स्थानीय चुनावमा भएका अन्तर्घातको छानबिन र कारबाही गर्ने प्रचण्डको प्रस्ताव – Nepal Press

स्थानीय चुनावमा भएका अन्तर्घातको छानबिन र कारबाही गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले हालैको स्थानीय चुनावमा धेरै स्थानमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको बताएका छन् । अन्तर्घातको छानबिनका लागि एउटा समिति बनाउने र त्यसले दिने प्रतिवेदनका आधारमा अन्तर्घातमा संलग्नलाई कारबाही गर्ने प्रस्ताव उनले अघि सारे ।

प्रचण्डका अनुसार स्थानीय चुनावमा उनले १७० वटा पालिका जित्ने अनुमान गरेका थिए । तर, अनुमानभन्दा ५० सिट कम जितेको उनले बताए । खासगरि मधेसमा पार्टीको निराशाजनक नतिजा आएको उनको भनाइ छ ।

प्रचण्डले भने, ‘मधेसमा ४० देखि ५० वटा पालिका जितिएला भन्ने थियो, तर ९ वटा मात्रै जितियो । धेरै ठाउँमा अन्तरघात भएको छ । साथै उम्मेदवार छनोटमा पनि गल्ती गरियो । जनभावना र लोकप्रियता हेरेर उम्मेदवार छनोट गर्न सकिएन ।’

कतिपय स्थानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउनुलाई नै सफलता मान्ने प्रवृत्ति देखिएको प्रचण्डले बताए ।

‘अर्कालाई परास्त गर्नु नै आफ्नो सफलता भन्याजस्तो भयो । अहिले एकले अर्कालाई कारबाही गर्नुपर्छ भन्ने आइरहेको छ । यसले कांग्रेसको पैसा खायो, त्यसले एमालेको पैसा खायो भन्ने सुनिएको छ । यसले त छानबिन गर्न पनि सहज छैन ।’

धेरै सिनियर नेताहरुलाई पनि अन्तरघातको आरोप लागेको प्रचण्डले बताए ।

‘धेरै स्थानमा समस्या देखिएको छ । अब कारबाही त गर्नैपर्छ । गम्भीर समस्या भएका जिल्लाहरूमा गएर बुझ्ने र सामान्य ठाउँका पालिका र जिल्लाबाट लिखित रिपोर्ट लिएर प्रतिवेदन प्रस्तुत गर्न एउटा कमिटी बनाऔं । १५ दिनभित्र उक्त कमिटीले रिपोर्ट बुझाउनुपर्‍यो । त्यही रिपोर्टका आधारमा कारबाहीको निर्णय गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर