वागमतीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन – Nepal Press

वागमतीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।

पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि उनीविरूद्ध हस्ताक्षर संकलन गर्नुपरेको कांग्रेस र माओवादी केन्द्रले जनाएका छन् ।

प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदले हस्ताक्षर संकलन थालेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता प्रभात तामाङले आफूहरूले हस्ताक्षर अभियान सुरू गरेको बताए । मुख्यमन्त्री परिवर्तन गर्नुअघि हस्ताक्षर अभियान सुरू गर्ने प्रचलन अनुसार नेपाली कांग्रेसले हस्ताक्षर संकलन सुरु गरेको उनको भनाइ छ ।

उनले भने ‘बजेट अधिवेशन पछि हाम्रो पार्टीको नेतृत्वको सरकार स्थापना गर्ने पूर्वसहमति अनुसार नै प्रदेश प्रमुखलाई बुझाउनको लागि हस्ताक्षर संकलन गरेका हौँ ।’

सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीच वागमती प्रदेश सरकारको नेतृत्वबारे भएको लिखित सहमति नेपाल प्रेसले केही दिनअघि सार्वजनिक गरेको थियो । उक्त लिखित सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ ।

२०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ महिनापछि कांग्रेसले नेतृत्व पाउने गरी भएको त्यो लिखत गोप्य राखिएको थियो ।

यो पनि पढ्नुस् : बाहिरियो तीनदलीय लिखत, इन्द्र बानियाँ बन्न पाउलान् वागमतीको मुख्यमन्त्री ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर