स्वतन्त्र अभियानको प्रश्न- हतार–हतार रविले पार्टी खोल्नुको आशय के हो ? – Nepal Press

स्वतन्त्र अभियानको प्रश्न- हतार–हतार रविले पार्टी खोल्नुको आशय के हो ?

‘समानुपातिक भोटको ढोडिया थापेर तर मार्ने उद्देश्यले स्वतन्त्रकै बदनाम हुने गरी खोलिएको त होइन ?’

काठमाडौं । स्वतन्त्र उम्मेद्वारहरुको प्रथम राष्ट्रिय विशेष भेलामा प्रस्तुत दस्ताबेजले रवि लामिछानेको पार्टीप्रति संशय व्यक्त गरेको छ । स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले ६ पेजको दस्ताबेज भेलामा प्रस्तुत गरेका छन् । उनको दस्ताबेजमा लामिछानेले खोलेको दल र उनको राजनीतिक व्यवहारप्रति आशंका व्यक्त गरिएको छ ।

‘भर्खरै हतार–हतार रवि लामिछानेले नयाँ पार्टी खोल्नुको आशय के हो ?,’ दस्ताबेजमा प्रश्न सोधिएको छ, ‘स्थानीय चुनावमा स्वतन्त्रको पक्षमा लहर आएको देखेर समानुपातिक भोटको ढोडिया थापेर त्यसैमा तर मार्ने उद्देश्यले स्वतन्त्रकै नाम बदनाम हुने गरी हतारमा पार्टी खोलिएको त होइन ?’

यही आशंकाका साथ लामिछानेको ‘स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा उजुरी पनि दिइएको दस्ताबेजमा उल्लेख छ । अगाडि भनिएको छ, ‘भलै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मान्यता दिएको छ र यसले हाम्रा स्वतन्त्र मतदाताहरूलाई भ्रममा पार्ने अवस्था उत्पन्न भएको छ ।’

स्वतन्त्र अभियन्ताहरूबिच पर्याप्त छलफल नगरी हतार–हतार पार्टी खोल्ने होडबाजीले वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत बनाएर लैजान सहयोग नगर्ने कुरा दस्ताबेजमा उल्लेख छ ।

दस्ताबेजले नयाँ दल दर्ताको हुटहुटी देखिने, च्याउसरी साना दलहरू खुलिरहने र तर, एउटै पार्टीमा नअटाउने, व्यक्तिपिच्छे पार्टी खोलिने प्रवृत्तिकै सिलसिलाका रूपमा लामिछानेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिभाषित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर