ढल निकास नहुँदा बुटवल जलमग्न – Nepal Press

ढल निकास नहुँदा बुटवल जलमग्न

रुपन्देही । ढल निकास व्यवस्थित नहुँदा एकछिनकै वर्षाले मंगलबार बुटवलका मुख्य बजार डुबानमा परेका छन् । मंगलबार बिहानैदेखिको आएको अविरल वर्षाले बुटवल जलमग्न भएको हो ।

मुख्य बजार क्षेत्रमै ढलको उचित निकास नहुँदा निर्माणाधीन सडकबाटै भेल बगेको छ । राजमार्ग चौराहा–गोलपार्क ६ लेन सडक विस्तारको काम समयमै नहुँदा यो समस्या आएको हो । निर्माण कम्पनीले सडक सम्याउने र कालोपत्रे गरे पनि नाली व्यवस्थापन नहुँदा सडकमै वर्षाको पानी बगेको हो ।

राजनीतिक चलखेलका कारण मुख्य राजमार्ग निर्माण वर्षौंदेखि अलपत्र छ । राजमार्गसँगै नाली निर्माण रोकिँदा सामान्य वर्षा हुँदासमेत जलमग्न हुने अवस्था आएको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारण आक्रोशित छन् ।

राजमार्ग छेउका व्यवसायीले दलका नेताहरुको साथ लिएर अदालतको बलमा सडक निर्माण रोकेका थिए । गतवर्ष अदालतले मुद्दा किनारा लगाए पनि ठेकेदारले काममा ढिलाइ गरेको छ । सडक निर्माणमा समन्वय नगरेको भन्दै यसअघि बुटवलका तत्कालीन मेयर शिवराज सुवेदीले चर्को आलोचना गरिएको थियो । सुवेदीले आफ्नो अधिकार क्षेत्र बाहिरको आयोजनामा हस्तक्षेप गर्न नमिल्ने भन्दै समन्वय गरिरहेको बताएका थिए । उनले ठेकेदार सम्पर्कविहीन रहेकाले सडक निर्माणमा ढिलो भएको जवाफ दिँदै आएका थिए ।

बुटवलका नवनिर्वाचित मेयर खेलराज पाण्डेले सडकमै पुगेर अध्ययन अवलोकन गरेका छन् । तर, स्थानीय ठेक्काको म्याद थप गर्न काममा ढिलाइ गरिरहेको आरोप लगाएका छन् । अन्धाधुन्ध सडक निर्माणले स्थानीयलाई झन् सास्ती भएको छ । नाली व्यवस्थापन नगरी सडक कालोपत्रे गर्ने तयारीमात्रै गरिएको छ ।

बुटवलका मुख्य बजार क्षेत्रहरु गोलपार्क, लक्ष्मीनगर, ट्राफिकचोक, अस्पताल लाइन हुँदै नयाँ बसपार्कसम्म सडक हिलाम्य छ । कहिले स्थानीयको विरोध र मुद्दा मामिला त कहिले ठेकेदार सम्पर्कमा नआउनेजस्ता कारणले सडक निर्माणमा प्रगति हुन सकेको छैन ।

नगर प्रमुख पाण्डेले प्रतिबद्धताअनुरुप काम नभएको र बारम्बार मोबाइल स्वीचअफ गर्ने गरेकाले ठेकेदारसँग नियमित सम्पर्कसमेत हुन नसकेको बताए ।

२०७३ चैत १७ गते ठेक्का सम्झौता भई ०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले उक्त समय अदालती उल्झनमै बितेको थियो । म्याद थपेर २०७९ असार ३० गते पुर्‍याइएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कञ्चनजंगा विरुवा जेभीको सुस्त कामले यस समयावधिभित्र काम नसकिने निश्चित जस्तै देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर