भर्ना शुल्क नतिरेको भन्दै सुर्खेतमा २५ विद्यार्थी कक्षाबाटै निकालिए – Nepal Press

भर्ना शुल्क नतिरेको भन्दै सुर्खेतमा २५ विद्यार्थी कक्षाबाटै निकालिए

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मंगलगढी चोकमा रहेको आदर्शराज सेकेन्डरी स्कुलले कक्षा १२ का २५ जना नियमित विद्यार्थीलाई निकालेको छ । समयमै भर्ना शुल्क नबुझाएको आरोप लगाउँदै उनीहरूलाई आज बिहानबाट पठनपाठनमै रोक लगाइएको हो ।

व्यवस्थापन संकायअन्तर्गत कक्षा ११ बाट पास भएर ४५ विद्यार्थी कक्षा १२ मा अध्ययनरत् थिए । तीमध्ये २० जनाले मात्र रकम बुझाएको बाँकी २५ जनाले नतिरेको भन्दै बिहान ६ बजे पढ्न गएकाहरूलाई विद्यालय प्रशासनले निकालेको हो ।

‘हामी यहाँका नियमित विद्यार्थी हौं । भर्ना फिस हामी बुझाउँछौ भन्दा पनि हामीलाई पढ्न दिइएन’, एक विद्यार्थीले भने ।

भर्ना शुल्क बुझाउने तयारी गरिरहँदा विद्यालयले अपमानजनक तरिकाले विद्यार्थीलाई निकालेको अभिभावकले गुनासो गरेका छन् । ‘बच्चालाई विद्यालयबाट लखेटेर के हुन्छ ? उनीहरूको मस्थिति के भयो ? किन विद्यालयले हामीलाई फोन गरेर पैसा नमागेको ? यो विद्यालयको दादागिरी हो ’, एक अभिभावक भन्छन् ।

विद्यालयका भाइस प्रिन्सिपल रमेश बस्नेतले बारम्बार भर्ना फिस लिएर आउन भनेपनि अटेर गरेकाले विद्यार्थीलाई निकालिएको स्वीकारे ।

‘हो २५ जनालाई आज हामीले निकालेका हौं । उनीहरुलाई बारम्बार फिस ल्याउन भनेका थियौं नल्याएपछि त्यो काम गर्न बाध्य भएका हौं’, उनले भने, ‘शनिबार र आइतबार भर्ना हुन भनेर समय दिएर पठाएका छौं ।’

जिल्ला शिक्षा समन्वय इकाइ सुर्खेतका प्रमुख भोजप्रसाद लम्साल विद्यार्थीलाई भर्ना नभएको बहानामा पढाइबाटै वञ्चित गर्न नमिल्ने बताउँछन् ।

‘कक्षा १२ मा विद्यार्थीहरू भर्ना हुनैपर्छ । फिस पछि दिने गरी विद्यालयले उनीहरूको नाम लेख्न पर्छ । अर्को विद्यालयमा विद्यार्थी जानै नपाउने भएका कारण विद्यार्थीको भविष्य डामाडोल हुने गरी त्यस्तो काम गर्न पाइँदैन । त्यही विद्यालयबाट रजिष्ट्रेसन फाराम भरिसकेका कारण विद्यार्थी अन्य विद्यालयमा पनि जान पाउँदैनन् । विद्यालयले जसरी पनि ति विद्यार्थीलाई अध्ययन गर्ने वातावरण मिलाउनुपर्छ ’, लम्सालले भने ।

सुर्खेतका सीडीओ खगेन्द्र रिजाल विद्यार्थीप्रति स्कुलको यो व्यवहार कानूनविपरीत भएको बताउँछन् । ‘यसबारेमा म कुरा गर्छु । त्यसरी विद्यार्थीलाई नै हतोत्साही हुने गरी काम गर्न त भएन नि ? के भएको रहेछ म बुझ्छु र आवश्यक कानूनी कुरा गर्छु ’, रिजालले भने ।


प्रतिक्रिया

7 thoughts on “भर्ना शुल्क नतिरेको भन्दै सुर्खेतमा २५ विद्यार्थी कक्षाबाटै निकालिए

  1. यस्ता बिध्यालय तथा शिक्षकलाइ कानुनी रुपमा कडा भन्दा कडा कार्बाही हुनुपर्छ

  2. Its a bad behaviour of school😥
    Iam not a supporter I am also student i am sududy in 1st year pharmacy .
    All students have right to study
    Plz 🙏 1 chance give for student 🙏

  3. प्रीन्सिपल को भनाइ बारम्बार बिद्यार्थिहरुलाइ शुल्क लिएर आउनु भन्दा अटेरी गरेको आरोप हुन सक्छ विद्यार्थी र अभिभावकको समन्वयको को कमि ले पनि हुनसक्छ ।

  4. सम्विधानमा त ” निशुल्क शिक्षा “भनेर लेखेका छन त ? मतलव यो सम्विधान त लागु नै हुन सकेको रहेनछ । तसर्थ यो सम्विधान बनायेर जनता लाई बेवकुफ बनाउने सम्पुर्ण राजनीतिक दलका लाउकेहरुलाई बहिष्कार गरौं ।

  5. निशुल्क शिक्षा भन्छ तर 11/12 मा 22 वटा कक्षा चल्ने स्कुलमा शुद्ध 3 वटा दरबन्दीको शिक्षक र एउटा अनुदान शिक्षक भनेर दिन्छ 11/12 सय विद्यार्थी हुदा कर्मचारी पनि चाहिन्छ अनि थप शिक्षक र कर्मचारीको लागि शुल्क त अनिवार्य नै भैगो नि ।

  6. नेपालको संविधानको धारा ३१ को उपधारा २ बमोजिम राज्यबाट माध्यामिक तहसम्मको शिक्षा नि:शुल्क पाउने हकलाई उल्लंघन गर्दै विद्यार्थीहरुलाई फिस आतंक मच्चाएर लखेटिएका हुँदा संबंधित विद्यालयका प्रशासकलाई कारबाही हुनुपर्छ र सबै विद्यार्थीले नि:शुल्क पढ्न पाउनु पर्छ।

  7. केके सुन्नु पर्छ हो हाम्रो देशमा हिजो आज अझ तेहि स्कुलको भित्तामा लेखिएको हुन्छ कि “धन भन्दा बिद्या ठूलो ” हो भनेर -…।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर