पार्टीले भोलि नै बोलाएपनि मन्त्रीबाट फिर्ता हुन्छु : श्रममन्त्री कुँवर – Nepal Press

पार्टीले भोलि नै बोलाएपनि मन्त्रीबाट फिर्ता हुन्छु : श्रममन्त्री कुँवर

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पार्टीले भोलि नै मन्त्रीबाट फिर्ता बोलायो भने आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका श्रममन्त्री कुँवरलाई नै उक्त पार्टी निकट सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना दिने कार्यक्रममा उनले आफूलाई मन्त्री पार्टीले नै बनाएकाले पार्टीले जुन दिन फिर्ता बोलायो त्यसै दिन फिर्ता हुने बताएका हुन् ।

यस अघि नेकपा (एकीकृत समाजवादी)को तर्फबाट फिर्ता बोलाइका मन्त्री फिर्ता बोलाउँदा पनि फिर्ता नभएकोतर्फ इंगित गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मेरो लागि मन्त्री भन्दा पनि पार्टी नै सबै चिज हो । एक महिना, दुई महिना, तीन महिना वा पुरै ६ महिना भए पनि मन्त्री हुन्छु होला । तर, मेरो पार्टीले मलाई भोलि मात्रै पनि मन्त्रीबाट फिर्ता हुनुपर्‍यो भन्यो भने म फिर्ता हुन्छु ।’

उनले आफ्नो प्राथमिकता सरकार भन्दा पनि बढी पार्टी रहेको बताएका छन् । उनले थप्दै भने, ‘मेरो प्राथमिकता सरकारलाई भन्दा पनि पार्टीलाई हुनेछ । जुनसुकै बेला पनि मलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार छु । मन्त्रालयको जिम्मेवारीमा छु भनेर पन्छिने छैन ।’

श्रममन्त्री कुँवरले आफू मन्त्री भएर पार्टीको सिर झुकाउने कुनै पनि काम नगर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले सरकारले गर्ने हरेक निर्णय तथा प्रस्तावबारे पनि पार्टीलाई जानकारी गराएर मात्र अघि बढ्ने पनि बताएका छन् ।

मङ्गलवारको पहिलो मन्त्रिपरिषद् बैठक बस्नु अघि पनि आफूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई जानकारी गराए र बैठकमा सहभागी भएको मन्त्री कुवँरले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर