प्रचण्डको प्रतिवेदन : गठबन्धन दललाई लाभ, एमालेलाई हानी (पूर्णपाठ) – Nepal Press

प्रचण्डको प्रतिवेदन : गठबन्धन दललाई लाभ, एमालेलाई हानी (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० पानाको ‘संक्षिप्त राजनैतिक प्रतिवेदन’ प्रस्तुत गरेका छन् ।

उक्त प्रतिवेदनमा पहिलो स्थानीय तह निर्वाचन र अहिले सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामको तुलनात्मक विश्लेषण गरिएको छ । जसमा सत्तारूढ गठबन्धनका दलहरूलाई अघिल्लो निर्वाचनभन्दा अहिले ‘लाभ’ भएको उल्लेख छ ।

प्रतिवेदनमा पहिलो स्थानीय तह निर्वाचन २०७४को तुलनामा दोस्रो निर्वाचन २०७९मा नेपाली कांग्रसले प्रमुख÷अध्यक्षमा ६३ पद बढी जित्न सफल भएको कुरा उल्लेख छ ।

‘हाम्रो पार्टी (माओवादी केन्द्र) ले १६ सिट बढी ल्याएको छ भने जसपा र जनमोचाले पनि पहिलेको तुलनामा केही सिट सङख्या बढाएका छन्,’ प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रतिवेदनमा ‘यस पटकको स्थानीय तहको चुनावमा नेकपा एमालेले नराम्रोसँग हार बेहोर्नु परेको’ भनेर उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘पहिलेको तुलनामा उसले ८८ सिट गुमाएको छ ।’

त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले यस पटकको निर्वाचनमा ९ सिट गुमाएको कुरा उल्लेख छ ।

‘नेकपा एसले गठन भएको छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र अन्य पार्टीहरू नयाँ भएर पनि अस्तित्व कायम गर्न सफल भएका विषय प्रचण्डको प्रतिवेदनमा समेटिएको छ ।

यस्तै उपप्रमुख/उपाध्यक्षमा नेपाली कांग्रेसले पहिलेको तुलनामा ७७ पद थप गरेको र माओवादी केन्द्रले पहिलेको तुलनामा २३ पद बढाएको उल्लेख छ ।

एमालेले ९१ पद गुमाएको कुरा उल्लेख छ भने, लोसपाले पनि पहिलेको तुलनामा २३ सिट गुमाएको उल्लेख छ ।

नगरपालिकाको मत विश्लेषणमा कांग्रेस ४८ प्रतिशत नगरपालिकाको प्रमुखमा विजयी भएको र एमाले २८ प्रतिशतमा सीमित रहेको कुरा प्रतिवेदनमा उल्लेख छ ।

माओवादी केन्द्रले ९ प्रतिशत नगरपालिकामा जित्न सफल भएका प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया

One thought on “प्रचण्डको प्रतिवेदन : गठबन्धन दललाई लाभ, एमालेलाई हानी (पूर्णपाठ)

  1. विदेशी दलालहरूकाे महानायकले एमाले विरूद्व जेहाद छेडे पनि जनताले सशक्त प्रतिकार गरेर धूलाे चटाईदिन्छन् । काँग्रेसकाे तलुवा चाटेर एमालेमाथि प्रहार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर