टीका वलीको दाबी- श्रीमान्‌सँग बनाएको टिकटकमा गुलाबजंगको टाउको जोडियो – Nepal Press

टीका वलीको दाबी- श्रीमान्‌सँग बनाएको टिकटकमा गुलाबजंगको टाउको जोडियो

काठमाडौं । कर्णाली प्रदेश सांसद गुलाबजंग शाहसँगको टिकटकले चर्चामा आएकी सल्यानकी एमाले जिल्ला नेतृ टीका वलीले पत्रकार सम्मेलन गर्दै प्रष्टीकरण दिएकी छन् । प्रविधिको दुरुपयोग गर्दै फेक भिडिओ बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको दाबी छ ।

वलीले उक्त टिकटक आफूले श्रीमान्‌सँग बनाएको तर कसैले एडिट गर्दै गुलाबजंगको टाउको जोडिदिएको बताइन् । साथै आफ्नो टिकटक अकाउन्ट पनि ह्याक भएको उनले गुनासो गरिन् ।

‘मेरो पार्टीको आदरणीय नेतालाई जोडेर चरित्र हत्या गर्ने उद्देश्यका साथ भिडिओ सार्वजनिक गर्नु सरासर गलत हो, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन,’ वलीले भनिन् ।

उनले भाइरल भइसकेपछि श्रीमान्‌सँग बनाएको पुरानो टिकटक खोज्दा नभेटेको बताइन् ।

‘मेरो पुरानो टिकटक सबै डिलिट गरिएछ । साथै, मैले बनाएका सबै टिकटक फेसबुकको स्टोरीमा हाल्ने गर्थेँ । अहिले हेर्दा फेसबुकमा पनि भेटिनँ,’ उनले भनिन् ।

स्टोरीबाट हटेको टिकटक कसरी खोज्न सकिन्छ भनेर वलीले पत्रकारसँग सहयोग मागेकी थिइन् । आफ्नो राजनीतिक र पारिवारिक जीवन सिध्याउनका लागि षडयन्त्र रचिएको वलीले आरोप लगाइन् ।

‘मान्छे पत्ता लगाएर साइबर केस हाल्नेछु । साथै अदालतमा पनि जान्छु,’ उनले भनिन् ।

यद्यपि, आफूलाई कसैप्रति शंका नरहेको उनको भनाइ छ । भाइरल भएको भिडिओ हेरेर परिवार पनि अचम्ममा परेको उनले बताइन् ।

‘म आफ्नो तरिकाले परिवार चलाउँदै पढाइ अघि बढाउँदै आइरहेको थिएँ । राजनीतिमा भर्खरै आएको हुँ । तर, मेरो राजनीतिक र पारिवारिक जीवनमा दाग लगाउन खोजिएको छ । मलाई न्याय चाहिन्छ,’ वलीको थप भनाइ छ ।

उनले गुलाबजंगलाई पार्टीको नेता भएको हिसाबले आफूले आदर र सम्मान गर्ने पनि बताइन् ।


प्रतिक्रिया

One thought on “टीका वलीको दाबी- श्रीमान्‌सँग बनाएको टिकटकमा गुलाबजंगको टाउको जोडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर