आजबाट सुरु हुँदै युरो कप महिला फुटबल – Nepal Press

आजबाट सुरु हुँदै युरो कप महिला फुटबल

काठमाडौं । युरो कप महिला फुटबल आजदेखि सुरु हुँदैछ । करिब एक वर्ष ढिलो हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङल्यान्ड र अस्ट्रिया भिड्दैछन् । ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

वेम्ब्ली स्टेडियममा जुलाई ३१ मा समापन हुने प्रतियोगितामा १६ देशको सहभागिता रहेको छ । १६ देशमा आयोजक इङल्यान्ड, साविक विजेता नेदरल्यान्ड्स, जर्मनी, फ्रान्स, स्वीडेन, स्पेन, नर्वे, इटाली, डेनमार्क, बेल्जियम, स्वीट्जरल्यान्ड, अस्ट्रिया, आइसल्यान्ड, पोर्चुगल, फिनल्यान्ड र नर्थन आयरल्यान्ड रहेका छन् ।

सबै टीमलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता र उपविजेताले क्वार्टरफाइनल खेल्नेछन् । जुलाई ३१ मा फाइनल खेल हुनेछ ।

इङल्यान्ड आयोजकको हैसियतले प्रतियोगितामा छनोट भएको थियो । बाँकी १५ टीमले क्वालिफायर खेलेर युरो २०२२ मा स्थान बनाएका थिए ।
अगस्ट २०१९ मा समूह चरणबाट सुरु भएको क्वालिफायर अप्रिल २०२१ मा प्लेअफ भएर सकिएको थियो । महिला युरो २०२१ मा हुने तालिका थियो । तर, कोरोना भाइरस महामारीका कारण एक वर्ष ढिला आयोजना भएको हो ।

कुन समूहमा कुन देश ?

समूह ‘ए’ : इङल्यान्ड, अस्ट्रिया, नर्वे, नर्थन आयरल्यान्ड
समूह ‘बी’: स्पेन, फिनल्यान्ड, जर्मनी, डेनमार्क
समूह ‘सी’: पोर्चुगल, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्वीडेन
समूह ‘डी’: बेल्जियम, आइसल्याड, फ्रान्स, इटाली

कुन कुन स्टेडियममा हुँदैछ खेल ?

वेम्ब्ली र अन्य थप नौ इङलिस स्टेडियममा महिला युरो २०२२ आयोजना हुँदैछ । ओल्ड ट्राफोर्ड, ब्रामल लेन, सेन्ट मेयर्स, दी एमेक्स, स्टेडियम एमके, दी बे्रन्टफोर्ड कम्युनिटि स्टेडियम, दी न्यू योर्क स्टेडियम, लेइग स्पोर्टस भिलेज र एकेडेमी स्टेडियम

महिला युरोको इतिहास

महिला युरो आधिकारिक रुपमा सन् १९८२ मा सुरु भएको थियो । सुरुमा युरोलाई महिला फुटबलका लागि युरोपियन प्रतियोगिता भन्ने गरिन्थ्यो । स्वीडेन इङ्ल्यान्डलाई पराजित गर्दै पहिलो विजेता बनेको थियो ।

दोस्रो संस्करण सन् १९८७ मा नर्वेमा आयोजना भएको थियो । साविक विजेता स्वीडेनलाई फाइनलमा २–१ गोलमा पराजित गर्दै आयोजक नर्वेले दोस्रो संस्करणको उपाधि घरमै राखेको थियो ।

त्यसपछि जर्मनीले दबदबा कायम गर्‍यो । सन् २००९ को फाइनलमा इङ्ल्यान्डविरुद्ध ६–२ को जीतसहित सन् २०१३ सम्मको दौडमा जर्मनले नौ संस्करणमध्ये आठ उपाधि जितेको थियो ।

यस अवधिमा महिला युरो जित्ने अको टीम नर्वे थियो । नर्वेले सन् १९९३ मा आयोजक इटालीलाई १–० को नतिजामा हराएको थियो । अन्ततः पाँच वर्षअघि जर्मनीको एकल राज तोड्दै नेदरल्यान्डले पहिलो उपाधि जित्यो । नेदरल्यान्डले फाइनलमा डेनमार्कलाई ४–२ को नतिजामा पराजित गरेको थियो ।

सर्वाधिक उपाधि जित्ने टीम

निःसन्देह जर्मनी प्रतियोगिताको सबैभन्दा सफल टीम हो । जसले खेलेका आठवटै फाइनल जितेको छ । नर्वेले दुई पटक महिला युरोको उपाधि जितेको छ । स्वीडेन र नेदरल्यान्डस् समान एकएक पटक च्याम्पियन बनेका छन् ।

इङल्यान्ड र इटाली समान दुईदुई पटक फाइनल पुगेका छन् । डेनमार्क एक पटक फाइनल पुगेको छ । अस्ट्रिया, फिनल्यान्ड र स्पेन प्रायः सबै संस्करणको सेमिफाइनलसम्म पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर