एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाएको छैन : परराष्ट्र मन्त्रालय – Nepal Press

एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाएको छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार गरेको छैन ।

६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो । हालसम्म पत्राचार भने नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई गर्ने पत्राचारको अध्ययन भइरहेको जानकारी दिइन् ।

सरकारको निर्णय मन्त्रालयले प्राप्त भएको बताएकी उनले सरकारको निर्णयलाई कूटनीतिक माध्यमबाट कार्यान्वयन गर्दै पत्राचार गर्ने जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको बताइन् । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिरहेको जानकारी दिएकी उनले भ्रमण मितिको टुंगो लाग्न भने बाँकी रहेको जानकारी दिइन् ।

यसैबीच प्रवक्ता सेवा लम्सालले कोरोनाभाइरस संक्रमणका कारण अध्ययन बीचमै छाडेर नेपाल फर्किएका विद्यार्थी अध्ययनलाई निरन्तरता दिन पुनः चीन जान पाउने जानकारी दिइन् ।

नेपाल फर्किएका ८५० विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जनालाई चीनले मंगलबार लैजाने उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर