बुटवलमण्डपलाई विवादमा नल्याउन २१ व्यवसायिक संस्थाको आग्रह – Nepal Press

बुटवलमण्डपलाई विवादमा नल्याउन २१ व्यवसायिक संस्थाको आग्रह

रुपन्देही । बुटवलमा रहेका २१ वटा व्यवसायिक संघसंस्थाको सञ्जालले बुटवलमण्डपको नाम संशोधन गर्ने बुटवल उपमहानगरपालिकाको प्रस्तावमा असहमति जनाएका छन् । तत्काल त्यो प्रस्ताव फिर्ता लिन उनीहरूको माग छ ।

सञ्जालको आइतबार बुटवलमा सम्पन्न बैठकले व्यवसायिक संघसंस्थाहरूको भावनाविपरीत बुटवलको गहनाको रूपमा रहेको बुटवलमण्डपको नाम फेर्ने फेर्न लागिएकोमा टिप्पणी गरेको छ । उपमहानगरपालिकाले आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुटवलमण्डपको नाम परिवर्तन गरी ‘गिरिजाप्रसाद कोइराला बुटवलमण्डप’ राख्ने प्रस्ताव गरेको छ ।

बैठकपछि संयुक्तरूपमा जारी विज्ञप्तिमा बुटवललाई अन्तर्राष्ट्रिय पहिचान गराउने योजनामा आमसर्वसाधारण र व्यवसायिक संघसंस्थाको भावनाविपरीत एकलौटी ढंगबाट प्रस्ताव गरिनुले चिन्तित र गम्भीर बनाएको उल्लेख छ ।

सञ्जालले यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरूले लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी र व्यापार मेलाहरूमार्फत थालनी गरेको प्रयासलाई मूर्त रूप दिने उद्देश्यका साथ बुटवलमण्डपको स्थापना भएको स्मरण गराउँदै बुटवलमा स्थायी प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक अध्ययन, जग्गा प्राप्ति र भौतिक संरचना निर्माणमा नेपाल सरकार, बुटवल नगरपालिका यस क्षेत्रका व्यवसायिक संघसंस्था, सँगसँगै विभिन्न राजनैतिक दल तथा नेताहरूको योगदान महत्वपूर्ण रहेको कुरा भुल्न नहुने जनाएको छ ।

बुटवलको ऐतिहासिक महत्वलाई नै अवमूल्यन गर्दै स्थापित राजनैतिक नेतृत्वलाई समेत विवादमा ल्याउने गरी नामाकरण गरिनु आफैँमा दुःखद भएको भन्दै नाम संशोधन फिर्ता लिई आमसर्वसाधारण र व्यवसायिक संघसंस्थाहरूको भावनाको कदर गर्न सञ्जालले आग्रह गरेकव छ ।

आइतवार सम्पन्न सञ्जालको बैठकमा यस क्षेत्रमा क्रियाशील विभिन्न २१ वटा व्यवसायिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधहरूको सहभागिता रहेको बैठकका अध्यक्षता गरेका नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर