मकै बेच्नेसँग घुस मागेको आरोपबारे नगर प्रहरीलाई साेधियाे २४ घन्टे स्पष्टीकरण – Nepal Press

मकै बेच्नेसँग घुस मागेको आरोपबारे नगर प्रहरीलाई साेधियाे २४ घन्टे स्पष्टीकरण

बजेटपछि सडक व्यापारलाई व्यवस्थित गर्न कदम चाल्ने बालेन्द्रको तयारी

काठमाडौं । काठमाडौंको सडकमा मकै बेच्नेसँग पाँच हजार घुस मागेको आरोप लागेका नगर प्रहरीलाई स्पष्टीकरण सोधिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकमणि पौडेलकाे निर्देशनमा नगर प्रहरी प्रमुखले आज २४ घन्टे स्पष्टीकरण सोधेका हुन् ।

बालुवाटारको सडकमा मकै बेच्ने क्रममा चेतेन्द्र आचार्य र सीता आचार्यको नगर प्रहरीसँग घम्साघम्सी परेको थियो । नगर प्रहरीले उनीहरूले बेच्न राखेको मकै जबरजस्ती उठाएको दृश्यले सामाजिक सञ्जालमा निकै चर्को प्रतिक्रिया जन्माइरहेको छ ।

मकै बेच्ने दम्पतीले विभिन्न अन्तरवार्तामा आफूहरूलाई नगर प्रहरीले केही दिनअघि ५ हजार रुपैयाँ घुस मागेको र नदिएपछि मकै बेच्न रोक लगाइएको दाबी गरेका थिए ।

यही विषयमा महानगरले नगर प्रहरीलाई स्पष्टीकरण सोधेको स्रोतले बतायो । स्पष्टीकरणको जवाफ आएपछि थप निर्णय लिइने स्रोतको भनाइ छ ।

नगर प्रहरीले भने आफूहरूमाथि नै चेतेन्द्र र सीताले दुर्व्यवहार र हुल हुज्जत गरेको भन्दै कारबाहीको चेतावनी दिइरहेको छ ।

नगर प्रहरी प्रमुख धनपति सापकोटाले मकै बेच्ने दम्पतीले प्रहरीलाई अगुल्टो र चिम्टाले हानेको बताएका छन् । आफ्ना कर्मचारीमाथि आक्रमण गर्न खोज्नेलाई यत्तिकै नछाड्ने उनको भनाइ छ ।

यता, सडक व्यापारीमाथि नगरप्रमुखको जोरजोलुमलाई लिएर सामाजिक सञ्जालमा काठमाडौंका मेयर बालेन्द्र साह निशानामा परिरहेका छन् । तर, उनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । बालेन्द्र निकट स्रोतले बजेट निर्माणको चटारो भएकाले यो विषयलाई तत्काल सम्बोधन गर्न नसकिएको बताए ।

‘यसमा कुनै प्रतिक्रिया दिने भन्दा पनि दिगो रूपमा समस्या समाधान गर्ने पक्षमा हुनुहुन्छ, बजेट ल्याइसकेपछि सायद त्यसलाई प्राथमिकतामा राख्नुहुनेछ,’ स्रोतले भन्यो ।

बालेन्द्रले चुनावी अभियानका क्रममा सडक व्यापारीमाथि नगर प्रहरीले जोरजुलुम अनुचित भएको बताउने गरेका थिए । आफू मेयर भएको खण्ड सडक व्यापारका लागि निश्चित ठाउँ तोकेर यसलाई व्यवस्थित गराउने उनको दाबी थियो ।

स्रोतले अहिले पनि बालेन्द्रले सडक व्यापारलाई रोक लगाउने नभएर व्यवस्थित गर्ने नै योजनामा रहेको बतायो । ‘जे कुरा चुनावअघि गर्नुभएको थियो, त्यसबाट पछि हट्नुहुन्न,’ स्रोतले भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर