नेपाल र बंगलादेशलाई विश्व बैंकले १ अर्ब डलर सहयाेग गर्ने – Nepal Press

नेपाल र बंगलादेशलाई विश्व बैंकले १ अर्ब डलर सहयाेग गर्ने

काठमाडौं । दक्षिण एसियामा क्षेत्रीय व्यापार र कनेक्टिभिटीलाई प्रवद्र्धन गर्नका निमित्त विश्व बैंकद्वारा नेपाल र बंगलादेशलाई १ अर्ब डलरभन्दा बढीको सहयोग प्राप्त हुने भएको छ ।

बंगलादेश र नेपालको क्षेत्रीय व्यापार सुधार गर्ने तथा यातायात लागत र क्षेत्रीय कोरिडोरमा पारवहन समय घटाउने लक्ष्यका साथ विश्व बैंकले उक्त आर्थिक सहयोग स्वीकृत गरेको हो ।

उक्त सहयोगले सम्बन्धित सरकारहरूलाई क्षेत्रीय व्यापारका प्रमुख बाधाहरूलाई सम्बोधन गर्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ । कार्यक्रमले बंगलादेश र नेपालमा लामो म्यानुअल र कागजमा आधारित व्यापार प्रक्रियाहरूलाई डिजिटलाइज्ड तथा स्वचालित समाधानहरूमा प्रतिस्थापन गर्न, कार्यक्रमले चयन गरेका सडक कोरिडोरहरू सुधार गर्न, मुख्य भूमि बन्दरगाह तथा अनुकूलन पूर्वाधारको स्तरोन्नति गर्न तथा हरित र जलवायु–उत्थानशील निर्माण सुनिश्चित गर्न मद्दत गर्ने विश्व बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बंगलादेशका लागि ७५३.४५ मिलियन डलर बराबरको उक्त सहयोगले ढाका–सिलहट राजमार्गसँग शेओला भूमि बन्दरगाह जोड्दै, ४३ किलोमिटर दुई लेन सिल्हेट–चरकाई–शेओला सडकलाई जलवायु–अनुकूल चार–लेन सडकमा स्तरवृद्धि गर्नेछ।

यस्तै यस परियोजनाले डिजिटल प्रणाली, पूर्वाधार, र बेनापोल, भोमरा, र बुरीमारी भूमि बन्दरगाहहरूलाई थप सुव्यवस्थित बनाउनका निमित्त पनि सहयोग गर्ने बताइएको छ ।

नेपालको सन्दर्भमा विश्व बैंकले २ सय ७५ मिलियन डलर बराबरको सहयोग गरेको हो जसले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिंघे–चनौटा सडकको जलवायु अनुकुलन चार लेनको राजमार्गमा स्तरोन्नति गर्न मद्दत गर्ने छ ।

यसले भारतको पश्चिमी बन्दरगाहहरूमा नेपालको पहुँचलाई सहज बनाउने विश्व बैंकको विश्वास रहेको छ । यसले नेपालको मोटर भेहिकल एग्रीमेन्ट (एमभीए) को कार्यान्वयनमा पनि मद्दत गर्ने विश्व बैंकको भनाई छ । विश्व बैंकको एक्सेस्स (एक्सेलेरेटिङ्ग ट्रान्सपोर्ट एन्ड ट्रेड कनेक्टीभिटी इन साउथ एसिया ) परियोजाना अन्तर्गत नेपाल र बंगलादेशले यो सहयोग प्राप्त गर्ने भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर