जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले गराए अस्पताल ठप्प, सरकारले बेवास्ता गरेको आरोप – Nepal Press

जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले गराए अस्पताल ठप्प, सरकारले बेवास्ता गरेको आरोप

रुपन्देही । कोरोना महामारीको समयमा काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउनुपर्ने माग गर्दै अस्पतालको सेवा नै बन्द गर्नेगरी आन्दोलन हुँदा प्रदेश तथा संघीय स्वास्थ्य मन्त्रालयले वेवास्ता गरेको आरोप आन्दोलनकारीले लगाएका छन् ।

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको भन्दै आन्दोलनमा जाने जानकारी दिएको धेरै समय भएपनि मन्त्रालयको वेवास्ताले यो अलपत्र परेको आरोप उनीहरुको छ ।

संघ तथा प्रदेश सरकारले यसअघि नै जोखिम भत्ता दिने निर्णय गरेपनि मन्त्रालयले समन्वय नगर्दा सो क्षेत्रका कर्मचारी हैरानीमा परेका हुन् । कर्मचारीले सो अस्पतालमा अनिश्चिकालीन धर्ना तथा विरोध कार्यक्रम सुरु गरेर ओपीडी नै बन्द गरिसकेका छन् । भीम अस्पताल संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको स्वास्थ्यकर्मीहरुले धर्ना सुरु गरेका हुन् ।

संघर्ष समितिका अध्यक्ष तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले महामारीको बेला स्वास्थ्यकर्मीले सेवा पुर्याएको र सरकारले आफैले बोलेको जोखिम भत्ता नदिएको बताए । उनले असार मसान्त आउन लाग्दा हालसम्म जोखिम भत्ता नपाएकाले स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिनुपरेको बताए ।

अध्यक्ष उपाध्यायले भने, ‘असार ७ गतेदेखि संघर्षमा उत्रिएका छौं, दुई साता भइसक्दा पनि सरकारले कुनै चासो दिएको छैन, हालसम्म पनि सरकारको प्रतिनिधिबाट कुनै प्रतिक्रिया आएको छैन्, हाम्रो आन्दोलनलाई सरकारले नजरअन्दाज नगरोस् ।’ उनले भीम अस्पतालबाट सुरु भएको आन्दोलन देशव्यापी रुपमा जानसक्ने चेतावनी दिए ।

अध्यक्ष गोपाल उपाध्यायकाअनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ । भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते संघर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् । तर अझैसम्म मागको सुनुवाई हुन सकेको छैन ।

अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले राज्यले घोषणा गरेको कोरोना जोखिम भत्तावापतको रकम हालसम्म पनि आउन नसकेको बताए । उनले अस्पतालबाट २–३ पटक मन्त्रालयमा पत्र पठाइएको जानकारी दिए । शुक्रबार र आइतबार केही समय ओपीडी बन्द गरेका आन्दोलनरत स्वास्थ्यकर्मीले सोमबारबाट पूरै समय ओपीडी बन्द गर्ने दावी गरेका छन् ।

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले महामारीको समयमा भीमसहित लुम्बिनी प्रादेशिक, राप्ती प्रादेशिक, पृथ्वीचन्द्र अस्पतालमा सेवा दिएका स्वास्थ्यकर्मीको भत्ता रोकिएको बताए ।

उनले भने ‘यो भीम अस्पतालको मात्रै समस्या होइन, देशभरका अस्पतालमा छ, उहाँहरुले अस्पतालमा सेवा बन्द गरेर पाउने पनि होइन, संघीय सरकारले दिने बजेट हो प्रदेशले समन्वय गर्ने हो, हामीले समन्वय गरेका छौं, अस्पताल प्रशासनलाई सिधै कागजपत्र लिएर काठमाण्डौं मन्त्रालय पठाउनुपर्नेमा अस्पतालमा सेवा रोकेर समाधान हुने विषय होइन । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *