पूर्वजनमुक्ति सेनाका घाइते कमान्डरले काठमाडौंमा ज्यान गुमाए – Nepal Press

पूर्वजनमुक्ति सेनाका घाइते कमान्डरले काठमाडौंमा ज्यान गुमाए

सुर्खेत । जनमुक्ति सेनाको पूर्ण घाइते कमाण्डरको काठमाडौंमा निधन भएको छ । सशस्त्र द्वन्द्वका क्रममा लामो समय जनमुक्ति सेनामा बिताएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंमा निधन भएको हो ।

उपचारका लागि उनी आफ्नी श्रीमतीसहित भैंसेपाटीमा बस्दै आएका थिए । जनयुद्धको क्रममा घाइते सेवकका शरीरमा गोली र छर्रा रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयसम्म उपचार गराउँदा समेत उनलाई सन्चो हुन सकेको थिएन । सरकार पक्ष र उनी संलग्न रहेको माओवादी पार्टीबाट समेत उपचारमा सहयोग नपाइएको उनको परिवारको गुनासो रहेको छ ।

उपचारमा कुनै पक्षबाट पनि वास्ता नभएपछि परिवारकै पहलमा उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो । तर खर्चको जोहो गर्न नसक्दा उनको सडक पेटीमा नै ज्यान गएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पुत्र प्रकाश दाहालको सालिक अनावरण गरेको केही घण्टामा नै पूर्व लडाकुले उपचार नपाउँदा ज्यान गुमाउनु परेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

सेवक तत्कालीन जनमुक्ति सेनाको सदस्य हुँदै सेक्सन कमाण्ड समेत भएका थिए । उनले पश्चिम नेपालमा तत्कालीन नेपाल प्रहरी र शाही नेपाली सेनासँग भएका धेरै युद्ध लडेका थिए । उनी तिनै युद्धमा सोही क्रममा घाइते भएका थिए । अनमिनको प्रमाणीकरणको क्रममा अयोग्य भनेर उनलाई शिविरबाट बिदाइ गरिएको थियो ।

यता, तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकरप्रसाद उपाध्यायले उनी मानसिक समस्या देखिएको बताएका छन् । उनले भने, ‘उहाँलाई उपचारको लागि हामीले सहयोग गर्छौ भनेका थियौँ, उहाँको परिवारले अहिले आवश्यक छैन, आवश्यक परेमा खबर गरौँला भन्नुभएको थियो । श्रीमतीबाट लुकेर उहाँ बाहिर जानु भएछ । उहाँले विष सेवन गरी आत्महत्या गरेको पाइएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर