माओवादीको ज्यादती बिर्सन नसक्दा अपेक्षित परिणाम आएनः कांग्रेस – Nepal Press

माओवादीको ज्यादती बिर्सन नसक्दा अपेक्षित परिणाम आएनः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको एक प्रतिवेदनले कार्यकर्ताले सशस्त्र युद्धका बेला माओवादीको ज्यादती बिर्सन नसक्दा गठबन्धनबाट अपेक्षित परिणाम नआएको जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन परिचालन समितिको प्रतिवेदनमा यो कुरा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘माओवादीको सशस्त्र युद्धको समयमा कांग्रेसका कार्यकर्तामाथि भएका ज्यादतीलाई बिर्सन कठिन हुनुजस्ता कारणले गठबन्धनले अपेक्षित परिणाम प्राप्त गर्न सकेन ।’

यस्तै गठबन्धनकै कारण निर्वाचनको अंकगणितलाई मात्र ख्याल गर्दा पार्टीको वैचारिक तथा सैद्धान्तिक पक्ष ओझेलमा परेको अनुभूति आम मतदातामा पर्न गएको कुरा पनि प्रतिवेदनमा लेखिएको छ ।

‘गठबन्धनका सैद्धान्तिक मतभेद भएका पार्टीको चनाव चिह्नमा मत दिन पार्टी कार्यकर्ता र शुभेच्छुक समेतलाई गाह्रो भएको देखियो,’ प्रतिवेदनमा भनिएको छ,‘कांग्रेस समर्थित मतदातालाई रुख चिन्हबाहेक पनि मतदान गर्न लगाउन् भविष्यमा आफैलाई घातक हुन सक्ने जनमत पनि देखापर्‍यो ।’

यसैगरी पहिलोपटक मत हाल्ने कांग्रेस समर्थित मतदातालाई अन्य चुनाव चिन्हमा मत हाल्न लगाउनु आफ्नै लागि प्रत्युत्पादक हुने सम्भावनातिर ध्यान दिन जरुरी रहेको कुरा पनि प्रतिवेदनमा उल्लेख छ ।

‘राजनीतिक रूपमा कमजोर हुँदै गइरहेको दलसँग गठबन्धन गर्दा त्यस्तो दलले भविष्यमा आफैलाई चुनौती दिनसक्ने अवस्थासमेत आउने खतरा रहन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यद्यपि यी चुनौतीका बावजुद गरिएको गठबन्धनले सफलता पाएको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर