भाषा तथा संस्कृति संरक्षणको मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा (भिडिओ) – Nepal Press

भाषा तथा संस्कृति संरक्षणको मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२औँ प्राज्ञ-सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्द्धन र संरक्षण गर्ने हक हुने विषयलाई संविधानले सुनिश्चित गरेको भन्दै त्यसको पूर्णकार्यान्वयन हुने बताए ।

उनले संगीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै आमजीवनमा सिर्जनशीलताको सञ्चार गर्ने गरेको जिकिर गरे । नाट्य प्रज्ञा-प्रतिष्ठानले नाट्य, नृत्य, संगीतका माध्यमबाट राष्ट्रको उत्थानका निमित्त खेल्ने हरेक भूमिकामा सरकारको सधैँ साथ र सहयोग रहने उनको भनाइ थियो ।

लोकतन्त्रको स्थापना र संवर्द्धनमा कलाकार र साहित्यकारको अमूल्य योगदान रहेको देउवाले बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, साहित्य, नाट्य क्षेत्र, संस्कृतिको विकास र प्रवर्द्धनका निम्ति आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।

नेपाल ललितकता प्रज्ञा-प्रतिष्ठानका कूलपति केके कर्मचार्यले नेपाली साहित्य क्षेत्रको विकासमा सवै लाग्नुपर्ने जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर