तो बन्न खोज्नुभयो त कहिले प्रचण्ड जस्तो । तपाई बन्नुपर्ने चै आफैं जस्तो थियो । सबैका राम्रा गुण ग्रहण गरेर आफू जस्तो बन्न खोजियो भने चै त्यसले सकारात्मक परिणाम ल्याउँछ । म तपाईंको स्वभाव र व्यवहारमा २० वर्ष अघिदेखि जानकार छु । तपाईंको बारे रुचि राख्छु । त्यसैले तपाईंमा आएको स्वाभाविक परिवर्तनलाई ठीक मान्दै अस्वाभाविक परिवर्तनमा प्रश्न गर्दैछु ।

तपाईं भाग्न होइन भिड्न जन्मेको नेता हुनाले पार्टीभित्र पनि भिड्नुहोला । अन्यथा भाग्ने छलिने बानी लाग्यो भने त्यो घातक भएर आफ्नै भविष्यलाई त्यसले छलछाम गर्नेछ ।

गगनजी यो पटक अरु विभिन्न पार्टी स्वयं तपाईंकै पार्टीका नेता–कार्यकर्ता पनि तपाईंलाई संसदमा प्रवेश रोक्न फलामको बार लाएर उभिने खतरा छ । आशा छ, तपाईंको चुनाव हाँक्ने रणनीति बनाउने समूहले तपाईंलाई सङ्कटबाट पार लगाउनेछन् । तपाईंले महामन्त्री निर्वाचित हुनुअघि गरेका वाचा आफ्नै पार्टीमा पूरा गर्न सक्नुभएको छैन । पार्टी पङ्क्ति नै तपाईंसँग भने जति विश्वासमा देखिन्न । तपाईं भाग्न होइन भिड्न जन्मेको नेता हुनाले पार्टीभित्र पनि भिड्नुहोला । अन्यथा भाग्ने छलिने बानी लाग्यो भने त्यो घातक भएर आफ्नै भविष्यलाई त्यसले छलछाम गर्नेछ । आगामी निर्वाचनपश्चात प्रधानमन्त्रीको रूपमा तपाईंलाई देख्न पाइयोस् त्यसको लागि तपाईंले गर्ने तयारी, मोल्ने जोखिम र गर्ने सङ्कल्प प्रशस्त छन् । निरन्तर खबरदारी, आलोचना सुझाव र असल कार्यको लागि प्रशंसा गर्न कन्जुस्याइँ गरिनेछैन ।

गगनजी देउवालाई आराम गर्न दिनुस्, निंद हराम नगरिदिनुस् ।

(लेखक  त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका अनुसन्धाता हुन् ।)


प्रतिक्रिया

One thought on “तीन वर्षपछि गगनतिरै फर्किएको प्रश्न- देउवालाई ‘बा आराम गर्नुस्’ कहिले भन्ने ?

  1. गगन थापा भनेका परिचालित हुन उनलाई उनको प्रभुले भनेपछि मात्र बोल्छन् भन्ने मेरो ठम्याइ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *