दर्किएको पानीसँगै चर्किन थाल्यो मुटु… – Nepal Press

दर्किएको पानीसँगै चर्किन थाल्यो मुटु…

काठमाडौं । कृषिप्रधान देश नेपालमा ठूलो महत्व छ वर्षातको । यदि समयमा पर्याप्त वर्षात भएन भने यहाँ खेतहरु बाँझो रहन्छन् । कृषिमा निर्भर परिवारलाई चुल्हो बाल्न समस्या पर्छ ।

तर वर्षातको असर सँधै सकारात्मक मात्रै हुँदैन । कहिलेकाहीँ यसले वितण्डा पनि मच्चाइदिन्छ । वर्षातका कारण आएको बाढीले हरेक वर्ष देशभित्र मच्चाउने उपद्रप हामीले देख्दै/सुन्दै आएका छौं ।

वर्षातको प्रभावकै कुरा गर्दा खेल क्षेत्र पनि यसबाट अछुतो छैन । वर्षातले सबैभन्दा बढी प्रभाव पार्ने खेल हो क्रिकेट । फुटबलजस्तो पानी पर्दापर्दै क्रिकेट खेलाउन सम्भव हुँदैन । त्यसैले वर्षातका कारण कहिले ओभर छोट्याउनुपर्ने हुन्छ त कहिले खेल नै रद्द भइदिन्छ । यस्तोमा कुनै टिमलाई चिठ्ठा पर्छ भने कुनै टिमलाई बज्रपात ।

नेपाली महिला क्रिकेट टिमलाई हालै वर्षातका कारण यस्तै बज्रपात पर्यो । गत साता भएको युएइविरुद्धको खेल पहिलो इनिङपछि रद्द हुँदा नेपाल फाइनलमा पुग्नबाट मात्र वञ्चित भएन, एसिया कप खेल्ने अवसर पनि गुमायो । यसबाट खेलाडीहरु मर्माहत बनेका छन् । यतिका दिनसम्म पनि उनीहरुले यो पीडा भुल्न सकेका छैनन् ।

पहिले बलिङ गरेको नेपालले बलियो यूएइलाई ८१ रनको न्यून स्कोरमा समेट्न सफल भएको थियो दोस्रो इनिङमा सम्हालिएर ब्याटिङ गर्दा नेपालले सहजै फाइनलको ढोका खोल्न सक्थ्यो । तर, नेपालको यात्रामा वर्षा बाधक बनिदियो । यूएइको इनिङ सकिएसँगै पानी दर्किन थाल्यो । लामो समयसम्म वर्षात् नरोकिएपछि खेल रद्दको घोषणा गरियो । त्यसपछि सुरु भयो खेलाडीहरुको आँखाबाट आँशुको वर्षात ।

आफ्नो नियमित खेल जिवनको उत्तराद्र्धमा रहेकी कप्तान रुविना क्षेत्रीको आँखामा सबैभन्दा बढी पिडा झल्किन्थ्यो । उनी सँधै भनिरहन्थिन्– नेपाली महिला क्रिकेट टीमको नेतृत्व गरेर एकपटक विश्वकप खेल्ने सपना छ ।

 तर, विस्तारै उनका सपनाहरुमा ग्रहण लाग्दैछन् । एसिया कप छनोट हुन नसक्नु उनको नेतृत्वका निम्ति अर्को दुर्भाग्य भयो । खराब प्रदर्शन गरेर होइन, प्रकृति नै वाधक बनिदियो ।

मलेसियाबाट नेपाल फर्किएपछिको कुराकानीमा रुबिना भन्छिन्, ‘एकदमै दुख लागेको छ । हामी लक्ष्यको नजिक थियौं । जितको बाटोमा थियौं । तर मौसमले साथ दिएन । अब दोष कसलाई दिने ?’

यसअघि २०२१ नोभेम्बरमा विश्वकप एसिया रिजन छनोटमा नेपाल यूएईसँग १९.४ ओभरमा ८९ रन बनाएर अलआउट भएको थियो । त्यस बेलादेखि अहिलेसम्म यूएईको स्तर धेरै वृद्धि भएको छ । तर, नेपाली टीमले यसपटक एसीसी टी–२० च्याम्पियनसीपमा पहिला बलिङ गर्दै यूएईलाई सस्तो योगफलमा समेटेको थियो ।

नेपालसामु यूएईलाई पन्छाएर एउटा अन्तर्राष्ट्रिय उपाधि जित्ने ठूलो अवसर थियो तर त्यो हासिल गर्न नसक्नु नेपाली टीमको दुभाग्य भएको कप्तान रुविना बताउँछिन् ।

‘भनिन्छ नि जवसम्म लेखेको हुँदैन तबसम्म जति गरे पनि पाईदैन, मलाई त्यस्तै लाग्छ । हामीले राम्रो पनि खेलेको हो । यूएई जस्तो टीमसँग हामीले विश्वकप छनोटमा कस्तो खेलेका यियौं र अहिले एसिया कप छनोटमा कस्तो खेल्यौं भन्ने कुराहरुले धेरै नै फरक पार्छ,’ उनले भनिन् ।

यूएई जस्तो टीमलाई अलआउट ८१ रनमा रोक्नु भनेको धेरै राम्रो कुरा भएको उनको मूल्याकन छ ।

रुविना भन्छिन्, ‘यो दुर्भाग्यलाई एकातर्फ राखेर हेर्ने हो भने टीमले ‘फाइटिङ स्पिरिट’ देखाएर धेरै राम्रो खेलेको थियो । अब अन्तर्राष्ट्रिय उपाधि कहिले जित्छौं भनेर म शब्दहरुमा भन्न त सक्दिन । मलाई आशा छ अब अर्को प्रतियोगितामा फेरि पानी परेन भने जित्छौं,’ रूविनाले दुख मिश्रित हाँसोसहित भनिन् ।

नेपालले समूह चरणमा लगातार तीन खेल जितेर सेमिफाइनलमा स्थान बनाएको थियो । तर, अपराजित यात्रालाई कायम राख्न नसक्दा नेपाली टीम हङकङसँग समूह चरणको अन्तिम खेलमा पराजित भयो । यो पराजय नेपाली टीमका लागि साह्रै महंगो सावित भयो ।

‘हङकङसँगको खेल जितेको भए रनरेटका आधारमा खेलमा अर्कै नतिजा आउँथ्यो होला । त्यो खेलमा हारिसकेपछि अर्को खेलमा जस्तो गर्ने भनेर निर्णय गरेका थियौँ त्यो पुरा हुँदै थियो । तर पानीले गर्दा सबै बिग्रियो,’ उनले थपिन् ।

रुविनाले नेपाल प्रतियोगिताबाट बाहिरिएको क्षणलाई यसरी सम्झिइन् ।

‘हामी यूएईलाई अलआउट गराएपछि ड्रेसिङ रुममा गएर ब्याटिङका लागि रणनिती बनाउन थाल्यौं । पानी परेको पनि थाहा भएन । मौसम हर्दा पाँच ओभर जति खेल भयो भने डीएलमा २० रनको कुरा हो भन्ने थियो । तर जब बाहिर निस्कियौं पनि परिरहेको थियो । पानी रोकिनुको साटो झन् झन् दर्किन थाल्यो । जति समय बित्छ, त्यत्ति नै ओभरहरु घट््दै गयो । खेल हुने सम्भावना कम भयो ।

जति पानि दर्केर पर्न थाल्यो त्यत्ति नै हाम्रो मनमा निरासा छाउँदै गयो…… जितेको म्याच नखेली आउनुपर्दा धेरै नराम्रो लाग्यो ।’

अस्मिना नेपाली क्रिकेटले पाएको युवा प्रतिभा

अरु कुरामा निराश देखिएकी रुविना अस्मिानको प्रदर्शनका बारेमा कुरा गर्दा भने खुसी देखिइन् । अस्मिना नेपाली टीमले उत्पादन गरेको उत्कृष्ट फास्ट बलर भएको उनी बताउँछिन् ।

उनी अस्मिना
को बारेमा यसो भन्छिन्ः

‘नकारात्मक कुरा धेरै छन् तर, अस्मिना एउटा फास्ट बलर गु्रम गर्न सक्यौं जो नेपाली क्रिकेटका लागि लामो समयसम्म खेलिरहने छिन् । यो हाम्रो उपलब्धी हो । अस्मिनाले एकदमै उत्कृष्ट प्रदर्शन गरिन् ।

हाम्रो पहिलो ओभर राम्रो भएको थिएन । जब अस्मिनाले विकेट लिएर त्यो मोमेन्टम दिइन्, हामीलाई निकै राहत मिलेको थियो । उसले अन्तर्राष्ट्रियस्तरमा डेब्यु खेलमै गरेको राम्रो प्रदर्शनले आगामी खेलका लागि हामीमा आत्माविश्वास जागेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *