विनोद शाही हत्याकाण्ड : नगरप्रमुखसहित तीन जनाविरुद्ध सरकारी वकिल कार्यालयले चलाएन मुद्दा – Nepal Press

विनोद शाही हत्याकाण्ड : नगरप्रमुखसहित तीन जनाविरुद्ध सरकारी वकिल कार्यालयले चलाएन मुद्दा

सुर्खेत । अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको घटनाका विषयमा जिल्ला अदालत अछाममा जिल्ला प्रहरी कार्यालय अछामले अभियोग पत्रसहित चार जनालाई मात्रै उपस्थित गराएको छ ।

सरकारी वकिल कार्यालयले पञ्चदेवल विनायक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख अम्बिका चलाउनेसहित तीन जना विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको अदालतका निमित्त श्रेस्तेदार नारायण पौडेलले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले अम्बिका चलाउने, नेत्र शाही र रामबहादुर शाहीमाथि मुद्दा चलाउने निर्णय गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामले आज जिल्ला अदालतमा अभियोग पत्रसहित महेन्द्र शाही, वीरेन्द्र बहादुर शाही, पृथ्वी बहादुर शाही र देवेन्द्र बहादुर शाही लाई उपस्थित गराएको थियो ।

उनका अनुसार १३ जना विरुद्धको जाहेरी मध्ये बाँकी रहेका ६ जना भने फरार सूचिमा रहेका छन् । जिल्ला समन्वय समिति उपप्रमुख दानमति शाहीलगायतका ६ जना भने फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले जिल्ला अदालतबाट पूर्ण आदेश नआइसकेको बताए । ‘तीन जनालाई सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेका कारण मुद्दा नचलाउने भनेको होला, अदालतबाट पत्र आएको खण्डमा उहाँहरू रिहा हुनुहुन्छ ।’ डिएसपी डाँगीले भने, ‘जिल्ला समन्वय समिति उपप्रमुख शाहीसहित अरूमाथि अभियोग पत्र समेत दायर भइसकेको छ । फरारको सूचिमा रहेकाहरू अब अदालतको सम्पर्कमा आउँछन् होला ।’

गएको जेठ १७ गते अछामको पञ्चदेवल नगरपालिका–४ कालिकास्थानका १५ वर्षीय युवक विनोद शाही हत्या भएको थियो ।

विनोदको हत्या गरेको अभियोगमा आफन्तले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले नगरप्रमुख चलाउनेसहित ७ जनालाई पक्राउ गरेको थियो ।

हुलाकमार्फत पठाएको जाहेरी जिल्ला प्रहरी कार्यालय अछामले दर्ता गरेपछि मात्रै शव भेटिएको ६ दिनपछि पीडित परिवारले शव बुझेका थिए ।

दश कक्षामा अध्ययनरत मृतक शाहीको हराएको पाँच दिनपछि घर नजिकको जंगलमा शव फेला परेको थियो ।

कालिकास्थानमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबिच स्थानीय तहको चुनावदेखि नै सानातिना मनमुटाब र झडपहरू भइरहेका थिए ।

वैशाख ३० गतेको निर्वाचनमा काँग्रेसका कार्यकर्ताले अर्कै मतदाताको नाममा मत हाल्न खोजेपछि हेल्थ पोस्टमा रहेका दुई वटा बुथमा उनीहरूबिच कुटाकुट भएको थियो ।

उक्त झडपमा एमाले कार्यकर्ताहरू चक्र शाही लगायत घाइते भएका थिए । त्यही घटनाबाट काँग्रेस र एमालेबीच कालिकास्थानमा द्वन्द्व सुरु भएको थियो ।

यसको पराकम्पको रूपमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन डिएसपी रविराज थपलिया काठमाडौं तानिएका थिए ।

उनको ठाउँमा दंगा नियन्त्रण गण नेपालगञ्जबाट नारायण डाँगीलाई सरुवा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *