केएमसीमा मृत भेटिएकी कर्मचारीको शव उठेन, परिवारले गरे हत्याकाे आशंका – Nepal Press

केएमसीमा मृत भेटिएकी कर्मचारीको शव उठेन, परिवारले गरे हत्याकाे आशंका

काठमाडौं। काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा शनिबार साँझ झुन्डिएको अवस्थामा मृत भेटिएकी महिला कर्मचारीको शव परिवारले अझै उठाउन दिएका छैनन्।

काभ्रेको रोसी गाउँपालिकाकी २० वर्षीया रमा रायमाझी होस्टलको कोठामा मृत भेटिएकी थिइन्। झुन्डिएको भएपनि शरीर भुँईमा लत्रिएकाले उनको हत्या भएको परिवारले आशंका गरेका छन्।

मृतकका आफन्त श्याम खत्रीले साँझ ५ बजेतिर घटना थाहा पाएको होस्टल प्रशासनले बताएपनि ७ बजेपछि मात्र परिवारलाई जानकारी गराएको दावी गरे।

‘प्रहरीको ठुलो संख्या उपस्थित भएपछि मात्र हामीलाई घटनाबारे जानकारी गराइयो। विद्यालय प्रशासन नआई हामीले शव उठाउन नदिने बताएपनि उहाँ कोही पनि आउनु भएन। आइतबार बिहान सम्पर्कमा आउने बताइएपछि हामी राति २ बजे त्यहाँबाट निस्किएका हौँ’, खत्रीले भने। मृतक विगत २ वर्षदेखि उक्त होस्टलको किचनमा काम गर्दै आएकी थिइन्।

खत्रीका अनुसार मृतकका आफन्तलाई आइतबार बिहान १० बजे बोलाइएको छ। ‘आज बिहान १० बजे विद्यालय प्रशासनले छलफलका लागि बोलाउनु भएको जानकारी पाएका छौँ’, उनले भने। उनले घटनाको निस्पक्ष अनुसन्धान हुनुपर्ने र दोषीमाथी कारबाही हुनुपर्ने माग गरे।

‘दिउँसोसम्म सबै ठिक थियो भन्ने जानकारी पाएका छौँ। तर एक्कासी यस्तो घटना हुनुमा कसैको संलग्नता छ भन्ने हाम्रो दावी हो’, खत्रीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *