ओलीको दाबी- गठबन्धनले मुलुकलाई एसपीपीमा लैजाने खतरा कायमै छ, जनदबाबले पछि हटेका हुन् (भिडिओ) – Nepal Press

ओलीको दाबी- गठबन्धनले मुलुकलाई एसपीपीमा लैजाने खतरा कायमै छ, जनदबाबले पछि हटेका हुन् (भिडिओ)

टिपेक्स नलगाएको पत्र सार्वजनिक गर्न सरकारलाई चुनौती, अमेरिकी दूतावासको ध्यानाकर्षण

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा गरिएको पत्राचारका सन्दर्भमा सत्य तथ्य बाहिर ल्याउन र वास्तविक पत्र सार्वजनिक गर्न सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण गराएका छन् ।

ओलीले यसबारेमा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीबाट पनि यथार्थ जानकारी आउनुपर्ने बताएका छन् ।

मदन जयन्तीका अवसरमा मंगलवार काठमाडौंमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले एमसीसी जनतालाई धोखा दिएर एमसीसी पास गर्ने शेरबहादुर देउवा र प्रचण्डले नै एसपीजीमा नेपाललाई लैजान खोजेको तर जनताको खबरदारीबाट पछि हटेको आरोप लगाए ।

ओलीले सुशील कोइरालाको पालामा स्वीकृति दिइएको एसपीपीलाई प्रचण्डले अघि बढाएको भन्दै आफू प्रधानमन्त्री भएको बेला इण्डो प्यासिफिकको प्रतिवेदनमा नेपाल र भुटानको पनि नाम आएपछि आफूले कार्यदल बनाएर रोकेको प्रस्ट पारे ।

अध्यक्ष ओलीले एसपीजीमा मुलुकलाई लैजाने खतरा कायमै रहेको र एमसीसीमा जस्तै यो गठबन्धन अर्को जाल लिएर एसपीजीमा सामेल हुने सम्भावना रहेको बताए ।

ओलीले भने- एसपीपीका सन्दर्भमा असोज २ मा संविधान जारी भयो ६ गते प्रधानमन्त्री तथा रक्षामन्त्री सुशीला कोइराला भएका बेला सेनालाई स्वीकृति दिइयो । म प्रधानमन्त्री असोज २६ गते भएँ,मलाई थाहा नदिई कात्तिक १० मा सेनापतिको पत्र गयो भनिएको छ । तर त्यो पत्रको चलानी नम्बर टिपेक्स लगाएर हातले लेखिएको छ । पठाएको पत्रमा पनि हातले केरमेट गरेको छ । टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट हुन्छ । म सरकारलाई टिपेक्स नलगाएको ओरिजनल पत्र देखाउन चुनौती दिन्छु ।

एसपीजीमा केपी ओलीलाई मुछ्नका लागि टिपेक्स लगाएर,चलानी नम्बर फेरेर र मिति हेरफेर गरेको हातले लेखेको पत्र बाहिर ल्याइएको भन्दै उनले यसबारेमा अमेरिकी दूतावासले प्रस्ट पार्नुपर्ने बताए ।

ओलीले भने- म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनसक्छ ,चलानी नम्बर हातले केरमेट गरेको छ । त्यो म प्रम नहुँदै पत्र पठाइएको हो,अमेरिकन एम्बेसीले सत्य बोलोस् । तत्कालीन प्रधान सेनापतिले पनि मैले त्यति बेला निर्देशन दिएको हो कि होइन भन्न सक्नुहुन्छ ।

ओलीले जनदबाबका कारण पछि हटे पनि गठबन्धनले एसपीजीमा जाने खतरा कायमै रहेको दाबी गरे ।

उनले अहिले सार्वजनिक भएको मस्यौदा गठबन्धन सरकार बनेपछि तयार भएको भन्दै एमसीसीकै बेला देउवा र प्रचण्डले एसपीजीमा सहमति जनाएको दाबी समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर