ज्ञानेन्द्रको सेटिङ र चलखेलले बिग मर्जरमा ब्रेक, विनोद चौधरीसमेत विवादमा – Nepal Press

ज्ञानेन्द्रको सेटिङ र चलखेलले बिग मर्जरमा ब्रेक, विनोद चौधरीसमेत विवादमा

काठमाडौं । नेपाल बंगलादेश बैंकका निवर्तमान सीईओ ज्ञानेन्द्र ढुंगानाको राजनीतिक चलखेलका कारण नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जरमा समस्या उत्पन्न भएको छ । ढुंगानाले नबिल बैंकका शेयर होल्डरसमेत रहेका कांग्रेस सांसद विनोद चौधरीदेखि कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना र वागमतीका कांग्रेस सभापति इन्द्र बानियाँसमेतलाई हातमा लिएर मर्जरमा हाबी हुन खोजेको आरोप छ ।

नबिल बैंकले बंगलादेश बैंक प्राप्त गरी साझा कारोबार सुरू गर्ने मुखैमा आएर दुवै बैंकको यो साझा चाहनाले मूर्त रूप नपाउने अवस्था सिर्जना भएको छ । बाहिरबाट हेर्दा प्रकृयागत अवरोधको रूपमा देखिए पनि यो अवस्था आउनुमा बंगलादेश बैंकका हाल निवर्तमान कार्यकारी प्रमुख ज्ञानेन्द्र ढुंगानाको हात रहेको उच्च अधिकारीहरूले बताएका छन् ।

ढुंगाना नबिल र बंगलादेश बैंक प्राप्ति/मर्जर समितिका सदस्य समेत हुन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने महत्वाकांक्षा राखेका ढुंगानाले मर्जरमा अनावश्यक चलखेल गरेको आरोप छ । उनी नेपाल बंगलादेश बैंकमा प्रमुख कार्यकारी रहेको बेला नै गभर्नर बन्न राजनीतिक लबिङमा थिए ।

ढुंगानामाथि नेपाली कांग्रेसका केही नेता कार्यकर्ताहरूलाई अनुचित बैंकिङ लाभ पुर्‍याई बिचौलियाहरूको समूह नै खडा गरेर विभिन्न कारोबार संचालन गरेको आरोप छ । ज्ञानेन्द्र ढुंगानालाई डमीका रूपमा सघाउने उक्त बिचौलिया समूहका मुख्य पात्र हुन् दिलिप ढुंगाना ।

दिलिप कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाका भाइ हुन् । दिलिप ढुंगानाको मेनचियम हाईड्रोपावर बंगलादेश बैंकको खराब ऋणी भए पनि ज्ञानेन्द्र ढुंगानाको निर्देशनमा सधैँ असंख्य क्यापिटलाईजेशन उपलब्ध गराँइँदै आएको बंगलादेश बैंकका सम्बन्धित कर्मचारीहरू बताउँछन् ।

यीनै दिलिप ढुंगानालाई राष्ट्र बैंकको सञ्चालक समिति सदस्य पदमा नियुक्त गरी बंगलादेश बैंकको मर्जरको प्रकृयालाई आफू अनुकूल सहज गर्ने योजना ज्ञानेन्द्र ढुंगाना र बिचौलिया समूहले गरेको थियो । तर, उनीहरूको त्यो प्रयास भने सफल भएन ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रयास असफल भएपछि उनको कार्यकाल सकिएपछि ज्ञानेन्द्र ढुंगाना गभर्नर बन्ने भन्दै हिँडेका छन् । यसै महत्वकांक्षामा जोडिएको काण्ड हो नबिल र बंगलादेश बैंकको मर्जर प्रकृया ।

के हो मर्जरको चलखेल ?

ज्ञानेन्द्र ढुंगाना चार्टड अकाउनटेन्ट एवं कानूनमा स्नातकसमेत हुन् । उनी बैंक अफ काठमाडौंमा कम्पनी सचिव थिए । त्यसपछि नेपाल राष्ट्र बैंकमा उपनिर्देशकको पदमा समेत कार्यरत थिए । ढुंगाना राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् । नेपाल बंगलादेश बैकका विदेशी साझेदार बंगलादेशको IFIC बैंकले आफ्नो लगानी फिर्ता लैजान आफूसंग रहेको नेपाल बंगलादेशको लगभग ४०% बढि कित्ता शेयर विक्रीमा राखेको थियो ।

IFIC लाई उक्त शेयर विक्रीका लागि तयार गर्ने व्यक्ति उनै ज्ञानेन्द्र ढुंगाना हुन् । प्रमोटर शेयर विक्रीको नियम अनुसार उक्त शेयरको बोलकबोलमा बंगलादेश बैंकका विद्यमान प्रमोटर शेयर धनीहरूमध्येबाट मात्रै खरिद प्रस्ताव गर्न सकिने थियो ।

IFIC बैंक बाहेक बंगलादेश बैंकमा लक्ष्मीबहादुर श्रेष्ठ समूह मात्रै प्रमोटर शेयर धनी थियो । तर, उक्त समूह बैंकिङ्ग कसूर एवं कालोसूचीमा परेको इतिहासको कारण उसले उक्त शेयर खरिद गर्न प्रस्ताव गर्न कानूनी रूपमा अड्चन थियो । त्यसैले उक्त समूहले घुमाउरो बाटोबाट सनराईज बैंकका प्रबर्द्धक मोतीलाल दुगडसँगको सहकार्यमा अलग समूह निर्माण गरि शेयर खरिद प्रस्तावको तयारी गरेको थियो ।

यही अड्चनको अवस्थालाई बुझेर ज्ञानेन्द्र ढुंगाना IFIC शेयर खरिदका लागि आफ्नो स्वार्थ सिद्ध हुने हिसाबले योजना निर्माणमा लागेका थिए । ढुंगाना आफू तेस्रोपटक पनि प्रमुख कार्यकारी बन्ने दाउमा थिए भने उनलाई आफ्नो बृहत्तर गभर्नर बन्ने सपनाका लागि पनि पावर र पैसा दुवैको साथ हुन सक्ने ठूलो श्रोतको खोजी गर्नु थियो ।

हुन त ढुंगाना आफैँले पनि अकुत आर्जन गरिसकेको बैंकिङ व्यवसायमा रहेकाहरू भन्दछन् । आफ्नो महत्वकांक्षालाई, भविष्यमा मूर्तरूप दिन सकिन्छ भन्ने विश्वासमा उनले छाने उद्योगपति सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य विनोद चौधरीलाई । विनोद चौधरीको सम्पत्ति मूल्यांकनमा नबिल बैंकमा रहेको उनी र उनको परिवारको शेयरको ठूलो हिस्सा छ ।

यी सबै कुराका जानकार ज्ञानेन्द्र ढुंगानाले कांग्रेस नेता इन्द्र बानियाँमार्फत विनोद चौधरीसँग सम्पर्क बढाए । विनोद चौधरीले व्यक्तिगत एवं प्रत्यक्ष IFIC को शेयर कारोबार नमिल्ने हुनाले ज्ञानेन्द्र ढुंगानाले नबिलले बंगलादेशलाई प्राप्ति गर्ने उपाय निकाले । यसरी सुरू भयो ज्ञानेन्द्र ढुंगानाको डिल मेकर अभियान ।

तर, यो डिल मेकिङ्ग विशुद्ध कर्पोरेट प्रायोजनका लागि मात्र भएको भए यसरी विवादित र अप्ठ्यारोमा पर्ने थिएन होला । तर, ढुंगानाले आफ्नो व्यक्तिगत लाभलाई पनि गाँसेर काम गरेकोले यो प्रकृयामा स्वतः त्यसको प्रभाव देखिएको छ ।

IFIC को शेयर बिक्री प्रकृयामा मोतीलाल दुगड समूहले आफ्नो सहभागिता जनाई IFIC सँग एमओयू समेत गर्न भ्याएको हो । तर, चतुर खेलाडी ज्ञानेन्द्रले नेपाल राष्ट्र बैंकमा त्यसको विरोधमा निवेदन दिई राष्ट्र बैंकका उपल्लो दर्जाका कर्मचारीहरूसंगको आफ्नो पुरानो चिनजान र सहकार्यको आधारमा त्यसलाई निस्तेज पार्न लगाए ।

त्यसकोविरुद्ध दुगड समूह अदालत गए पनि कानूनी उपचार प्राप्त गर्न सकेन । यहिँबाट सुरू भयो ज्ञानेन्द्र ढुंगानाको एकलौटी जथाभावी । यो मर्जरमा ढुंगानाले एकसूत्रीय अभियान बनाए विनोद चौधरीलाई बढि फाइदा पुर्‍याई रिझाउने । यसो गर्न सके उनी विनोद चौधरीको भित्रिया बन्ने र आफ्नो महत्वाकांक्षा पूरा गर्न विनोद चौधरीको साथ सहयोग उपयोग गर्न सकिने ढुंगानाल सोचे ।

त्यसको लागि ढुंगानाले IFIC लाई बैकिङ क्षेत्रमा रहेका अनेकन व्यवसायिक चुनौतीहरू देखाई अनेकन निकै सस्तो दरमा शेयर बिक्री गर्न तयार गराए । हाल मर्जर प्रकृया चलिरहेको अवस्थामा समेत नबिल बैंकले एनसीसी बैंकलाई १०० को ५० का दरले प्राप्त गर्ने प्रस्ताव गरेको बताइएको छ । जबकी बंगलादेश बैंकलाई भने नबिलले मात्र ४३ मा प्राप्त गर्ने सम्झौता गरेको छ ।

डमीको खेल

एनसीसी बैंक कुनै पनि हिसाबले बंगलादेश बैंकभन्दा बढि सबल बैंक होइन । यसरी अति सस्तोमा डिल गराउन IFIC लाई बाध्य पार्न ज्ञानेन्द्र ढुंगानाले नेपाल बंगलादेश बैंकको बोर्डमा नेपाली सदस्यहरूको संरचनामा खेले । व्यापारी श्रवण गोयललाई अप्रत्यक्ष रूपमा ठूलो शेयर खरिद गर्न लगाए । पब्लिक डाईरेक्टरमा पहिलेदेखि रहेका दीपक कार्कीलाई हराएर श्रवण गोयलको डमी योगिता दाहाललाई बोर्डमा ल्याए । दीपक थापा तिनै पब्लिक डाईरेक्टर हुन् जसले बोर्डमा ज्ञानेन्द्र ढुंगानाको विरोध गर्थे ।

श्रवण गोयल अर्कातर्फ नेपाल बंगलादेश बैंकका ठूला ऋणीमध्येका एक हुन् । यसरी कागजमा कानूनीरूपमा कुराहरू मिलाएर सैद्धान्तिक रूपमा ज्ञानेन्द्र ढुंगानाले आफ्नो अभिष्ट पुरा गर्न सम्पूर्ण सेटिङ मिलाउँदै आए । यही क्रममा श्रवण गोयलले एकातर्फ ढुंगानालाई बोर्डमा उनी अनुकूल अवस्था निर्माण गर्न सघाए भने ढुंगानाले पनि क्रेडिट विभाग प्रमुख रघुकृष्ण श्रेष्ठलाई निरन्तरता दिने डिल गरे । रघुकृष्ण श्रेष्ठ डिजिएम पदमा कार्यरत क्रेडिट विभागका प्रमुख हुन् ।

श्रेष्ठ आफ्नो सेवा अवधि सकेर पनि करारमा कार्यरत थिए । श्रेष्ठ र गोयलको निकै घनिष्ठ सम्बन्ध रहेको बैंकसम्बद्ध स्रोत बताउँछ । ज्ञानेन्द्र ढुंगानासँग बैंकमा तमाम विकल्प हुँदा पनि उनी रघुलाई नै करारमै भए पनि निरन्तरता दिई रहन चाहन्थे । एकातिर श्रवण गोयलको साथ थियो भने त्यो भन्दा पनि ठूलो कारण आफ्नो कार्यकालमा भए गरेका हर-हिसाबलाई ढाकछोप गर्न उनलाई रघुको साथ आवश्यक थियो ।

त्यसैले जब अरु कर्मचारीलाई पद घटुवा गरी नबिल लैजाने तयारी थाल्दा रघुलाई भने नबिलमा समेत करारमै लैजाने व्यवस्था ढुंगानाले मिलाएको नबिल बैंकसम्बद्ध स्रोतले जनाएको छ । रघुलाई नबिलमा समेत क्रेडिटकै जिम्मेवारी दिने व्यवस्था ढुंगानाले मिलाएका थिए । तर, ढुंगानाको योजना अन्तिममा आएर सफल भएन ।

IFIC ले मर्ज प्रकृया संचालनमा रहेको र आफूहरू निस्कने क्रममा कुनै पनि थप करार वा प्रशासनिक काम सदर नगर्ने भनेर रघुको करार नविकरण गर्न अस्विकार गरिदियो । रघु दुई साताअघि बंगलादेश बैंकबाट बहिर्गमन भइसकेका छन् ।

स्रोत भन्छ- मर्जर प्रक्रिया रोकेर नेपाल बंगलादेश बैंकको ऋृणका फाइलहरू यदि राष्ट्र बैंकले केलाउने हो भने ज्ञानेन्द्र ढुंगानालाई निकै अप्ठ्यारो पर्न सक्छ । त्यसैले ढुंगाना ती सम्पूर्ण कारोबारलाई नियन्त्रित गर्दै ‘Window Dressing’ गरेर नबिलको ठूलो हिसाबमा मिलाउन आतुर छन् । यही कारण उनी नबिल बैंकलाई संस्थागत फाइदाभन्दा पनि विनोद चौधरीलाई बढी भन्दा बढी व्यक्तिगत फाइदा पुर्‍याउन चाहन्छन् । तसर्थ सस्तो शेयर मात्र नभई संचालन खर्चसमेत कम गरिदिन्छु भनी चौधरीलाई वचन दिएका छन् ।

कर्मचारीको बली ?

ज्ञानेन्द्रले मर्जरमा जाने बंगलादेश बैंकका कर्मचारीहरूको व्यवसायिक बलि चढाउने जुक्ति निकालेको आरोप छ । यस योजना अनुसार ज्ञानेन्द्रले बंगलादेशका सम्पूर्ण कर्मचारीको दुई पद घटुवा हुने गरि प्रस्ताव तयार गरेका थिए । नबिल बैंकसम्बद्ध स्रोतका अनुसार नेबिल बैंकले कहिले पनि संस्थागत हिसाबले घटुवा गरी कर्मचारी समायोजनको माग यो प्राप्ति प्रकृयामा गरेकै छैन । यो सब ज्ञानेन्द्र ढुंगानाको बखेडा हो ।

ज्ञानेन्द्र ढुंगानाले बंगलादेशका कर्मचारीहरूसँग राय सल्लाह नलिई प्राप्ति अनि मर्जरको कुराको सुइँको समेत दिएनन् । उनले आफूलाई भने बंगलादेश बैंक गाभिएपछि बन्ने नबिलको प्रमुख कार्यकारीको रुपमा उभ्याउन सफल भए । जानकारहरूका अनुसार विनोद चौधरीको एकल निर्णयमा नबिलको बोर्ड यो निर्णय स्वीकार्न बाध्य भयो ।

स्रोत भन्छ, ‘नेपालका कुनै पनि बैंक वास्तवमा पब्लिक लिमिटेड अनुसार चलेका छैनन् । सबै ठूला साहु महाजनको निजी प्राईभेट लिमिटेड कम्पनी जस्ता छन् । राष्ट्र बैंकको नियमन यहाँनिर नराम्ररी फेल भएको छ । अन्यथा ज्ञानेन्द्र ढुंगाना कदापी नबिलजस्तो ठूलो बैंकको प्रमुख कार्यकारीका लागि प्रथम रोजाई हुन सक्दैनन् । विनोद चौधरीलाई मात्र पूर्णआर्थिक लाभ हुने प्रस्ताव गरी ज्ञानेन्द्रले आफूखुसी प्राप्ति/मर्जरको प्रकृयालाई नियन्त्रण एवं सञ्चालन गर्न लागे ।’

सञ्चालकहरूका अनसार सतहमा नबिल बैंक संस्थागत रूपमा सक्रिय भए पनि मर्जर प्रकृयाको सम्पूर्ण काम ज्ञानेन्द्रले गरिरहेका छन् । एकातिर राष्ट्र बैंकका निर्देशकसम्मका कर्मचारीलाई हातमा लिई आफूले चौधरीलाई वाचा गरे अनुरूप मर्जरको प्रकृयासम्बन्धी अनुमति लिने चाँजोपाँजो मिलाउन लागे ।

अर्कोतिर बंगलादेश बैंकका सम्पूर्ण कर्मचारीहरूलाई हटाइदिने, घटुवा गरिदिने, स्वेच्छिक अवकाश (भीआरएस) लिन बाध्य पार्ने अनि धाकधम्की दिने गर्न थाले । बंगलादेश बैंकबाट प्रमुख कार्यकारीको पदीय जिम्मेवारी सकिए पनि ज्ञानेन्द्र ढुंगाना दिनहुँ नियमित बैंकको आफ्नो पूर्ववत कोठामा बसेर चलखेल गरिरहेको कर्मचारीहरू बताउँछन् ।

त्यही कोठामा इन्द्र बानियाा, दिलिप ढुंगानालगायतसँग नियमित छलफल चलाइरहेका छन् । मर्जर कमिटीका सदस्यका हैसियतले ज्ञानेन्द्र ढुंगानाले डिफ्याक्टो सीईओ भई बंगलादेश बैंकको सम्पूर्ण कृयाकलापलाई नियन्त्रणमा लिएको सञ्चालकहरू बताउँछन् ।

एउटा कुलिङ पिरियडमा रहेको सीईओले आफूले छोडिसकेको बैंकमा अझै खुल्लमखुल्ला आफ्नो उपस्थिति जनाउनु र बैठकमा बसेर भत्तासमेत लिनु नियमविपरीत हो । उनको यही गैरव्यवसायिक व्यवहार सहन नसकेर बंगलादेश बैंकका कर्मचारीहरू पद समायोजनमा विरोध गर्न राष्ट्र बैंक पुगेका छन् । अन्यथा प्रायः जसो बंगलादेशका कर्मचारीहरूले एक पद घटेर समायोजित हुन तयार मनस्थिति बनाइसकेको एक कर्मचारीले बताए ।

ज्ञानेन्द्र ढुंगानाको हेपाहा व्यवहार र केही खास खास कर्मचारीलाई निशाना बनाई उनीहरूको करिअर नै खत्तम पार्न अग्रसर भएपछि बंगलादेशका सम्पूर्ण कर्मचारी आन्दोलित भएका छन् ।

एक कर्मचारी भन्छन् , ‘हामी त्यही बैंकमा सँगै दिनरात काम गर्ने समान पदमा जान अयोग्य तर हाम्रै सीईओ चाहिं त्यही पदमा जान योग्य ? यो कहाँको न्याय हो । के बंगलादेश बैंकको नाफा नोक्सान ज्ञानेन्द्र ढुंगानाले गर्दा मात्रै हो ?’

नबिल बैंकका एक उच्च अधिकाारीले पनि बंगलादेश बैंकमा भइरहेका क्रियाकलापलाई आफूहरूले नजिकबाट नियालिरहेको बताए ।

नबिलको नयाँ कदम

राष्ट्र बैंकले ज्ञानेन्द्र ढुंगानाको योजना मुताविक अन्तिम स्वीकृति दिन ढिलाई गरेपछि नबिलले आफ्नो नायब कार्यकारी प्रमुख सुजित शाक्यलाई कामु कार्यकारी प्रमुख तोकेको छ । ज्ञानेन्द्रले व्यवसायिक बैंकरभन्दा पनि बिचौलियाको भूमिका खेलेपछि यो कदम चालिएको स्रोतले जनाएको छ ।

जबकि नबिलको साधारणसभाले प्राप्ति/मर्जरसँगै ज्ञानेन्द्र ढुंगानालाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने सैद्धान्तिक सहमति दिइसकेको थियो । बंगलादेश बैंकमा भने आफ्नो कार्यकाल सकएपछि ज्ञानेन्द्रले हालका नायब कार्यकारी प्रमुख भूषण श्रेष्ठको कामु कार्यकारी प्रमुखको सम्भावित नियुक्ति रोक्न लगाइ आफू अनुकूल हुने र नबिल बैंकमा नायब कार्यकारी प्रमुख बनाउने लोभ देखाई भुपेन्द्र पाण्डेलाई कामु कार्यकारी प्रमुखमा नियुक्त गर्न सफल भए ।

त्यसैले गर्दा हाल ज्ञानेन्द्र निर्वाधरूपमा बंगलादेश बैंकको डिफ्याक्टो कार्यकारी प्रमुखसरह देखिएका छन् । यिनै भूपेन्द्र पाण्डेलाई नबिल बैंकले समान हैसियतमा समायोजन गर्न स्वीकार गरेको छ भने भूषण श्रेष्ठलाई सके निकाल्ने अन्यथा पद घटुवा गरी समायोजन गर्ने सहमति छ ।

बंगलादेश बैंकमा सेटिङको आधारमा घुसी ४ महिनामै नायब कार्यकारीको हैसियतमा कोही सजिलै जाने तर सोही बैंकमा वर्षौंसम्म काम गरेका कर्मचारी चाहिँ घटुवा भई अपमानित हुनुपर्ने विवाद राष्ट्र बैंकसम्म पुगेको छ । यही प्रश्नमा आएर दुवै बैंकको मर्जर स्वीकृती राष्ट्र बैंकले रोकेको छ ।

तर, राष्ट्र बैंकलाई समेत ज्ञानेन्द्र ढुंगानाका चलखेलको जानकारी नभएको वा सेटिङ चलेको आरोप कर्मचारीको छ । यो प्रकरणमा खर्बपति उद्योगपति विनोद चौधरीसमेत विवादमा परेका छन् ।

यो प्रकरणको थप अर्को खतरनाक चलखेलको पाटोसमेत बाहिर आउँन लागेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *