कास्की जिल्ला प्रहरीमा सन्चालनमा आयो लाइब्रेरी क्याफे – Nepal Press

कास्की जिल्ला प्रहरीमा सन्चालनमा आयो लाइब्रेरी क्याफे

काठमाडौं । कास्की प्रहरीले सोमबारदेखि जिल्ला प्रहरी कार्यालयको हाताभित्र लाइब्रेरी क्याफे सञ्चालनमा ल्याएको छ । यससँगै अब प्रहरी कार्यालय हाताभित्र कफी खाँदै पुस्तकहरु पढ्न पाइने भएको हो ।

कास्की प्रहरी प्रमुख रमेश थापाले भने, ‘यो समुदाय–प्रहरी साझेदारीअन्तर्गतको एउटा काम हो । सर्वसाधारण र प्रहरीबीच सम्बन्ध थप बलियो बनाउन यसले सहयोग गर्ने अपेक्षा लिएको छौं ।’

आफ्नो भर्ना ब्याचका पहिलो नम्बरका एसपी थापाले प्राज्ञिक जगतले प्रहरी कार्यालयभित्र बसेर कफी खाँदै अध्ययन गर्न सक्ने र प्रहरी स्वयंले पनि आफ्नो ज्ञानको दायरा बढाउन यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘अध्ययन गर्नुपर्छ भन्ने सोचले नै लाइब्रेरी क्याफेको तयारी अगाडि बढेको थियो’, आफू कास्की प्रहरी प्रमुख बनेपछि योजना कार्यान्वयन गरेका थापा भन्छन् ।

 

लाइब्रेरी क्याफेको उद्घाटनमा गण्डकी विश्वविद्यालयका डीन डा. कपिन अधिकारी, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख डा. सरोज कोइराला, नेपाली विभाग प्रमुख प्रा. डा. कुशुमाकर न्यौपाने, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त प्रमुख कृष्णहरि शर्मा, जिल्ला सुरक्षा समिति कास्कीका पदाधिकारी, मानव अधिकारकर्मीलगायतको उपस्थिति थियो ।

लाइब्रेरीमा ४ सय हाराहारीमा पुस्तकहरु रहेको छन् । पुस्तकालयका लागि स्वेच्छिक रुपमा पुस्तकहरु दिन सकिने एसपी थापाले जानकारी दिए ।

उनले लागुऔषध मुद्दामा पक्राउ परेका चर्चित र्‍यापर आशीष राना लाउरेलाई अहिले लागुऔषधविरुद्धको अभियानमा सामेल गराइरहेका छन् । थापाकै पालामा लाउरे पक्राउ परेका थिए ।

‘समुदायसँग मिलेर कसरी शान्ति सुरक्षा कायम गर्न सकिन्छ, अपराध नियन्त्रण गर्न सकिन्छ भन्ने सोचेरै यस्ता कार्यक्रमहरु ल्याइएका हुन्’, उनले भने ।

अपराध नियन्त्रणमा कास्की प्रहरीले त्यहाँका ट्याक्सीलगायतका यातायात र होटल व्यवसायीसँग गरिरहेको सहकार्य पनि उदाहरणीय मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर