बुटवलमण्डपमा गिरिजाको नाम थपेर विवाद नगर्न सबै दलको आग्रह – Nepal Press

बुटवलमण्डपमा गिरिजाको नाम थपेर विवाद नगर्न सबै दलको आग्रह

रुपन्देही । बुटवलका अधिकांश राजनीतिक दल तथा सामाजिक संघसंस्थाले निर्माणसम्पन्न हुन लागेको राष्ट्रिय गौरवको आयोजना बुटवलको मण्डपको नाम फेर्ने बुटवल उपमहानगरको प्रस्तावलाई फिर्ता लिन आग्रह गरेका छन् ।

बुटवलमण्डपको नाम परिवर्तन गरी आयोजनालाई विवादमा पार्न खोजिएको निर्णयप्रति यहाँका संघसंस्था तथा राजनीतिक दलहरुले आपत्ति जनाएका हुन् । उपमहानगरले बजेट र नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको ‘गिरिजाप्रसाद कोइराला बुटवल मण्डप’ नामाकरण गर्ने प्रस्ताव फिर्ता लिन उनीहरुको आग्रह छ । बुटवलमा क्रियाशील ७ राजनीतिक दलले सामुहिक विज्ञप्ति जारी गर्दै निर्णय सच्याउन आग्रह गरेका छन् ।

बुटवलमण्डप बुटवलमा क्रियाशील सबै राजनीतिक दलहरुको विकासको साझा धारणा भएको उल्लेख गर्दै बुटवल मण्डपको नाम आमजनसमुदायको भावनात्मक अपनत्वसँग पनि जोडिएको विषय भएको विज्ञप्तीमा जनाइएको छ ।

संयुक्तरुपमा जारी विज्ञप्तिमा नेकपा एमाले रुपन्देहीका अध्यक्ष किसन ज्ञवाली, राष्ट्रिय जनमुक्ति पार्टीका मेकबहादुर सारु, मंगोल नेशनल अर्गनाइजेशनका खिमबहादुर थापा, लोकतान्त्रिक समाजवादी पार्टीका रामशंकर गुप्ता, नेपाल कम्युनिष्ट पार्टीका एनबी शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद श्रेष्ठ र राष्ट्रिय जनमोर्चा (समन्वय समिति) का बाबुराम आचार्यले हस्ताक्षर गरेका छन् ।

यसअघि नेकपा एसका रुपन्देही इन्चार्ज डाक्टर बालकृष्ण चापागाई र राष्ट्रिय जनमोर्चाका अध्यक्ष पदम श्रेष्ठले यो निर्णय सच्चाउन आग्रह गरिसकेका छन् । दुई दिनअघि यहाँका २१ व्यवसायिक संस्थाले गौरवका आयोजनालाई राजनीतिक नाममा विवादमा नतान्न आग्रह गर्दै प्रस्ताव फिर्ता लिन सामुहिक माग गरेका थिए ।

 


प्रतिक्रिया

One thought on “बुटवलमण्डपमा गिरिजाको नाम थपेर विवाद नगर्न सबै दलको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर