लुम्बिनीको बजेट आज पास गर्ने सत्ता पक्षको तयारी – Nepal Press

लुम्बिनीको बजेट आज पास गर्ने सत्ता पक्षको तयारी

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट आज पास गर्नेगरी सत्तागठबन्धन दलहरुले तयारी गरेका छन् ।

सदनमा प्रतिपक्ष तथा सत्ता पक्षका अधिकांश सांसदहरुले मन्त्रालयगत छलफलमा सहभागी तथा ती मन्त्रालयगत जवाफसमेत आइसकेको छ । आज पहिलो सत्रमा मन्त्रीको जवाफ र दोस्रो सत्रमा बजेट पास गर्ने तयारी भएको हो । पहिलो सत्रमा आर्थिक मामिला मन्त्री कृृष्णध्वज खड्का र ममुख्यमन्त्री कुलप्रसाद केसीले जवाफ दिनेछन् ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलमा विपक्षी दल सांसदहरुले बजेट निर्वाचन केन्द्रीत तथा वितरणमुखी भन्दै चर्को आलोचना गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा विपक्षी सांसदहरुले बजेटले लक्ष्य प्राप्त गर्न नसक्ने तर्कसहित प्रस्तुत भएका थिए ।

एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले आर्थिक मामिला मन्त्रालयले बजेट खर्च गर्न नसकेको टिप्पणी गरे । चालु आर्थिक वर्ष पूँजीगत खर्च ४४/४५ प्रतिशत मात्र भएको भन्दै उनले आर्थिक मामिला मन्त्रालयले रकमान्तर नगर्दा धेरै पुल उद्घाटन हुन नसकेको बताए । उनले आगामी वर्षका लागि ल्याइएको बजेट कुनैपनि हालतमा कार्यान्वयन हुननसक्नेगरी छरिएको बताए ।

एमाले सांसद तुलसी चौधरीले सरकारले आर्थिक सङ्कटतिर मुलुक गएको बेला फजुल खर्च घटाउने गरी बजेट आउनुपर्नेमा त्यसको उल्टो भएको बताए । सांसद आरती पौडेलले स्थानीय तहका उपप्रमुखहरु न्यायाधीशको भूमिका रहेको उनीहरूलाई कानुनी विषयमा तालिम दिनुपर्ने बताइन् । उनले सहकारी विकास बोर्डलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजिएको बताइन् । सहकारीको नाम जोडेर भवन बनाउनु, साबुन बनाउने जस्ता शीर्षकमा रकम राखिएको भन्दै उनले त्यसको छनौटमाथि प्रश्न गरिन् ।

सांसद कमल श्रेष्ठले आफ्नो क्षेत्र गुल्मीको धार्मिक रुरु क्षेत्रमा बजेट कम छुट्याएको आरोप लगाए । उनले गत वर्ष ४६ करोडको योजना अनुसार काम भइरहेको ठाउँमा अहिले जम्मा २५ लाखमात्र छुट्याएको बताए । उनले बजेट सत्तामुखी भन्दा पनि मन्त्रीमुखी भएको आरोप लगाए ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले उनले कार्यकर्ताहरूको योजना राख्ने तर सांसदहरुले दिएका योजनाहरू काट्ने काम भएको आरोप लगाउँदै रातो पुस्तक आउनुभन्दा पहिले बजेट सार्वजनिक भएको बताइन् । उनले आफूले र पार्टीले माग नगरेका योजनाहरू फरक रूपमा अर्थमन्त्रीले प्युठान जिल्लामा लगेको बताइन् ।

नेपाली काँग्रेसका सांसद भुवनेश्वर चौधरीले बजेट प्राथमिकता, सिद्धान्त, नीति तथा कार्यक्रम अनुसार आएको भए राम्रो हुने थियो भन्ने टिप्पणी गरे । नीति तथा कार्यक्रम अनुसार बजेट नभएको उनको भनाइ थियो । सांसदहरुले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले बुधबार बस्ने बैठकमा दिने कार्यसूची छ ।आज बिहान ११ बजे प्रदेशसभा बैठक बस्ने जनाइएको छ ।

माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले सत्ता पक्षले बजेटको अलिकति बचाउ गर्ने र विपक्षी दलले आलोचना गर्ने परम्परालाई अन्यथा लिन नहुने बताए । उनले बजेटका विषयमा धेरै छलफल र जवाफ सकिएकाले संभव त बुधबार पास गर्नेगरी तयारी हुनसक्ने बताए ।

प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमिश्यव ढकालले बुधबार सदनमा दुई सत्र हुने र पहिलो सत्रमा मन्त्री तथा मुख्यमन्त्रीको जवाफ तथा दोस्रो सत्रमा बजेट पासका लागि सदनमा पेश हुने बताए । तर पहिले सदनमा रहेका विषयगत समितिका सदस्यहरुको नाम प्रस्तुत नभए बजेटको प्रकृया रोक्नसकिने उनले जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर