चोभार सुख्खा बन्दरगाह लक्ष्यअनुसार नै सञ्चालन गर्न उद्योगमन्त्री बडूले दिए निर्देशन – Nepal Press

चोभार सुख्खा बन्दरगाह लक्ष्यअनुसार नै सञ्चालन गर्न उद्योगमन्त्री बडूले दिए निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहको अवलोकन गरेका छन् । मन्त्री बडूले बन्दरगाह लक्ष्यअनुसार सञ्चालन गर्न निर्देशन दिएका छन् ।

मन्त्री बडूले काठमाडौं सुख्खा बन्दरगाहमार्फत एकीकृत जाँच चौकी, गोदाम व्यवस्थापन, सुरक्षा व्यवस्थालगायतका सुविधाबाट व्यापारी, व्यवसायीहरुको समय र लागत कम हुन गई आयात निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले लक्ष्यअनुसार सञ्चालन गर्न सञ्चालक समितिलाई निर्देशन दिएका हुन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायतबारे मन्त्रीलाई जानकारी गराएका छन् ।

गत चैत २२ गतेदेखि सञ्चालनमा आएको बन्दरगाहमा वीरगञ्ज नाकाबाट उपत्यकालगायत जिल्लाहरुमा आउने सम्पूर्ण ट्रक एवं कन्टेनरहरु नाकामा नै ‘डिजिटल लक’ भई सोझै आउनुपर्नेमा त्यसरी आउने गरेका छैनन् । हालसम्म १२ वटा कन्टेनरमात्रै आएको अवस्थातर्फ मन्त्रीले विशेष चासो राखेका थिए ।

आविष्कार केन्द्रमा पहिलो पटक बहालवाला मन्त्री

बन्दरगाहबाट फर्किंदा मन्त्री बडूले आविष्कार केन्द्रको समेत अवलोकन गरेका थिए ।

आविष्कार केन्द्रले नेपालमै समाजको आवश्यकताअनुरुप विविध उत्पादन र सेवा क्षेत्रमा आविष्कारको माध्यमबाट उल्लेख्य कार्य गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको र यसलाई उद्यमशीलतासँग जोड्दै थप बजार विस्तार गर्न सरकारले पनि आवश्यक सहकार्य गर्ने मन्त्रीले प्रतिबद्धता जनाएका छन् ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पहिलोपटक बहालवाला मन्त्री आफै आविष्कार केन्द्रमा आएर हौसला प्रदान गरेकोमा धन्यवाद दिए । सरकारले विकास बजेटको कुल अंशमध्ये १ प्रतिशत रकम आविष्कारको क्षेत्रमा छुट्याएर काम गर्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि ठोस पहल गर्नसमेत मन्त्रीलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *