खेतमा नपस्नेलाई रमाइलो, वास्तविक किसानलाई मलको पिरलो – Nepal Press
यस वर्षको असार १५:

खेतमा नपस्नेलाई रमाइलो, वास्तविक किसानलाई मलको पिरलो

रुपन्देही । आज असार १५ । सधैजसो यो दिन रमाउने कृषिमै निर्भर किसानहरुलाई यो पटक मल अभावले धेरै नै सास्ती पाएकाले उत्पादन नहुने चिन्ता बढाएको छ ।

बसाइँसराइँ, अतिक्रमण र खेतीपाती गर्ने चलनमा कमीले धान उत्पादन क्षेत्र वर्षेनि कम हुँदै गइरहेको छ । वर्षेनि रोपाइँका बेला मल अभावको समस्याले पिरोल्दा कृषकले वैकल्पिक खेती रोज्न थालेका छन् । तर यो वर्ष त करिब ९० प्रतिशत किसानले आवश्यक मल नै नपाएको कृषि क्षेत्रका जानकारहरु बताउँछन् ।

पहाड तथा तराईमा अधिकांश स्थानमा रोपाई भएकोमा मलबिना नै राप्न बाध्य भएको किसानको गुनासो छ । डीएपी मल थोरै पाए पनि युरिया मलको पूरै अभाव छ ।किसानहरूले खेतीको मुख्य सिजनमा मलको अभाव झेल्नु परिरहेको छ । मल अभावकै कारण बिना मल नै धान रोपाइँ सुरु गरेको राष्ट्रिय किसान महासंघका अध्यक्ष देव यादवले बताए ।

उनले ९० प्रतिशतभन्दा बढी किसानले मल पाउन नसकेको जानकारी दिए । केहीले प्राङ्गारिक मल प्रयोग गरेर खेती गरिरहेको उनको भनाइ छ । सरकारले प्रादेशिक कार्यालय मातहतका जिल्लाका लागि वार्षिक ४४ हजार ३०० मेट्रिक टन युरिया, ३० हजार ४५० मेट्रिक टन डीएपी र २ हजार ३९८ मेट्रिक टन पोटास मल पठाउने लक्ष्य राखे पनि पूरा गर्न सकेको छैन । सरकारले राखेको लक्ष्य अनुसार नै मल आपूर्ति हुँदासमेत किसानका लागि त्यो पर्याप्त नहुने सरोकारवाला बताउँछन् ।

यस क्षेत्रमा वार्षिक १ लाख मेट्रिक टन युरिया मलको आवश्यकता छ । यस्तै ६० हजार मेट्रिक टन डीएपी र ५ हजार मेट्रिक टन पोटास मलको माग रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय रुपन्देहीका प्रमुख नारायणप्रसाद शर्माले बताए ।

भैरहवामा रहेको कृषि सामग्री कम्पनीले लुम्बिनी प्रदेशको रुकुम जिल्लाबाहेक सबै जिल्लामा मल खाद पठाउने गर्छ । यस्तै कम्पनीले गण्डकी प्रदेशको स्याङ्जा र पूर्वी नवलपरासी पनि हेर्ने गर्छ ।लुम्बिनी प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ्गले ३० प्रतिशत मल उपलब्ध गराउने भनिए पनि अहिले कृषकलाई मलको अभाव हुँदा ती निकाय जवाफबिहीन भएका बनेका छन् ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसन भैरहवाबाट किसानले आवश्यकता अनुसार मल पाउन सकेका छैनन् । कर्पोरेसनको भैरहवा कार्यालय प्रमुख हरिचन्द्र श्रेष्ठले आफूहरूले आएको मल प्रदेशको कोटाअनुसार पठाएको दावी गर्छन् ।

कृषि सामग्री कम्पनीसँग डीएपी ८५३ टन, पोटास १ हजार टन रहेको तर युरिया मलको मौज्दात शून्य रहेको जनाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय रुपन्देहीका प्रमुख नारायणप्रसाद शर्माले डीएपी मल पर्याप्त मात्रामा नभएको र युरिया मल अहिलेसम्म नआएको जानकारी दिए ।

अहिले पोटास र डीएपीको माग धेरै रहे पनि निकै कममात्र आएको उनको भनाइ छ । उनले भने, ‘सायद यो महिनाको अन्तिमसम्ममा आउँछ होला ।’लुम्बिनी प्रदेशमा अहिले युरिया मल १५ हजार १६५ टन र डीएपी ११ हजार ९५ टनको कोटा परेको छ । अहिलेसम्म ९ सय टन डीएपी र ३२ सय टनमात्र युरिया आएको छ ।

उनले मल दैनिक रूपमा आइरहेको जानकारी दिए । प्रदेशमा पठाएको मल जिल्लाको कृषि ज्ञान केन्द्रमा पठाउने र त्यसबाट पालिकास्तरका जाने उनको भनाइ छ । लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका सचिव यामनारायण देवकोटाले दुवै संस्थाबाट आएको मललाई माग र आवश्यकताको आधारमा वितरण गर्ने मन्त्रालयको नीति रहेको बताए ।

अवैध मलको भर तर प्रशासनको डर

रासायनिक मलको अभाव बढेसँगै तराईका जिल्लाहरूमा सीमा क्षेत्रका किसानले भारतीय बजारबाट लुकिछिपी रूपमा मल ल्याउनु परेपनि प्रहरीले विभिन्न स्थानमा रोक्ने र अनावश्यक दुःख दिने र रकमसमेत माग्ने गरेको गुनासो गरेका छन् । यसरी मल ल्याउँदा प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिने समस्या पनि उत्तिकै रहेको किसानहरुको भनाइ छ ।

अर्कोतिर प्रदेशले कोटा निर्धारण गर्दा पनि खासगरी रुपन्देही, कपिलवस्तु, बाँकेजस्ता जिल्लालाई कम प्राथमिकतामा राख्ने गरेको किसानको गुनासो छ । सीमा क्षेत्रका किसानहरू जसरी पनि मल ल्याउँछन् भन्ने सोचाइले यी जिल्लाको कोटा कम पर्ने गरेको किसानका अगुवाहरू बताउँछन् ।

अहिले धेरै किसानले खेत बाँझै छाड्ने गरेका छन् । आफ्नै उत्पादनले परिवारको गर्जो टार्न बाध्य किसानले धान रोप्ने गरेका छन् । त्यस्ता व्यक्ति मलको खोजीमा भौतारिक बाध्य छन् । मुलुकमा मल आपूर्ति नहुँदा सिमावर्ती जिल्लाका किसान भारतीय मलमा निर्भर छन् । यहाँ अभाव भएको जानकारीपछि भारतीय व्यापारीले महंगोमा मल विक्रीको अवसर छोप्दै आएका छन् ।

सीमा पारीबाट मल ल्याएर खेती गर्न सहज छैन । यसरी मल ल्याउने किसानलाई प्रहरीले पक्राउ गरेर मल नियन्त्रणमा लिँदा झन मर्का परिरहेको छ । ‘मल बिना रोपाई हुन्न,’ रुपन्देहीको मर्चवारीका एक किसानले भने, ‘बल्लतल्ल भारतबाट खरिद गरेर ल्यायो, प्रहरीले खोसेर लैजान्छ ।’

अभावका बेला भारतबाट किनेर ल्याएको मललाई ‘चोरी’को भन्दै प्रहरीले बरामद गर्न थालेपछि किसान झन निरास बनेका छन् । गाउँगाउँमा मल वितरणको जिम्मा पाएका कृषि सहकारीका गोदाम रित्तै छन् । सहकारी नै मल आपूर्तिको प्रतीक्षामा छन् । किसान दिनहुँ सहकारीमा पुगेर मल कहिले आउँछ भनेर प्रश्न सोध्छन् । अझै आएन भन्ने जवाफ पाएपछि भारतबाट लुकाएर मल ल्याउन बाध्य छन् ।

राजश्व छलेर ल्याइएका कारण सरकारी भाषामा चोरीको मल भनिए पनि लामो समयदेखि किसान भारतीय मलमै निर्भर छन् । उनीहरु दिनरात जोखिम मोल्दैं सीमा पार गरेर मल खरिद गरेर ल्याउँछन् । यसरी ल्याउँदा मूल्यमा एक रुपता हुँदैन । भारतीयले तोकेको मनपरि मूल्यमा खरिद गर्न बाध्य छन् । पछिल्लो समय रुपन्देहीका सिमावर्ती किसानले भारतबाट ल्याएको मल बरामद हुन थालेपछि धेरैले ल्याएर खेतमा हाल्ने आँट गर्न नसकेको बताए ।

उत्पादनमा ५० प्रतिशत गिरावट आउने

लामो समयदेखि कृषि क्षेत्रमा क्रियाशील कृषि विज्ञ शुभासराज उपाध्यायले समयमा मल नपाउँदा उत्पादनमा ५० प्रतिशतसम्म ह्रास आउनसक्ने बताउँछन् । दाङ र बाँके जिल्लमा मकैको विउमा गरिएको अनुसन्धानमा समयमा नै मल उपलब्ध भएको मकैमा ५० प्रतिशत बढी उत्पादन वृद्धि भएको र समयमा नै मल उपलब्ध नभएको मकैमा उत्पादनमा आधा ह्रास आएको उनले बताए ।

जुन अध्ययन अनुसार पनि समयमा नै खाद्यान्न बालीको लागि, विउ उत्पादनको लागि उपयुक्त समयमा उपयुक्त मल आवश्यक पर्ने विज्ञ उपाध्ययको भनाइ छ । उनी भन्छन्–‘समयमा नै मल उपलब्ध हुन नसकेकमा जुनसुकै वालीले आफ्नो उत्पादन पूर्णरुपमा दिन सक्दैन, त्यसैले समयमा नै मल दिनु आवश्यक छ । यो पटक धान बाली उत्पादनमा धेरै कमी आउने छ । ’

‘अहिले धान बाली लगाउनको लागि व्याड राख्ने बेलामा मल राख्न पाएनन्, त्यो बेला मल नपाएपछि यसै विउ राम्रो छैन, अहिले रोप्नेबेलामा नि पाएनन् अनि कसरी बढ्छ उत्पादन ?’  उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *