वडाध्यक्षहरूलाई थर्काउँदै मेयर साम्पाङले भने- मलाई स्वतन्त्र भनेर हेपेको ? – Nepal Press
धरान उपमहानगर

वडाध्यक्षहरूलाई थर्काउँदै मेयर साम्पाङले भने- मलाई स्वतन्त्र भनेर हेपेको ?

‘प्रतिद्वन्द्वीलाई ५ हजार भोटले जितेर आएको हुँ, हेक्का राख्नुस्'

काठमाडौं । धरान उपमहानगरपालिकाको हिजो बसेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ वडाध्यक्षहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् । उपमहानगरको बजेट पारित गर्न अवरोध गरेको भन्दै उनले बैठकको सुरूवातमै कडा आक्रोश पोखेका थिए ।

गत असार १० गते धरान उपमहानगरले एक अर्ब ६८ करोड ५८ लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमा खासगरि, उपमेयर कोषलाई लिएर दलीय जनप्रतिनिधिहरूले आपत्ति जनाएका थिए । यही विवादले बजेट पारित हुन सकिरहेको थिएन ।

साङपाङले भने स्वतन्त्र उम्मेदवार भएर जितेको मेयरलाई वडाध्यक्षहरूले विभिन्न बहाना गरेर असफल बनाउन खोजेको आरोप लगाए । उनले आफूलाई ‘स्वतन्त्र भनेर हेपेको’ समेत टिप्पणी गरे ।

बैठकको सुरूमै साम्पाङको आक्रोशित अभिव्यक्ति यस्तो थियो :

‘…तपाईंहरूको नियत के हो ? स्वतन्त्रले जित्यो, यसलाई उ गर्नुपर्छ भन्ने हो ? कि के हो ? यो बजेट त तपाईंहरूले नै बनाएको हो त । मैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्या हो र ? मैले कुनै पनि कुरामा हस्तक्षेप गर्‍या छैन । आफैंले बनाएको कुरा आफैं जिम्मा नलिने भन्न मिल्छ ? आफैंले जन्माएको छोरा मेरो होइन भन्दिने ? के म्यासेज जान्छ ?

के तपाईंहरुको आशय पार्टीकै मेयर आउनुपर्छ भन्ने हो ? धराने जनताको म्यान्डेटलाई त्यस्तो भन्न खोज्नुभएको हो ? निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार मतले जितेर आएको हो म । तपाईंहरूले स्वीकार्ने कि नस्वीकार्ने ? धराने जनतालाई के जवाफ दिनुहुन्छ ? जहिले जहिले आएको छ, एउटा एउटा कुरा गरेको छ ।

हेर्नुस् यो तपाईंहरूले बनाएको बजेट हो । मैले केही गरेको छैन । कसलाई कति रूपैयाँ दिने भनेर तपाईंहरूले नै छुट्याएको हो । उपमेयर कोष राख्ने नराख्ने आजै निर्णय गर्नुस् । जहिले जहिले बैठक सारेको छ । कहिले बजेट पास गर्ने ? ८० सालको साउनमा पास गर्ने ? बजेट पास नभए वडा कसरी चलाउनुहुन्छ ? गोजीको पैसाले चलाउने ? डोनेसन मागेर चलाउँ न त । मैले त मागिरहेको छु । तपाईंहरु पनि डोनेसन मागेर चलाउनुस । नत्र कसरी चलाउने त ?

नगरपालिका मेरो मात्रै ठेक्का हो ? जनताले तपाईंहरूलाई पनि चुनेर पठाएको छ । पास भएन भने प्रमुखले जिम्मा लिनुपर्छ । यो हो तरिका हाम्रो ? के भनेर आउनुभो चुनिएर ? यसै गर्छु भनेर आउनुभो ? यति धेरै गैरजिम्मेवार नबन्नुस् । तपाईंहरूको यो कार्यपालिकाको बैठक, नगरसभा विगतमा पनि मैले हेर्दै आएको छु । यसपालि चैं स्वतन्त्र मेयर आयो भनेर हेपेको ? म को हुँ ? धराने जनताको म्यान्डेट लिएर आएको निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार मतले हराएर आएको हुँ, हेक्का रहोस् ।

मेयरको यस्तो अभिव्यक्तिपछि एकाध वडासदस्यले टेबुल ठोकेर समर्थन गर्छन् । तर, केही वडाध्यक्ष उत्तेजित बन्दै हल्लाखल्ला गरे । वडा नम्बर १२ का वडाध्यक्ष टंकबहादुर राईले बजेटको किताब टेबलका ठोक्दै बम्किए, ‘हेरौं कसरी बजेट पास हुँदो रहेछ ? यसरी हुन्छ ?’

अन्य कार्यपालिका सदस्यले पनि होहल्ला गरेपछि उपमेयर अइन्द्रविक्रम बेघाले थामथुम पार्ने कोसिस गरे । उनले स्वतन्त्रबाट जितेको भन्दैमा दलका प्रतिनिधिहरूले विरोधमात्रै गर्न नहुने बताए । बजेट पारदर्शी ढंगले ल्याएको र आफूले उपमेयर कोष नमागेको उनको भनाइ थियो ।
‘भैष्परी आउने कामका लागि शीर्षकबिना कसरी खर्च गर्न सकिन्छ भनेर यो कोषलाई निरन्तरता दिन खोजिएको हो,’ उनले भने ।

उपमेयरको सम्बोधनपछि बैठक शान्त भयो र छलफल अघि बढ्यो । हिजै बसेको नगरसभा बैठकले उपमहानगरको बजेट पारित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर