पेचिलो बन्दै अर्थमन्त्री प्रकरण- प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने – Nepal Press

पेचिलो बन्दै अर्थमन्त्री प्रकरण- प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित अर्थमन्त्री जनार्दन शर्माको सेफ ल्याण्डिङको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।

आज बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रीय कार्यालयका एक नेताले जानकारी दिए ।

‘प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिनको माग गरेको छ । अर्थमन्त्रीको राजीनामा पनि मागिएको छ,’ ती नेताले भने, ‘त्यही कारण के गर्दा उपयुक्त हुन्छ र विवाद समाधान गर्न सकिन्छ भनेर अध्यक्षज्यूले प्रधानमन्त्री र सभामुखसँग आज या भोलिभित्रै छलफल गर्ने कुरा तय भएको छ ।’

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालय लगेर करको दायरा हेरफेर गरिएको भन्दै अर्थमन्त्री शर्माको चर्को आलोचना भइरहेको छ । मन्त्रालयले सीसीटीभी फुटेज पनि हराएको भनेपछि अर्थमन्त्रीले राजनीनामा दिनुपर्ने माग बढ्दो छ ।

हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय छानबिनको माग गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलका नेताले नै संसदको ध्यानाकर्षण गराएको र सरकारमा चरम दबाब बढेपछि निकासका लागि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्न लागेका हुन् ।

‘संसदीय छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने वा राजीनामा दिएर विवाद समाधान गर्ने भन्ने विषयमा निकास दिन छलफल गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर