मुम्बईकाे ताज होटल आक्रमणमा संलग्न एक जनालाई पाकिस्तानले १५ वर्षको जेल सजाय दिएको खुलासा – Nepal Press

मुम्बईकाे ताज होटल आक्रमणमा संलग्न एक जनालाई पाकिस्तानले १५ वर्षको जेल सजाय दिएको खुलासा

काठमाडौं । सन् २००८ मा भारतको मुम्बईस्थित ताज होटलमा भएको आक्रमणमा संलग्न एक जनालाई पाकिस्तानले गोप्य रुपमा १५ वर्षको जेल सजाय सुनाएको खुलासा भएको छ ।

पाकिस्तानले सन् २०२० मै ४३ वर्षीया साजिद माजिद मिरलाई पक्राउ गरेको थियो । अघिल्लो महिनामात्रै उनलाई जेल सजाय तोकिएको घटनालाई पाकिस्तानले गोप्य नै राख्ने प्रयास गरेको अन्तर्राष्ट्यि सञ्चारमाध्यम एसोसियट प्रेसले जनाएको छ ।

उनलाई मुम्बई आक्रमणमा संलग्न भएको नखुलाई आतंकवादी समूहलाई वित्तपोषण गरेको भनेरमात्र जेल सजाय तोकिएको बताइएको छ ।
सन् २००८ मा पाकिस्तानको कराँचीबाट समुद्री मार्ग प्रयोग गरी भारत पुगेका दश जनाको समूहले मुम्बईस्थित ताज होटलमा आक्रमण गरी ६ जना अमेरिकी नागरिकसहित १६६ जनाको हत्या गरेका थिए ।

आक्रमणमा संलग्न भएका १० जनामध्ये ९ जना भारतीय प्रहरीबाट घटनास्थलमै मारिएका थिए । बचेका एक जनालाई केही समयपछि भारतीय अदालतले फाँसीको सजाय सुनाएको थियो ।

अमेरिकी अनुसन्धान विभाग (एफबीआई) ले उक्त घटनामा वित्तपोषण गरेको ठहर गर्दै साजिद माजिद मिरको खोजी गरिरहेको भए तापनि पाकिस्तान सरकारले उनको गिरफ्तारीको बारेमा सूचना सार्वजनिक गरेको थिएन ।

हालैमात्र पाकिस्तानी पत्रिका ‘द डन’ले मिरलाई पञ्जाब प्रान्तको गुजरनवाला सहरबाट पक्राउ गरिएको खुलासा गरेको थियो । उक्त पत्रिकाले मिरको गिरफ्तारी र सजायलाई फाइनान्सियल एक्शन टास्क फोर्सको ‘ग्रे लिस्ट’ बाट बाहिर निक्लिन पाकिस्तानले गरेको प्रयासको रुपमा व्याख्या गरेको छ ।

फाइनान्सियल एक्शन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा त्यस्ता राष्ट्रहरु समावेश छन्, जुन देशमा सम्पत्ति शुद्धीकरण र आतंकवाद वित्तपोषणको उच्च जोखिम रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर