जसपा विवाद-मन्त्री हेरफेर र बाबुराम, महिन्द्रलाई कारवाही गर्ने अधिकार उपेन्द्रलाई – Nepal Press

जसपा विवाद-मन्त्री हेरफेर र बाबुराम, महिन्द्रलाई कारवाही गर्ने अधिकार उपेन्द्रलाई

काठमाडौं । सत्ता गठबन्धनको तेस्रो ठूलो घटक जनता समाजवादी पार्टीको विवाद विभाजन उन्मुख भएको छ । ९ महिनाअघि विभाजित भएको जसपा पुनः विभाजनको डिलमा पुगेको नेताहरुले बताएका छन् ।

जसपाको उपेन्द्र यादव पक्षले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्री चयन गर्ने अधिकार उपेन्द्र यादवलाई दिएसँगै जसपाभित्रको विवाद क्लाइमेक्समा पुगेको हो ।

सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंहलाई उदृत गर्दै न्युज कारखानाले जनाएको छ ।

जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री छन् । अब उनीहरूलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिस गरिने छ । जसपामा महत्वपूर्ण निर्णय लिँदा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अशोक राईलाई अधिकार दिइएको थियो । तर, सोमबार राति यादव पक्षका नेताहरूको बैठक बसी सबै अधिकार अध्यक्षलाई दिने निर्णय भएको हो ।

एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै जसपामा पनि मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठ्दै आएको थियो । मोहम्मद इस्तियाक राईलगायतका नेताहरूको छुट्टै भेलाले मन्त्री हेरफेर गर्न नेतृत्वलाई दबाब दिँदै आएको थियो । सोहीअनुसार अहिले यादवले यस्तो निर्णय गरेका हुन् ।

जसपामा डा।बाबुराम भट्टराई र मन्त्री महिन्द्रराय यादवलाई कारवाही गर्ने अधिकार समेत उपेन्द्र यादवलाई दिइएको छ । भट्टराई र यादवले पार्टी फुटाउन सांसद तथा कार्यकारिणी सदस्यहरुको हस्ताक्षर संकलन गरेको र निर्वाचन आयोगमा परामर्श समेत गरेको आरोप यादव पक्षले लगाएको छ ।

जसपाको कार्यकारिणी समिति र संसदीय दल दुवैतिर आफ्नो पक्षको बहुमत रहेको बाबुराम पक्षको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर