पैगम्बर मोहम्मद विवाद: भारतको उदयपुरमा एकको हत्या, सामाजिक सञ्जालमा भिडियो पोस्ट – Nepal Press

पैगम्बर मोहम्मद विवाद: भारतको उदयपुरमा एकको हत्या, सामाजिक सञ्जालमा भिडियो पोस्ट

काठमाडौं । भारतको राजस्थान प्रान्तस्थित उदयपुर जिल्लामा पैगम्बर मोहम्मद विवादका कारण दुई मुस्लिमद्वारा एक हिन्दूको हत्या गरिएको छ । मिडिया रिपोर्टअनुसार आरोपी गौस मोहम्मद र रियाज जब्बारले कन्हैया लालको हत्या गरी उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

उनीहरुले थप एक भिडियो पनि पोस्ट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीसमेत दिएका छन् । उनीहरूले यो कार्य पैगम्बर मोहम्मदको बारेमा एक राजनीतिज्ञले गरेको विवादास्पद टिप्पणीको लागि पीडितको समर्थनको बदलामा भएको दाबी गरेका छन् । हाल उनीहरु दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा तनाव सिर्जना भएपछि सरकारले सो क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेको छ । ठूला जमघटमा पनि प्रतिबन्ध लगाइएको छ । राजस्थानका अशोक गेलेटले आम मानिसहरुलाई संयमित रहिदिन आग्रह गरेका छन् ।

भारत सरकारले उक्त घटनाको छानबिन गर्ने जिम्मेवारी भारतको शीर्ष आतंकवादविरोधी एजेन्सीलाई दिएको छ । बीबीसीले जनाएअनुसार पीडित कन्हैया लाल पेशाले दर्जी हुन् । आक्रमणकारीहरुले उनको पसलमै छिरेर हत्या गरेका थिए ।

पीडितले गत महिना पैगम्बर मोहम्मदको बारेमा विवादास्पद टिप्पणी गर्ने भारतीय जनता पार्टीका पूर्वप्रवक्ता नूपुर शर्मालाई समर्थन गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका थिए ।

इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार तीन हप्ताअघि कन्हैया लाललाई धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । रिहा भएसँगै आफ्नो ज्यान खतरामा रहेको भन्दै उनले प्रहरीसँग सुरक्षासमेत मागेका थिए ।

नूपुर शर्माको उक्त टिप्पणीको विभिन्न इस्लामिक देशहरूले कडा निन्दा गरेका थिए । जसको कारण भारतमा कूटनीतिक विवादकै अवस्था सिर्जना भएको थियो । कन्हैया लालको हत्याका कारण हाल भारतको राजनैतिक क्षेत्रमा ठूलो बहस सुरु भएको छ । सत्ता पक्ष भाजपाका केही नेताहरुले उक्त हत्याको विरुद्धमा राजधानीसम्म मार्च गर्ने घोषणा गरेका छन् ।

प्रतिपक्ष दलका नेता राहुल गान्धीले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै दोषीलाई कारबाहीको माग गरेका छन् ।

यस्तै मुस्लिम संगठनहरूले पनि हत्याको निन्दा गरेका छन् । अखिल भारतीय मुस्लिम पर्सनल ल बोर्डले घटनालाई ‘घोर निन्दनीय’ बताउँदै यो घटना भारतीय कानून र ईस्लाम दुवैको विरुद्धमा रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर