जनमोर्चाका अध्यक्ष चित्रबहादुर भन्छन् : प्रदेश संरचनाले देश हरिकंगाल बनायो – Nepal Press

जनमोर्चाका अध्यक्ष चित्रबहादुर भन्छन् : प्रदेश संरचनाले देश हरिकंगाल बनायो

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुँदा देशले समस्या भोग्नुपरेको बताएका छन् ।

अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउँदै आफूलाई ठूलो दलको नेता हुँ भन्नेहरूले राजनीतिलाई व्यवसाय बनाएर ठूलो धनराशि कमाउँदा देश संकटको अवस्थामा पुगेको अध्यक्ष केसीको भनाइ छ ।

राजनीति सेवा नभएर पैसा आर्जन गर्ने व्यवसाय बनाउँदै सत्तामा बस्ने सीमित मान्छेका कारण देशको अवस्था बिग्रँदै गएको उनको तर्क छ ।

उद्योगधन्दा, कलकारखाना खोलेर भन्दा ठूला पार्टीमा लागेर सांसद, मन्त्री भएपछि छिटो पैसा कमाइने भएकाले आफूहरूलाई ठूलो पार्टीको नेता हुँ भन्नेबाटै देश कसले लान्छ भन्ने डर भएको बताए ।

अध्यक्ष केसीले तिनै ठूला दलमा लागेर राजनीतिलाई व्यवसाय बनाउनेहरूबाटै गणतन्त्र र राष्ट्रियता खतरामा रहेको आरोप लगाए ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको महंगी, भ्रष्टाचारविरुद्धको कोणसभामा बोल्दै उनले राज्यले महंगी, भ्रष्टाचार, कालोबजारी र महिला हिंसालगायत अपराधजन्य हिंसाको नियन्त्रण गर्न नसकेको बताए ।

उनले उद्योग, कलकारखाना खोल्ने बेला सांसद र मन्त्रीहरूको कारखाना खोलिएको बताए। एउटा राज्यलाई फुटालेर आठ वटा बनाउनेहरूका कारण देश पछाडि परेको हो, एउटा राज्यका सांसद र मन्त्री पाल्न नसकेको देशले प्रदेश धान्न कसरी सक्छ ? उनको प्रश्न थियो ।

प्रदेश खारेज गरेर प्रदेश चलाउने पैसा शिक्षा, स्वास्थ्य र उद्योग कलकारखाना सञ्चालनमा लगानी गर्नुपर्ने उनको भनाइ छ।

किसानलाई चाहिने मल,बिउ र रोजगारमूलक उद्योग, कलकारखाना नखोल्दासम्म देशले निकास पाउन नसक्ने बताउँदै उनले कृषिप्रधान देशका किसानहरूले खेतीपाती गर्दा मल, बिउ नपाउनु सरकारले कृषिमा ध्यान दिनै नसकेको प्रस्ट भएको उनले बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले गलत मान्छेलाई भोट नदिन आग्रह गर्दै भोट दिँदा त्यो पार्टीको नीति, सिद्धान्त र कार्यक्रम बुझेर भोट दिनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर