मुख्यमन्त्री शाहीको गृहजिल्लामा चार दलका पार्टी कार्यालय बनाउन ८५ लाख बजेट – Nepal Press

मुख्यमन्त्री शाहीको गृहजिल्लामा चार दलका पार्टी कार्यालय बनाउन ८५ लाख बजेट

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्लामा विभिन्न पार्टीका कार्यालय निर्माण गर्न ८५ लाख बजेट विनियोजन गरिएको छ ।

मुख्यमन्त्री शाहीले आफ्नो गृह जिल्लामा एमाले, कांग्रेस, माओवादी र नेकपा एसका पार्टी कार्यालय निर्माणका लागि ८५ लाख बजेट विनियोजन गर्न लगाएका हुन ।

हुम्लामा पुष्पलाल स्मृति प्रतिष्ठान भवन निर्माण २० लाख, मनमोहन स्मृति भवन निर्माण गर्न २० लाख, बिपी स्मृति भवन निर्माण गर्न २० लाख बजेट विनियोजन गरिएको छ । यस्तै, हुम्लाकै सर्केगाडमा २५ लाख लागतमा सहिद पोस्टबहादुर बोगटी स्मृति भवन निर्माण गर्न भन्दै २५ लाख विनियोजन भएको छ ।

सडक सञ्जालको राम्रो सुविधा नहुँदा स्थानीय जनता पीडामा भए पनि दलहरूले आफ्नो पार्टी कार्यालय निर्माणका लागि बजेट विनियोजन गर्न सफल भएका छन् ।

अन्य जिल्लामा स्मृति भवन र पार्क निर्माणका नाममा लाखौँ रकम विनियोजन भएको छ ।

ऊर्जा तथा जलस्रोत मन्त्री गणेश प्रसाद सिंहले जीत स्मृति भवन निर्माण नलगाड १० मा १५ लाख र समाजवाद अध्ययन स्मृति प्रतिष्ठान लागि १५ लाख बजेट विनियोजन गराएका छन् ।

कालिकोटमा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रत्न स्मृति प्रतिष्ठानको भवन निर्माण गर्न १५ लाख बजेट विनियोजन गर्न लगाएका हुन ।

दैलेखको नारायण नगरपालिकाका कांग्रेस नेता जगतजंग थापाको केहि महिना अघि मृत्यु भएको थियो । उनको सम्झनामा भन्दै त्यहाँ पार्क निर्माणार्थ १५ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, जुम्लामा हरिसचन्द्र डिल्ली स्मृति पार्क निर्माण गर्न भन्दै चन्दननाथ नगरपालिकाको टापु भन्ने स्थानमा २० लाख बजेट विनियोजन गरिएको छ ।

सल्यानमा प्रकाश ज्वालाको पहलमा सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठान शारदा नगरपालिकाको भवन निर्माण गर्न २५ लाख विनियोजित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर