विप्लव नेकपा परित्याग गरेका ३ केन्द्रीय सदस्यसहितका नेता माओवादी प्रवेश गर्दै – Nepal Press

विप्लव नेकपा परित्याग गरेका ३ केन्द्रीय सदस्यसहितका नेता माओवादी प्रवेश गर्दै

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता बुधवार नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् ।

नेता पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारले गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

भोलि बिहान ९ बजे नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टिका लगाएर उनीहरू पार्टी प्रवेश गर्न लागेका हुन् ।

पार्टी परित्याग गर्ने क्रममा उनीहरूले जारी गरेको विज्ञप्तिमा बदलिँदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको विज्ञप्तिमा उल्लेख गरेका थिए ।

‘नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान् जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्दै व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महसुस गरी त्यसैको प्रयास स्वरूप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौँ ‘, उनीहरूले भनेका थिए ।

विप्लव नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पुन पूर्वपोलिट्ब्यूरो तथा सेती महाकाली ब्यूरो इन्चार्ज थिए भने पार्टीनिकट किसान र सुकुम्बासी संगठनको अध्यक्षसमेत रहेका थिए ।

पूर्वसभासद र सेती ब्यूरो इन्चार्ज भइसकेका खड्का केन्द्रीय सदस्य थिए भन् धामी केन्द्रीय सदस्य र परियार भने दार्चुला र कञ्चनपुर जिल्ला इन्चार्ज रहेका थिए ।

आफूले विप्लवको नेतृत्वमा क्रान्ति सम्भव नहुने देखेरै बाटो बदलेको पुनले बताए । उनले विप्लव आफू क्रान्ति गर्न पनि नसक्ने माओवादी शक्तिलाई एकीकृत र ध्रुवीकृत गर्न पहल नगरेकै कारण आफूहरूले विप्लवले नेतृत्व गरेको पार्टी परित्याग गरेको उनको भनाइ थियो ।

अब जनयुद्ध र जनाआन्दोनलको उपलब्धिको रक्षा गर्दै सरकार र सदनको मोर्चाबाटै जनताको परिवर्तनको चाहनालाई पूरा गर्न एक मात्र विकल्प आफूहरूले देखेको कारण विप्लवसँग अलग भएको उनले बताएका छन् ।


प्रतिक्रिया

One thought on “विप्लव नेकपा परित्याग गरेका ३ केन्द्रीय सदस्यसहितका नेता माओवादी प्रवेश गर्दै

  1. विप्लवकाे पार्टीकाे चन्दाकाे नाममा लुटेकाे पैसा हत्याएर अर्काे पार्टी प्रवेश ?याे काईदा नयाँ देखियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर