भ्रेमाथाङ पहिरोसँगै पुरिएको सोनामको सपना ! हेर्नुस, पहिरो अघि र पछिको दृष्य – Nepal Press

भ्रेमाथाङ पहिरोसँगै पुरिएको सोनामको सपना ! हेर्नुस, पहिरो अघि र पछिको दृष्य

काठमाडौं । ट्रेकिङका लागि बनाइएका रुटहरुमा सडक सञ्जाल पुग्न थालेपछि पर्यटक घट्ने चिन्ताले नयाँ रुटको खोजीमा निस्किरहन्थे सोनाम । सिन्धुपाल्चोक हेलम्बुका सोनाम लामा पेशाले हिमाल आरोही हुन् भने ट्रेकिङ गाइडको काम पनि गर्छन् ।

पहिलेदेखि नै ट्रेकिङका लागि विदेशी पर्यटकको रोजाइमा पर्ने गथ्याे हेलम्बु । घरनजिकको रुट हुँदै पर्यटक ट्रेकिङमा निस्कने र दाजुको पनि ट्राभल एजेन्सी भएकाले उनले २०६६ देखि ट्रेकिङ गाइडको रुपमा काम गर्न थालेका हुन् ।

ट्रेकिङ रुटमा सडक सञ्जाल पुगेपछि पर्यटक घट्ने डरले सोनामले साथीहरुसँग लकडाउनअघि नै नयाँ रुट खोज्न सुरु गरिसकेका थिए । त्यही क्रममा भ्रेमाथाङ पुगेका थिए उनी । ट्रेकिङ रुटमा गाडीको बाटो पुगिसकेपछि विकल्पमा माथिबाट हेलम्बु ट्रायल खोलिएको थियो ।

कोरोना महामारीको त्रासले लकडाउन भएपछि सोनाम र उनका साथीहरु हेलम्बुमै नयाँ ट्रेकिङ रुट खोजीमा थिए । ट्रेकिङको लागि कुन ठाउँमा पानी हुँदोरहेछ, ट्रेकिङ साइट कहाँ–कहाँ हुँदोरहेछ भनेर खोजी गर्न पाँच पटक भेम्राथाङ पुगेका थिए ।

‘लकडाउनको समयमा गाइडहरुको टीम बसेर रुटहरु खोज्ने कामको सुरुवात गरेको थियो,’ सोनामले भने । हेलम्बुबाट दुईवटा पास छन् । एउटा लाङटाङ निस्कने र अर्को सेम्बेसथाङबाट गोसाइकुण्ड निस्कने ।

सोनामले भने, ‘पर्यटकहरु प्रायः गएकै रुटबाट फर्केने रहर गर्दैनन् । त्यही भएर उनीहरुका लागि नयाँ–नयाँ रुट खोजिराख्थ्यौं ।’
त्यसको विकल्पमा भ्रेमाथाङको रुट हुँदै लाङटाङ पुग्न सकिने निस्कर्ष उनीहरुले निकालेका थिए ।

गएको वैशाखमा मात्रै साथीसहित उनी त्यहाँ पुगेका थिए । उनी भ्रेमाथाङमा पुग्दा नयाँ रुट भेटिएकोमा दंग थिए । सुन्दर मनमोहक रुट भेटेपछि पर्यटकलाई यही रुट हुँदै लाङटाङ पुर्‍याउन सकिने सोचेका थिए । त्यसका लागि गाउँपालिकासँग पनि कुरा राखेका थिए ।

तर उनले खोजी गरेको रुटमा पर्यटकलाई नयाँ ट्रेकिङको अनुभव गराउन पाएनन् । गत असार १ गते राति भ्रेमाथाङमा भिषण पहिरो आएपछि उनको सपना चकनाचुर भएको छ । भ्रेमाथाङमा यति डरलाग्दो पहिरो जाला भन्ने उनले कल्पनासमेत गरेका थिएनन् ।

पहिरोअघि पाँचपटक उक्त ठाउँमा पुग्दा सानो खोला मात्रै बगिरहेको देखेका थिए उनले । ठाउँ–ठाउँमा सानातिना पहिरो भने खसेका थिए । तर उनले डरलाग्दो पहिरो जाने ठाउँ भने देखेका थिएनन् । बरु भ्रेमाथाङ चौर भने देखेका थिए ।

गत वर्ष असार १ गते राति भ्रेमाथाङमा ग्रेगानसहितको पहिरो जाँदा हेलम्बु र मेलम्चीमा ठूलो क्षति पुग्यो । अहिले ग्रेगान थुप्रिएको चौरमा उनले टेन्ट राखेर बसेका थिए । पहिरो गएपछि उनी गत माघमा भ्रेमाथाङ पुगे । तर त्यतिबेला हिउँ परेकाले कसरी भयानक पहिरो गयो भनेर अनुमान गर्न सकेनन् ।

उनी भन्छन्, ‘भ्रेमाथाङमा कसरी त्यस्तो पहिरो गयो होला, म त अचम्भित छु ।’उक्त ठाउँमा अझै पनि खस्न ठिक्क परेको ग्रेगानको चौर छ । वर्षाले झनै पहिरो जाने हो कि भन्ने चिन्ता लाग्छ उनलाई । गत असारमा आएको पहिरोले मेलम्ची खानेपानीको आयोजनामा क्षति पुग्नुको साथै हेलम्बु खोला आसपासका बस्तीहरु क्षतिगस्त भए् । यसवर्ष पनि उस्तै नियति दोहोरिने होकी भन्ने चिन्तामा छन् हेलम्बुबासी ।

हेर्नुस, उनले भ्रेमाथाङमा पहिरो जानुअघि संकलन गरेका  तस्बिरहरुः

भ्रेमाथाङ चाैर
भ्रेमाथाङमा बगिरहेकाे खाेला तर्दै
ट्रेकिङ रुट खाेज्न जाँदा भ्रेमाथाङ चाैरमा राखिएकाे टेन्ट
भ्रेमाथाङमा बगिरहेकाे खाेला
भ्रेमाथाङ चाैर
ट्रेकिङ रुटमा निस्किएका साेनाम सहित साथीहरु
भ्रेमाथाङमा बनाइएकाे गुम्बा
भ्रेमाथाङबाट देखिएकाे दृश्य

पहिरो गइसकेपछिका तस्बिरहरुः

गत असार १ गते आएकाे पहिराेपछि भ्रेमाथाङ

भ्रेमाथाङमा गएकाे पहिराे

पहिराेपछि देखिएकाे चाैर

 तस्बिर:  साेनाम लामा  र बाबु लामा 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर